coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

३० हजारभन्दा बढीको स्वाब परीक्षण बाँकी

कोरोना संक्रमण बढ्दो, परीक्षण सुस्त

कोरोना संक्रमण महामारीका कारण वैदेशिक रोजगारी गुमाएर कुबेतबाट अलजजिरा एयरलाइन्समार्फत मंगलबार स्वदेश आइपुगेका नेपाली श्रमिक त्रिभुवन विमास्थलबाट बाहिर निस्किने क्रममा । तस्बिर: विजय राई/नागरिक

कोरोना संक्रमितको संख्या बढिरहेको बेला स्वाब संकलन र परीक्षण कार्य भने सुस्त देखिएको छ। बिहीबार साँझसम्ममा ३० हजार भन्दा बढीको संकलन भएर पनि परीक्षण हुन बाँकी रहेको छ। ती स्वाब परीक्षणको लाइनमा छन्।  

कोरोना संक्रमण धेरै रहेको प्रदेश २ र ५ मा सबैभन्दा धेरै स्वाब परीक्षण हुन बाँकी रहेको छ। प्रदेश २ मा १० हजार एक सय ६४ जना र प्रदेश ५ मा सात हजार नौ सय ९९ जनाको स्वाब परीक्षण हुन बाँकी रहेको छ। सबैभन्दा कम प्रदेश १ मा एक हजार दुई सय १० जनाको स्वाब परीक्षण हुन बाँकी देखिए पनि दुई दिनदेखि स्वाब संकलन रोकिएको छ। बागमती प्रदेशमा  तीन हजार, गण्डकी प्रदेशमा एक हजार ६ सय, कर्णालीमा तीन हजार दुई सय ४७ र सुदुपश्चिममा तीन हजार तीन सय १९ जनाको स्वाब परीक्षण हुन बाँकी रहेको छ।  

रोकियो परीक्षण
कोसी प्रादेशिक अस्पताल विराटनगरको ल्याबमा प्रयोग हुने औषधि अभाव भएपछि बुधबारदेखि स्वाब संकलन र परीक्षण रोकिएको छ। प्रयोगशालामा प्रयोग हुने औषधि अभाव भएका कारण दुई दिनदेखि स्वाब संकलन नगर्न निर्देशन दिएको र परीक्षण रोकिएको अस्पतालले जनाएको छ।  

अस्पतालको प्रयोगशालामा आएका स्वावहरू परीक्षण गरिसकिएको तथा स्थानीय तहलाई नयाँ स्वाब संकलन नगर्न आग्रह गरिएकाले प्रयोगशालामा स्वाब थुप्रिने अवस्था भने नभएको अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण यादवले बताए। ‘स्थानीय तहलाई प्रयोगशालामा औषधि उपलब्ध नहुन्जेल स्वाब संकलन गरेर नपठाउन आग्रह गरिएको छ,’ उनले भने, ‘प्रयोगशाला बन्द भए पनि स्वाब थुप्रिने अवस्था छैन।’ कोसी अस्पतालस्थित प्रयोगशालाले दैनिक दुई सय ५० देखि तीन सय वटासम्म स्वाबको नमुना परीक्षण गर्दै आएको छ।  

प्रदेश जनस्वास्थय प्रयोगशालामा ल्याबको क्षमताभन्दा बढी स्वाब संकलन भएर परीक्षणका लागि आएपछि व्यवस्थापनमा समस्या देखिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबको क्षमताभन्दा बढी पिसिआर परीक्षणको लागि ल्याइएका स्वाब पेन्डिङमा रहने गरेको छ। स्थानीय तहबाट समन्वय नगरी स्वाब पठाउने गरेका कारण पेन्डिङ हुने प्रतिष्ठानको भनाइ छ। प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार माइक्रोबायोलोजी ल्याबको क्षमता दुई सय ५० देखि तीन सयसम्म रहेको छ। तर विभिन्न स्थानीय तहबाट समन्वय नगरी क्षमताभन्दा बढी स्वाबको नमुना प्रतिष्ठान आइपुग्छ। ‘समन्वय नगरी स्वाबको नमुना पठाइदिन्छन्,’ डाक्टर सापकोटाले भने, ‘एकै दिनमा कहिलेकाहीं चार÷पाँच सय नमुना पनि आउँछ, त्यसले गर्दा पेन्डिङ हुने हो।’

