२० असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

धादिङमा कोरोना संक्रमित र भारतबाट आउनेहरू बढे

व्यवस्थापनमा समस्या

भारतबाट आएकाहरु व्यक्ति । तस्बिर : नागरिक

धादिङमा  क्वारेन्टिन र आइसोलेसन कक्षको व्यवस्थापनमा समस्या भएको छ ।  कोभिड–१९ संक्रमित र भारतबाट आउनेहरु ह्वात्तै बढेकाले क्वारेन्टिन र आइसोलेसन कक्षको व्यवस्थापनमा समस्या भएको हाे । 

नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले भने,  ‘संक्रमितको संख्या दिनानुदिन थपिँदै छन् । क्वारेन्टिन र आइसोलेसन कक्ष भरिएको छ । मापदण्डअनुसारको क्वारेन्टिन र आइसोलेसका लागि भौतिक पूर्वाधार, स्वास्थ्यकर्मी र सुरक्षा व्यवस्था कठिन छ ।’

सोमबारसम्म जिल्लाभर ९२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।  जिल्ला सदरमुकाममा पर्ने नीलकण्ठ नगरपालिकाका मात्रै ५१ जना संक्रमित छन् ।  

जिल्लाका १३ वटै स्थानीय तहले अलपत्र नागरिकलाई भारतबाट ल्याएका छन् । यसरी  जिल्ला भित्रनेहरु हजारभन्दा बढी छन् ।  भारतलगायत अन्य देशबाट आएका व्यक्तिलाई राख्न नीलकण्ठ नगरपालिकाले सदरमुकाम धादिङबेंसीस्थित नीलकण्ठ मावि, बालमन्दिर माविलगायतका ठाउँलाई क्वारेन्टिन बनाइएको छ । त्यस्तै,  छ डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रको नयाँ भवनलाई आइसोलेसन कक्षका रुपमा विकास गरिएको छ ।  

 भारतबाट आएकाहरु व्यक्ति । तस्बिर : नागरिक

साथीहरुलाई कोरोना संक्रमित पुष्टि भएपछि क्वारेन्टिनबाट घर फर्किसकेका नीलकण्ठ नगरपालिका वडा नं १ का २५ जनाभन्दा बढी पीसीआर परीक्षणका लागि सदरमुकाम गएका थिए । उनीहरू सोही दिन रिपोर्टबिनै घर फर्किएका थिए ।  यसरी रिपोर्ट नआई घर फर्किँदा गाउँमा त्रास  छाएको स्थानीय सिरोज गुरुङले बताए ।  

‘पहिले आरडिटी नेगेटिभ आयो भनेर घर फर्केर साथीभाइसँग भेटघाट तथा गाउँघरको काममा लागे,’ उनले भने, ‘पछि पिसिआर परीक्षण गर्दा पोजेटिभ आएपछि गाउँमा त्रास छाएको छ ।’  

क्वारेन्टिनमा कोचाकोच गरेर राख्दा र पिसिआर रिपोर्ट ढिला आउँदा संक्रमणले भयावह रूप लिन सक्ने स्थानीय तहको भनाइ छ । संक्रमित थपिँदै गर्दा आइसोलेसन बेडको अभाव देखिएको छ । अभाव टार्न कोरोना भाइरससम्बन्धी संकट व्यवस्थापन केन्द्रको बैठकमा जिल्ला समन्वय समितिले तत्काल १२ बेड र आवश्यक सामान खरिद गरी व्यवस्था गर्ने र संक्रमितहरुलाई राखिने निर्णय गरेको छ ।  

गजुरी गाउँपालिका वडा नं. १ मा रहेको प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतको भवनलाई आइसोलेसन सेन्टर तोक्ने बताइएको छ ।  

भारतबाट जिल्ला भित्रनेहरुको संख्या १ हजारभन्दा बढी छन् । हालसम्म जिल्लाभित्र संक्रमित देखिनेहरु अधिकांश भारतबाट फर्किएकाहरु छन् । जिल्लाको नीलकण्ठ नगरपालिकाका ५१ जना, ज्वालामुखी गाउँपालिकाका २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ७ जना, सिद्धलेक गाउँपालिकाका २ जना, धुनीबेंसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिकाका एक÷एक जना कोरोना संक्रमित छन् । संक्रमितमध्ये ५ जना निको भएर घर फर्किएका छन् ।  

प्रकाशित: ३ असार २०७७ १०:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App