२० असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

चार दिनमा ७० बेडको आइसोलेसन तयार

गोरखा क्याम्पसमा निर्माण गरिएको आइसोलेसन कक्ष । तस्बिर : नरहरि/नागरिक

भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरुमा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि गोरखामा चार दिनमा ७० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ । ११ वटै स्थानीय तह मिलेर गोरखा क्याम्पसमा आइसोलेसन वेड तयार गरेका हुन् ।  

‘एकाएक संक्रमितको संख्या बढ्न थालेपछि हामीले आइसोलेसन निर्माण गरेका हौं, सक्दो छिटो गर्ने प्रयास थियो, केही दिन लाग्यो ।’ जिल्ला समन्वय समितिका प्रमुख एवं आइसोलेसन कोष ब्यवस्थापन समितिका संयोजक अशोककुमार गुरुङले भने, ‘प्राविधिक स्टमेट सकिएको दिनबाटै सबै काम सुरु गरेकाले छिटो सकिएको हो ।’ सिसिटिभी, कार्पेटिङ, बेड, शौचालय लगायत सबै नयाँ निर्माण गरिएको हो । औषधी र स्वास्थ्य सामग्री सहित आइसोलेसन निर्माणमा ११ वटै गाउँपालिकाले पाँच÷पाँच लाख रुपैयाँ समितिको खातामा जम्मा गर्ने र उक्त रकमबाट आइसोलेसन व्यवस्थापन गर्ने निर्णय भएको थियो ।  

गोरखा अस्पतालमा रहेको २४ बेड भरिएपछि जिल्लामा अन्यत्र सुविधायुक्त आइसोलेसन नहुँदा गत बुधबार र शुक्रबार कोरोना पोजेटिभ देखिएकाहरू अझै गाउँपालिकाको क्वारेन्टिनमा छन् । ‘प्राविधिक कारणले केही समय लागेको हो, निर्माण सुरु भएको चार दिनमा हामीले तयार गरिसक्यो, शनिबार बेलुकी देखि पोजेटिभ रिपोर्ट आएकालाई ल्याएर राख्न सक्ने ब्यवस्था भएको छ’ समितिका सदस्य एवं गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने । 

गोरखामा संक्रमित भेटिएका ४० मध्ये २४ जना गोरखा अस्पतालको क्वारेन्टिनमा छन् भने बाँकी गाउँपालिकाको क्वारेन्टिनमा छन् । आइसोलेसनमा ल्याएपछि उनीहरूको हेरचाहमा संम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मी सहित गोरखा अस्पतालका चिकित्सक, स्वास्थ्य कार्यालयको पनि निगरानी रहने छ । आइसोलेसन निर्माणमा नेपाली सेनाको रणसिंह दल गणले सहयोग गरेको थियो ।  

प्रकाशित: ६ असार २०७७ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App