दोस्रो पिसिआर परीक्षणका लागि पठाइएको स्वाबको रिपोर्ट छ दिनसम्म पनि नआएपछि क्वारेन्टिनमा बसेकाहरू आन्दोलित भए। क्षमताभन्दा बढी स्वाब संकलन भएर परीक्षणका लागि आएपछि व्यवस्थापनमा समस्या देखिएको छ।

प्रतिष्ठानमा अहिलेसम्म सात हजार तीन सय ५५ नमुना परीक्षण भएको छ। तीमध्ये सात हजार एक सय ४७ नेगेटिभ आएको छ भने दुई सय आठ जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा १६ हजार ६ सय ४२ जनाको स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइसकिएको छ, जसमा १५ हजार २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार सय १६ जनाको पोजेटिभ आएको छ। एक हजार दुई सय १० जनाको स्वाब परीक्षण हुन बाँकी छ।  

गति निराशजनक
मुलुकमा सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का सबै क्वारेन्टाइनमा रहेकाहरूको स्वाब संकलन र परीक्षणको गति निराशजनक छ।  

जनकपुर, वीरगन्ज र राजविराज गरी तीन ठाउँबाट रियल टाइम पिसिआर मेसिनबाट स्वाब परीक्षण भइरहेको यो प्रदेशमा परीक्षणको दर भने सुस्त छ। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ३४ हजार नौ सय ६७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।  

तर बुधबारसम्म १० हजार एक सय ६४ जनाको स्वाब परीक्षणको नतिजा आउन अझै बाँकी छ। हालसम्म आएको स्वाब परीक्षणको नतिजाअनुसार बुधबारसम्म दुई हजार सात सय १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना परीक्षणका लागि स्वाब दिएको करिब तीन सातादेखि कतिपय व्यक्ति रिपोर्टको पर्खाइमा छन्।

निर्देशनालयका सूचना अधिकारी विजय झाका अनुसार क्वारेन्टिनमा रहेका आठ हजारभन्दा बढी व्यक्तिको स्वाब संकलन हुन अझै बाँकी छ भने भारतबाट स्वदेश फर्किएकाहरू क्वारेन्टिनमा आउने क्रम अझै जारी छ। स्वाब दिएको तीन सातासम्म समेत रिपोर्ट नआएपछि क्वारेन्टिनमा बस्नेहरू तनावमा छन्।  

पिसिआर मेसिनको संख्या कम भएका परीक्षण सुस्त भएको सूचना अधिकारी झाले जनाए। ‘यहाँ औसतमा दिनको पाँच सय जनाको स्वाब संकलन भइरहेको छ तर तीनै ठाउँ गरी औसतमा दिनको तीन सय जनाको स्वाब मात्र परीक्षण हुन्छ,’ उनले भने, ‘त्यसैले स्वाब दिएको करिब तीन सातासम्म कतिपय व्यक्ति रिपोर्ट पर्खेर बसिरहेका छन्।’

