२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट जोगिन उपयोगी योग अभ्यास

कमलेश बरवाल

महर्षि पतञ्जलिका अनुसार, ‘हेयम दुःखम् अनागतम्’, अर्थात् योगको उद्देश्य दुःख आउनुपहिले नै त्यसलाई निवारण गर्नु हो ।  

सामान्यतः हामी कुनै व्यक्तिलाई तबसम्म बिरामी मान्दैनौँ, जबसम्म शरीरमा रोगका लक्षण देखापर्दैनन्, जबकि योगमा यो विश्वास गरिन्छ– रोग हाम्रो अन्नमय कोषमा धेरै पहिले नै आउँछ । त्यसपछि यसले मनको अवस्था अर्थात् मनोमय कोषलाई प्रभावित गर्छ । अन्तमा रोगका लक्षण शरीर अर्थात् अन्नमय कोषमा देखापर्न थाल्छन् । वास्तवमा रोगको पहिलो लक्षण हो– आनन्द, उत्साह, सकारात्मक ऊर्जा र आराम गर्ने हाम्रो क्षमतामा कमी आउनू । 

कमलेश बरवाल

यस्तो समयमा हामीले हाम्रो शरीरमा प्राण अर्थात् जीवन ऊर्जा बढाउन र आसन, प्राणायाम र ध्यानका माध्यमबाट शरीरलाई विश्राम दिनुपर्छ ।  

योगलाई स्वाभाविक रूपले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउन सबैभन्दा प्रभावकारी उपाय मानिन्छ । ‘बिहेभियोरल मेडिसिन’ पत्रिकामा केही समयअघि प्रकाशित अनुसन्धान अनुसार, योगले हाम्रो प्रतिरोधक क्षमता बढाउन र शरीरमा हुने जलन कम गर्न सहयोग पुर्याउन सक्छ ।

योगको निरन्तर अभ्यासबाट तनाव उत्पन्न गर्ने हर्मोन प्रभावकारी रूपमा कम हुन्छ । यसले स्नायु प्रणाली र यो लिम्फेटिक सिस्टम (रोग प्रतिरोध प्रणालीको एक भाग) लाई सुदृढ बनाउँछ । यसले शरीरबाट विषाक्त तत्व पनि हटाउँछ । दैनिक रूपमा गरिने योगका अभ्यासमध्ये केहीले चिन्ता कम गर्नुको साथै मनलाई शान्त बनाउँछन्, जसकारण निद्राको गुणस्तरमा सुधार आउँछ । राम्रो निद्रा आफैँमा रोग निवारक हो र यसले स्वस्थ प्रतिरक्षा प्रणाली कायम राख्न पनि ठूलो योगदान गर्छ ।

सामान्यतः हामी कुनै व्यक्तिलाई तबसम्म बिरामी मान्दैनौँ, जबसम्म शरीरमा रोगका लक्षण देखापर्दैनन्, जबकि योगमा यो विश्वास गरिन्छ– रोग हाम्रो अन्नमय कोषमा धेरै पहिले नै आउँछ । त्यसपछि यसले मनको अवस्था अर्थात् मनोमय कोषलाई प्रभावित गर्छ । अन्तमा रोगका लक्षण शरीर अर्थात् अन्नमय कोषमा देखापर्न थाल्छन् । वास्तवमा रोगको पहिलो लक्षण हो– आनन्द, उत्साह, सकारात्मक ऊर्जा र आराम गर्ने हाम्रो क्षमतामा कमी आउनू । 

कोभिड–१९ को संक्रमणबाट बच्नका लागि यहाँ केही योगाभ्यासका तरिका प्रस्तुत गरिएको छ, जसले हाम्रो प्रतिरोध क्षमता बढाउँछन् । श्री श्री योगविधिमा आसन, प्राणायाम र ध्यानका तरिका समावेश छन्, यसमा दिइएका आसनलाई यी तीन प्रकारमा विभाजन गर्न सकिन्छ – अगाडि पछाडि झुक्ने, अंगलाई मोड्ने र  छातीलाई फैलाउने ।  

कुनै पनि अगाडि–पछाडि झुक्ने आसनले रगत प्रवाहलाई र लिम्फेटिक सिस्टममा सुधार गर्छ । यसकारण शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छन्, जसले गर्दा प्रतिरक्षा प्रणाली सुदृढ हुन्छ । लिम्फेटिक सिस्टमको पहिलो कार्य प्रतिरक्षा सम्बन्धी रसायनलाई सम्पूर्ण शरीरमा प्रवाह गर्नु हो । यो एक प्रकारको तरल पदार्थ हो, जसमा संक्रमणसँग लड्ने सेतो रक्तकोष हुन्छन् ।  

