६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नामाकरणसँगै ट्रमा सेन्टर विवादमा

पूर्वी मोरङको उर्लाबारी नगरपालिका–३ मा रहेको मंगलबारे ट्रमा अस्पताल अहिले विवादमा परेको छ । प्रदेश सरकारले अस्पतालको नाम परिवर्तन गर्ने भएपछि उर्लाबारीमा त्यसको विरोध सुरु भएको हो ।

प्रदेश सरकारले मंगलबारे ट्रमा अस्पतालको नाम परिवर्तन गर्दै ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने भनेपछि स्थानीयहरूले अस्पतालको नाम परिवर्तन नगर्न माग राख्दै आठौं दिनेदेखि आन्दोलन गर्दै आएका छन् । नाम परिवर्तनबाट आक्रोसित भएका स्थानीयले बिहीबार प्रदेश सरकारको विरोध गर्दै मुख्यमन्त्री शेरधन राईको पुत्लासमेत दहन गरेका थिए ।

प्रदर्शनकारीले प्रदेश सरकारले अस्पतालको विकासका नाम ‘गिभ एन टेक’ गर्दै नामलाई राजनैतिककरण गर्न खोजेको आरोप लगाएका छन् । प्रदेश सरकारले स्थानीय तहसँग नाम परिवर्तन सम्बन्धमा कुनै छलफल नगरेको बताइएको छ ।  अस्पताललाई स्तरोन्नती गरेर नाम परिवर्तन गर्दा भूगोलसँग जोडिएको अस्पतालको पहिचान मेटिने भन्दै त्यसो नगर्न स्थनीयले प्रदेश सरकारसँग माग गरेका छन् । उनीहरूले प्रदेश सरकारलाई मंगलबारे अस्पतालकै नाममा बजेट ल्याउन आग्रह गरेका छन् ।  

प्रदेश सरकारले प्रस्तुत गरेको २०७७/७८ को नीति तथा कार्यक्रममा अस्पताललाई नाम ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’को रूपमा विकास र स्तरोन्ति गर्ने भनेको छ । त्यस विषयलाई लिएर मंगलबारेका स्थानीयले नाम परिवर्तन नगर्न माग राख्दै प्रदर्शनमा उत्रेका हुन् । स्थानीयले अस्पतालका नाम परिवर्तन गर्नभन्दा उर्लाबारीभित्रै अर्को स्थानमा नयाँ अस्पताल सञ्चालनमा ल्याउन माग  गरेका छन् ।  

नीति तथा कार्यक्रम प्रस्तुतपछि प्रदेशसभामा नामको विषयमा प्रश्न उठेपछि मुख्यमन्त्री शेरधन राईले बैठकमा ‘जननेता मदन भण्डारीको नामलाई अस्विकार गर्नुलाई समग्र देशको परिवर्तनलाई अस्विकार गरेको मानिने छ ।’  

‘हामीलाई मदन भण्डारीको नामसँगै कुनै आपत्ती छैन,’ कांग्रेसका प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले भने, ‘जनताले बनाएको पहिचानलाई कसैले मेट्न मिल्दैन किनभने त्यो पहिचान स्थापित गर्न उहाँको धेरै अथक मेहनत र परिश्रम रहेको छ । भएका पहिचान मेट्दै जाने हो भने इतिहास खोज्दा भेटिँदैन ।’ यदि इतिहास र नाम परिवर्तन गर्ने हो भने कोइराला निवास अगाडि रहेको कोसी अस्पताल किन बिपी वा गिरिजाप्रसाद कोइरालाको नामबाट नयाँ नामाकरण भएन,  उनले भने । प्रदेश सरकारले चाहन्छ भने उर्लाबारीभित्रै कुनै नयाँ ठाउँमा नयाँ नाम राखेर अर्को अस्पताल बनाउँदा भइहाल्यो नि, कार्कीले थपे ।  

प्रदेश सरकारले पालिकासँग यस विषयमा कुनै समन्वय सुझाव नलिएको उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मदेवि भण्डारीले बताइन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको ठूलो क्षेत्रफल राजमार्गको दक्षिणतर्फ रहेको र त्यहाँ अस्पताल बनाउन नाम राख्नुपर्ने अवस्था रहेको प्रस्टाइन् ।  

‘नामको विषयमा राजनीति नगर्न आग्रह गर्दछु,’ उपप्रमुख भण्डारीले भनिन्, ‘विद्यमान अस्पतालको क्षेत्रफल कम भएको र एकै स्थानमा व्यवस्थित रूपमा धेरै वाड सञ्चालन गर्न गाह्रो छ भने सञ्चालनमा रहेको अस्पतालको नयाँ दुई वटा भवन रहेको स्थानमा क्षेत्रफल कम भएकोले नामको विवादमा नअल्झी साँघुरो सोचभन्दा बाहिर निस्किएर काम गर्नुपर्ने छ ।’  

२०४९ मा स्थापित भएको १५ शैड्ढयाको अस्पताललाई ५० शैड्ढयामा स्तरोन्नतीसहित प्रदेश सरकारले ट्रमा सेन्टरको रूपमा विकास गरेको छ । ट्रमा सेन्टरका लागि गत आर्थिक वर्ष २ करोड रुपैयाँ बराबरको आवश्यक उपकरणसमेत खरिद भइसकेको अस्पतालले जनाएको छ ।

प्रकाशित: ३० जेष्ठ २०७७ १४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App