भारतबाट दिनानुदिन थपिँदै
वाग्मती प्रदेशभित्र काडमाडौं उपत्यकासहित सात ठाउँबाट परीक्षण गरिन्छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीर अस्पताल काठमाडौं, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, पाटन अस्पताल ललितपुर, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, धुलिखेल अस्पताल, भरतपुर अस्पताल, कोभिड १९ प्रयोगशाला चितवनमा परीक्षण गरिन्छ। प्राविधिक जनशक्ति कम हुनु र पूर्वाधारको अभावले गर्दा पिसिआर परीक्षणको नतिजा आउन ढिलाइ भएको स्वास्थ्यकर्मीको भनाइ छ। यी ठाउँमा करिब तीन हजार जनाको स्वाब परीक्षण हुन बाँकी रहेको छ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका निर्देशक रुना झाका अनुसार काठमाडौं उपत्यकामा मात्रै दुइ हजारभन्दा बढीको स्वाब परीक्षण हुन बाँकी रहेको छ। यो शुक्रबारसम्म सकिने भए पनि थपिने क्रम जारी रहेको उनले बताइन्।  

भारतबाट दिनानुदिन आएकाहरूको आरडिटीमा बढी जोड दिइएको छ भने स्वाब संकलन थोरै गरिएको छ। कोरोनाको त्रासले वाग्मती प्रदेशमा भारतबाट हजारौं व्यक्ति फर्केका छन् तर सबैको कोरोनाको जाँच हुन सकेको छैन।  

बुधबारसम्म चार हजार आठ सय ५७ नमुना प्राप्त भएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले बताए। यसमध्येमा चार हजार तीन सय ६८ जनाको परीक्षण भएको छ। चार सय ८९ जनाको परीक्षण बाँकी छ। प्रयोगशालामा दिनानुदिन स्बाब थपिँदै गएको छ, परीक्षणका लागि प्रयोगशालामा सामग्री र जनशक्ति कम हुँदा रिपोर्ट आउन ढिलाइ भएको छ।’  

पर्याप्त किटको अभावमा थ्रोट स्वाबको नमुना संकलन पनि कम छ। कतिपय प्रयोगशालामा परीक्षण गर्ने किटको अभावमा संकलन गरिएका स्बाब थपिँदै गएको छ भने काम पनि ठप्प भएको छ। भारतबाट दिनानुदिन आएकाहरूको आरडिटीमा बढी जोड दिइएको छ भने स्वाब संकलन थोरै गरिएको छ। कोरोनाको त्रासले वाग्मती प्रदेशमा भारतबाट हजारौं व्यक्ति फर्केका छन् तर सबैको कोरोनाको जाँच हुन सकेको छैन।  

वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर १० हजार पाँच सय ९८ शड्ढया रहेकोमा दुई हजार पाँच सय ५० जना क्वारेन्टिनमा बसेका छन्। त्यस्तै, एक हजार ८८ आइसोलेसन शड्ढया रहेकोमा दुई सय ४३ जना आइसोलेसनमा छन्। हालसम्म २९ हजार एक सय ४७ जनाको आरडिटी परीक्षण गरिएको छ।

पेन्डिङ सकिनै पाँच दिन
कोरोनाको आशंकामा परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा संकलित करिब एक हजार ६ सय जनाको स्वाब थुप्रिएको छ। दैनिक थपिनेबाहेक पेन्डिङ रहेका नमुनाहरू परीक्षण सक्न केही दिन लाग्ने स्वास्थ्यकर्मीले बताएका छन्। यहाँको प्रयोगशालामा दैनिक तीन सय हाराहारीमा नमुनाहरू आउने गरेका छन्।  

जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले १६ सय नमुना पेन्डिङ रहेको बताइन्। ‘अघिल्लो साता दुई हजार पाँच सय जति स्याम्पल पेन्डिङ थिए। अहिलेसम्म निकै घटाएका छौं,’ उनले भनिन्, ‘दैनिक सयभन्दा बढीको संख्यामा स्याम्पल थपिँदा पुरानाले पालो पाउन समय लागेको हो।’ उनका अनुसार दैनिक थपिनेबाहेक पेन्डिङ स्याम्पलको परीक्षण सक्न पाँच दिन जति लाग्नेछ।