यी आसनले विशेषगरी हाम्रो स्नायु र फोक्सोमा कफ जम्मा हुन दिँदैन, मस्तिष्कमा रगत प्रवाहमा सुधार ल्याई आराम र शान्तिको अनुभूति हुन्छ । हुन त यस्ता आसनबाट रक्तचाप बढी भएका व्यक्तिले सतर्कता अपनाउनुपर्छ र उनीहरूले विशेषज्ञको निरीक्षणमा मात्र यस्ता अभ्यास गर्नुपर्छ । उभिएर अगाडि झुक्ने हस्त पादासन वा अर्ध उत्थानासन, कुकुरले जस्तै अगाडि झुक्ने अधोमुख स्वानासन, काँधको भरमा गोडा उठाउने सर्वांग आसन वा गोडाहरुलाई उठाउने विपरीत करणी आसन जस्ता आसनको अभ्यासबाट सम्पूर्ण शरीरमा रक्तप्रवाह सुधार हुन्छ ।  

पाचन प्रणालीले हाम्रो प्रतिरोध क्षमता बढाउनमा महत्वपूर्ण भूमिका खेल्छ । आयुर्वेदका अनुसार पाचन प्रणालीमा खराबी वा पाचन नलीको हेरचाह नगर्नाले शरीरमा अम्ल र कफ पैदा हुन्छ, जसले गर्दा मन प्रभावित हुनुको साथै फोक्सोमा कफ जम्मा हुन्छ । पेटलाई दबाउने र शरीरलाई मोड्ने केही आसन अभ्यासमा समावेश गरेर हाम्रो पेट, आन्द्रा, मिर्गौला र अन्य आन्तरिक अंगमा रगतको प्रवाह बढाउन सक्छौं । यसले पाचन प्रक्रिया राम्रो हुन्छ र त्यहाँबाट विषाक्त तत्व बाहिर निस्किन्छ । वक्रासन वा मेरुदण्ड घुमाउने अर्ध मत्स्येन्द्र आसन, पल्टेर मेरुदण्ड घुमाउने नटराज आसन, शिशु आसन, पवन मुक्तासन र पश्चिमोत्तासनबाट पाचन सम्बन्धी स्वास्थ्यमा फाइदा हुन्छ ।

छाती फैलाउने खालका आसनले फोक्सोमा छातीभित्रको खाली भाग र फोक्सोमा रक्तसञ्चार बढाउन मद्दत गर्ने हुँदा यी आसन धेरै फाइदाजनक हुन्छन् । मत्स्यासन, भुजंगासन, धनुरासन, उभिएर पछाडि फर्कने अर्ध चक्रासन जस्ता आसन र सेतु बन्ध आसनलाई दैनिक योगाभ्यासमा समावेश गर्न सकिन्छ ।

आसनहरूले शरीरलाई रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने मात्र होइन, योगका फाइदा धेरै छन् । योगाभ्यासबाट हाम्रो अस्तित्वका सबै आयामलाई नै फाइदा पुग्छ । श्वासप्रश्वासको अभ्यासले हाम्रो फोक्सो र सम्बन्धित श्वासप्रश्वासका अंगलाई प्रभावित गर्दछ । यी महत्वपूर्ण अभ्यासले हामीलाई रोगबाट जोगाउँछ र समग्र स्वास्थ्यलाई पोषण दिन्छ ।

प्राणायामले हाम्रो फोक्सोलाई श्वासप्रश्वास क्षमता बढाउन प्रशिक्षण मात्र दिँदैन, हाम्रो दिमागलाई शान्त र  सकारात्मक बनाउने खालको ऊर्जाले पनि भरिदिन्छ । हामीलाई आर्ट अफ लिभिङको ह्याप्पिनेस प्रोग्राममा सिकाइएको तीन स्तरीय प्राणायाम र भस्त्रिकाको अभ्यासले श्वासप्रश्वास प्रणालीलाई बलियो बनाउँछ ।  

नाडीशोधन प्राणायामले स्नायुमा जम्मा भएको विकार हटाउँछ र नाकको भित्री भाग (साइनस)लाई सफा गर्छ । शरीरलाई संक्रमणबाट बचाउने शरीरको पहिलो मार्ग हो, साइनस । यिनीहरूलाई सफा र स्वस्थ राख्दा बाहिरी संक्रमणबाट बच्न सकिन्छ ।  

