६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोरोनापीडित नागरिकलाई टेलिफोनबाटै मनोपरामर्श

नेपालका ३९ जिल्लाका १५६ स्थानीय तहमा सञ्चालित

कोरोना कहरका कारण आर्थिक र मानसिकरूपमा समस्यामा परेका नागरिकलाई कैलालीमा भने टेलिफोनबाटै मनोपरामर्श दिन थालिएको छ ।      

 कोरोनाको महामारीले गन्तव्य मुलुकमा रोजगारी गुमाउने, स्वदेश फिर्ता हुन नपाउने, भोकमरीको चपेटामा पर्नेलगायतका समस्या देखिएका छन् । परिवारमा समेत व्यक्तिगतसँगै विदेशमा रहेकाप्रतिको चिन्ता बढेको छ । विदेश तथा अन्य स्थानबाट घर आएकालाई समेत समाजमा हेर्ने दृष्टिकोण फरक रहेको छ ।      

यसरी विदेशमा रहेका नागरिक र उनीहरुका परिवारमा समेत मनोसामाजिक असर देखिन थालेको छ । कोरोनाको महामारीसँगै मनोसामाजिक असर देखा पर्दै गएकाले कैलालीमा सुरक्षित आप्रवासन परियोजना ‘सामी’ले टेलिफोनमार्फत सूचना दिने र परामर्श दिने काम गरिरहेको परियोजना संयोजक पञ्चराम चौधरीले बताए ।

‘विदेशबाट फर्किएका नागरिक र विदेशमा आफन्त रहेका परिवारका सदस्यमा मनोत्रास छ,’ संयोजक चौधरी भन्छन्, ‘यस्तो विपत्तिमा पहिले त मानिसको मानसिक अवस्था ठीक हुनुपर्छ । सबै काम दिमागले गर्छ, उनीहरुको सोच नकारात्मक नहोस् भनी हामीले मनोपरामर्श दिन थालेका हौं ।’      

 लामो वैदेशिक बसाइपश्चात् फर्किएका नागरिकले गाउँघरमा दुव्र्यवहार, अपहेलनाजस्ता समस्या भोगिरहेको बताउँछन् । जानकी गाउँपालिकाका सेवक चौधरी गत चैत ९ गते मलेसियाबाट नेपाल फर्किएका थिए ।

 ‘एक महिने बिदामा घर फर्किएको थिएँ । घर आएपछि लकडाउन भयो,’ चौधरी भन्छन्, ‘म घरभित्रै सीमित भएको छु । कतै गयो, कसैसँग बोल्यो भने संक्रमण हुन सक्छ भन्दै बोल्नै डराउँछन् । समाजको दुव्र्यहार सहनै कठिन भएको छ ।’      

विदेश तथा बाहिरी जिल्लाबाट फर्किएका अधिकांश घर जान नपाई क्वारेन्टिनमा बस्नुपर्ने भएकाले उनीहरुमा समेत नकारात्मक विचार उत्पन्न हुने, वितृष्णा पैदा हुने, मनोबल घट्नेजस्ता समस्या आउन थालेको परियोजना संयोजक चौधरी बताउँछन् ।

 ‘यस्तो समस्यामा परेकालाई हामीले मनोसामाजिक परार्मश दिने कार्य गर्न थालेका हौं,’ उनले भने । तेस्रो मुलुक तथा भारतबाट फर्केका व्यक्तिलाई समस्या परे परियोजनाले धनगढीको सुरक्षित आप्रवासनमार्फत टेलिफोन परामर्श दिनुका साथै चार जना मनोपरामर्शकर्तालाई आवश्यक पर्ने क्वारेन्टिनमा गएर सेवा दिने व्यवस्था गरेको छ । लकडाउनको बेला टेलिफोन सूचना र परामर्श दिँदा प्रभावकारी बन्ने परियोजनाको ठहर छ । परियोजनाले अहिलेसम्म कैलालीमा २१० जनालाई परामर्श दिइसकेको छ ।      

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपालका ३९ जिल्लाका १५६ स्थानीय तहमा सञ्चालित छ । कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकासँगको साझेदारीमा स्थानीय सेवा प्रदायक संस्था ट्रेस नेपालले सञ्चालन गरिरहेको हुनाले समस्यामा परेका व्यक्तिलाई आवश्यक सहयोगका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टर तथा विदेशस्थित नेपाली जदूतावासमार्फत पहल हुने गरेको उनले जनाए ।  

प्रकाशित: १९ जेष्ठ २०७७ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App