कोरोना परीक्षण गर्न यहाँको प्रयोगशालामा दुईवटा पिसिआर मेसिन रहेका छन्। अघिल्लो सातासम्म एउटा मात्र मेसिनबाट परीक्षण गरिएको थियो। तर दुई दिनअघिदेखि नयाँ मेसिनबाट पनि परीक्षण गर्न थालिएको छ। दुईवटा मेसिनले परीक्षण गर्दा केही छिटो भएको उनले बताइन्। ‘दुईवटा मेसिनले अहिले दैनिक चार सय वटा स्याम्पल परीक्षण गर्न सकिएको छ,’ उनले भनिन्, ‘नयाँ स्याम्पल नथपिने हो भने पुरानोले छिटो पालो पाउँछ। तर नयाँ पनि थपिँदै जाने र पुराना पनि परीक्षण गर्दा केही ढिलो भएको हो। नयाँ मेसिन नथपेको भए झनै समस्या हुन्थ्यो।’

प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदबिन्दु शर्माले पनि पोजेटिभ परिणाम आउँदा थप भेरिफाइ गर्नुपर्दा केही बढी समय लाग्ने गरेको बताए। ‘दुईवटा टिम दिनरात खटिएर परीक्षण गरिरहेको छ। तर पनि संक्रमित थपिएको थपियै छन,’ उनले भने, ‘जबसम्म भारतबाट आउने युवाको संख्या घटदैन। तबसम्म संक्रमित थपिने क्रम घट्दैन।’  

निर्देशक शर्माका अनुसार पेन्डिङ स्याम्पलको छिटो परीक्षण सक्नका लागि जनशक्ति बढाएर द्रुतगतिमा काम गरिएको छ। प्रदेशको पोखरामा मात्र रहेका प्रयोगशालामा अहिलेसम्म नौ हजार जनाको नमुना पिसिआर विधिबाट परीक्षणका लागि संकलन गरिएको छ।  

नैराश्य र आक्रोस बढ्दै
प्रदेश ५ मा संक्रमितको संख्या हरेक दिन थपिँदो छ। भारतबाट फर्केर क्वारेन्टिनमा बस्नेको संख्या बुधबारसम्म २६ हजार एक सय ६७ छ। प्रदेश र केन्द्र सरकारले परीक्षणका लागि नमुना संकलन गर्न चाहिने भिटिएम पर्याप्त उपलब्ध नगराएपछि अधिकतर स्थानीय तहले भिटिएम किट आफैं किनेर नमुना संकलन गरिरहेका छन्। तर त्यसको अनुपातमा परीक्षणको दायरा बढेको छैन।  

पिसिआर रिपोर्ट आउन ढिलाइ भएकै कारण प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टिनभित्रै आन्दोलन गर्ने, भागेर घर जाने, आत्महत्या गर्नेलगायत घटना हुन थालेका छन्। अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पनि पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा क्वारेन्टिनमा बस्नेहरूमा नैराश्य र आक्रोस बढेको बताए। 

पहिलेभन्दा स्वाब संकलनको दर बढे पनि पिसिआर परीक्षण गर्ने ल्याबहरूको क्षमता विस्तार नगरिँदा प्रयोगशालाहरूमा नमुनाको चाङ लागेको छ। बुधबार साँझसम्म प्रदेशमा सात हजार नौ सय ९९ वटा स्वाब परीक्षणको पर्खाइमा छन्। अहिले पिसिआर रिपोर्टका लागि १०÷१५ दिनसम्म कुर्नुपर्ने बाध्यता छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डाक्टर राजेन्द्र गिरीले १०÷१२ दिनमा नमुनाको नतिजा उपलब्ध गराउन सकिने अवस्था रहेको बताए। ‘उपलब्ध उपकरण र जनशक्तिले भेटेसम्म काम भइरहेको छ,’ डाक्टर गिरीले भने, ‘दैनिक दुई सय स्याम्पलको नतिजा दिइरहेका छौं तापनि ल्याबमा एक हजार सात सयभन्दा बढी नमुना थुप्रिएका छन्।’  प्रदेशमा तीनवटा प्रयोगशाला छन्। तीमध्ये प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा एक हजार सात सय १० वटा नमुना क्युमा छन्। बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा आठ सय ८८ वटा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चार हजार दुई सय ६२ वटा नमुना परीक्षण हुन बाँकी छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं टेकुमा पठाइएका नमुनामध्ये आठ सय ६७ जनाको स्वाब परीक्षण हुन सकेको छैन।