यहाँ जलनेती (नुनको पानीले नाकको नलीहरू सफा गर्ने) को बारेमा उल्लेख गर्नु आवश्यक छ । हालसालै गरिएको एक अध्ययन अनुसार, जसले आफ्ना नाकका अंश प्रत्येक दिन नुनपानीले सफा गर्छन्, उनीहरूको चिसो लाग्ने समस्या तथा खोकी र एलर्जी उल्लेखनीय ह्रास आएको पाइयो ।

अन्ततः शारीरिक रुपमा मात्र नभई मानसिक र आत्माको स्तरमा पनि स्वस्थ रहन हामीले तनावको स्तरलाई घटाउनुपर्छ । तनावले शरीरको प्राकृतिक रोग प्रतिरोधक क्षमतालाई नै कमजोर पार्छ ।  

तनाव कम गर्ने सबैभन्दा सरल र प्रभावकारी तरिका हो, ध्यान । कैयौं अध्ययनबाट देखिएको छ– दिनमा २० मिनेटको ध्यान गर्नाले रगतमा कोर्टिसोलको स्तर घटाउँछ र एन्डोरफिनको स्तर बढाउँछ, जसले मन सकारात्मक र खुस बन्छ ।

गुरुदेव श्री श्री रविशंकरले भनेका छन्, ‘बलियो मनले कमजोर शरीरलाई सम्हाल्न सक्छ, तर कमजोर मनले बलियो शरीरलाई पनि सम्हाल्न गर्न सक्दैन ।’

आज भाइरसका कारण संसार नै पीडित भइरहेका बेला प्रतिरोधात्मक क्षमता कायम राख्न आसन, ध्यान र प्राणायामलाई हाम्रो दैनिक जीवनको महत्वपूर्ण अंग बनाउन आवश्यक छ ।  

यहाँ दैनिक अभ्यास घरमा गर्न सकिने केही योगासनको क्रम दिइएको छः

१) पाँचदेखि सातपटक गहिरो श्वास लिने ।

२) २० श्वासको दुई राउन्ड भस्त्रिका  गर्ने ।

३) बिरालो आसन गर्ने ।

४) अर्ध चक्रासन (उभिएर पछाडि झुक्ने)

५) हस्तपादासन वा अर्ध उत्तानासना (उभिएर अगाडि झुक्ने र हातलाई घुँडा वा गोडाको औंलासम्म पु¥याउने) ।

६) त्रिकोणासन ।

७) अर्ध मत्स्येन्द्र आसन वा वक्रासन (बसेर आधा मेरुदण्ड पछाडि घुमाउने) ।

८) पश्चिमोत्तानासन (बसेर अगाडि झुक्ने)

९) शिशु आसन

१०) भुजंगासन ।

११)  धनुरासन ।

१२) अधोमुख श्वानासन ।  

१३) सेतुबन्ध आसन ।

१४) सर्वांगासन (काँधको भरमा गोडाहरू माथि उठाउने) ।

१५) मत्स्यासाना ।

१६) नटराज आसन (ढाडको भरमा पल्टेर मेरूदण्डलाई घुमाउने) ।

१७) पवन मुक्तासन

१८) योग निद्रा (विश्राम) ।

१९) नाडीशोधन प्राणायाम ( ५ मिनेट) ।

ध्यान (गुरुदेव श्री श्री रविशंकरद्वारा निर्देशित ‘पञ्चकोष’ ध्यान युट्युबमा उपलब्ध छ) ।

निरन्तर योग अभ्यासले राम्रो स्वास्थ्य लाभ हुन्छ । तर, यो चिकित्सा उपचारका लागि विकल्प भने होइन । यदि कुनै उपचार भइरहेको छ भने डाक्टरको सल्लाह पछि र एक प्रशिक्षित श्रीश्री योग शिक्षकको निरीक्षणमा योग अभ्यास गर्नु आवश्यक छ ।  

(लेखक कमलेश बरवाल आर्ट अफ लिभिङकी अन्तर्राष्ट्रिय प्रशिक्षिका, श्री श्री योग कार्यक्रमकी अन्तर्राष्ट्रिय प्रमुख, भारतीय योग संघको महासचिव तथा हिमाचल प्रदेशको आयुर्वेद विभागका योग सल्लाहकार हुन् ।)

प्रकाशित: ८ असार २०७७ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App