प्रयोगशालाको क्षमता बढाउन आवश्यक उपकरण, सामान तथा दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकाले ढिलाइ भएको छ। यो साताभित्र भैरहवा र दाङको प्रयोगशालाको क्षमता बढाउन आवश्यक प्रक्रिया अन्तिम चरणमा प्रदेशको स्वास्थ्य महाशाखा प्रमुख डाक्टर उमाशंकर चौधरीले बताए।

पिसिआर रिपोर्ट आउन ढिलाइ भएकै कारण प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टिनभित्रै आन्दोलन गर्ने, भागेर घर जाने, आत्महत्या गर्नेलगायत घटना हुन थालेका छन्। अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पनि पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा क्वारेन्टिनमा बस्नेहरूमा नैराश्य र आक्रोस बढेको बताए। अहिलेसम्म प्रदेशमा ३० हजार सात सय २१ जनाको स्वाब लिइएको छ, त्यसमा २० हजार आठ सय ७७ जनाको नेगेटिभ आएको छ। एक हजार नौ सय ८२ जनामा संक्रमण पुुष्टि भएको छ भने आठ जनाको मृत्यु भइसकेको छ।

संक्रमित आन्दोलित
जेठ ३१ गते दैलेख सदरमुकामस्थित त्रिभुवन माविको आइसोलेसनमा रहेका कोरोना संक्रमित आन्दोलित भए। प्रहरीसँगको झडपमा चार जना घाइते भए। आन्दोलनको एउटै कारण थियो, समयमै कोरोना परीक्षण रिपोर्ट नआउनु।

कोरोना संक्रमण पुष्टि भएका ४३ जना जेठ ८ गतेदेखि त्रिभुवन माविको क्वारेन्टिनमा थिए। दोस्रो पिसिआर परीक्षणका लागि पठाइएको स्वाबको रिपोर्ट छ दिनसम्म पनि नआएपछि उनीहरू आन्दोलित भए। कोरोना संक्रमित ४३ जनाकै दोस्रो पटकको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। ‘एकै पटक पाँच सयभन्दा बढी संख्यामा स्वाब संकलन भएर आउँदा परीक्षणमा ढिलाइ हुने गरेको छ,’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिस्ट्रार विश्वराज काफ्लेले भने, ‘स्वाबको संख्या बढ्दै गएकाले नतिजा आउन ढिलो भएको हो।’

प्रतिष्ठानमा दुई हजार ५५ जनाको संकलन भएको स्वाब परीक्षण गर्न बाँकी छ। दैनिक पाँच सयदेखि हजारसम्म स्वाबहरू ल्याबमा आइरहेका छन्। प्रतिष्ठानका रजिस्ट्रार काफ्लेका अनुसार दैनिक तीन सयदेखि नौ सय जनासम्मको स्वाब परीक्षण गर्ने गरिएको छ।  

केन्द्रीय प्रयोगशाला टेकुपछि संख्यात्मक हिसाबले सबैभन्दा धेरै कोरोना परीक्षण भएको प्रदेश कर्णाली हो। प्रदेशमा हालसम्म २० हजार पाँच सय ४९ जनाको कोरोना परीक्षण गरिएको छ। तीमध्ये एक हजार दुई सय ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ। कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ। कर्णालीमा स्वाब संकलन गरिएकामध्ये बिहीबारसम्म तीन हजार दुई सयभन्दा बढीको परीक्षण हुन सकेको छैन।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट हालसम्म ११ हजार १६ जनाको परीक्षण गरिएको छ। तीमध्ये नौ हजार ६ सय ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने तीन सय ७८ जनाको पोजेटिभ रिपोर्ट आएको छ। यो अवधिमा प्रतिष्ठानले आइसोलेसनमा रहेका ७० जनाको रिपिट पिसिआर गरेको छ।  

प्रतिष्ठानमा दुई हजार ५५ जनाको संकलन भएको स्वाब परीक्षण गर्न बाँकी छ। यस्तै प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेश अस्पतालले नौ हजार ५३३ जनाको स्वाब परीक्षण गरेको छ। तीमध्ये आठ हजार आठ सय ५९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने आठ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ। प्रदेश अस्पतालको ल्याबमा अझै एक हजार एक सय ९२ जनाको स्वाब परीक्षण हुन बाँकी छ।

भिटिएम छैन
सुदूरपश्चिम प्रदेशमा कोरोना शंकास्पद व्यक्तिको नमुना संकलन गरिएकामध्ये तीन हजार तीन सय १९ जनाको नतिजा आउन बाँकी रहेको छ।  

अहिलेसम्म पिसिआर विधिबाट १२ हजार चार सय ९७ जनाको थ्रोट स्वाब नमुना संकलन गरिएको थियो। संकलित स्वाब नमुनामध्ये नौ हजार एक सय ७८ थ्रोट स्वाब नमुना जाँच गरिएको थियो, जसमध्ये आठ हजार आठ सय तीन जनाको नमुना नेगेटिभ देखिएको थियो भने तीन सय ७५ जनाको पोजेटिभ।  

सुदूरपश्चिम प्रदेशमा रहेको एउटामात्रै कोभिड–१९ पिसिआर परीक्षण प्रयोगशालामार्फत संकलित स्वाबको नमुना परीक्षण हुँदै आएको छ। प्रयोगशालामा दैनिक दुई सयदेखि दुई सय ५० वटासम्म नमुना परीक्षण हुँदै आएको बताउँदै कोभिड–१९ का प्रदेश फोकल–पर्सन नरेन्द्र कार्कीले भने, ‘नतिजा आउन बाँकी नमुना तीन हजार तीन सय १९ जनामध्ये अत्यधिक चाप बढेपछि बुधबारमात्रै दुई हजार ६६ जनाको संकलित स्वाबको नमुनालाई काठमाडौं पठाइएको छ।’  

अहिले सुदूरपश्चिम प्रदेशको प्रयोगशालामा एक हजार दुई सय ५३ वटा नमुनाको परीक्षण भइरहेको छ। यो क्रम दैनिक रूपमा बढ्दै गइरहेको बताउँदै उनले भने, ‘स्वाब संकलन दैनिक भइरहेकाले नमुनाको संख्या बढ्दो छ।’  

पछिल्लो समयमा नमुना संकलन गर्ने भिटिएमको कमी भएसँगै केही मात्रामा नमुना संकलन गर्न समस्या परे पनि संघीय सरकारबाट भिटिएमको माग भएको कार्कीले बताए। ‘स्वाब संकलन गर्दा चाहिने भिटिएमको कमी भएको छ,’ उनले भने, ‘त्यसका लागि संघीय सरकारसँग माग गरेका छौं।’ 
(रोहित राई र विनोद सुवेदी/प्रदेश १, रोहित महतो/प्रदेश २, सरिता श्रेष्ठ/वाग्मती प्रदेश ३, सन्तोष पोखरेल/गण्डकी प्रदेश, रेखा भुसाल/प्रदेश ५, नगेन्द्र उपाध्यय/कर्णाली प्रदेश र पुष्पराज जोशी/सुदूरपश्चिम प्रदेश )

प्रकाशित: ५ असार २०७७ ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App