१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

एसएसबी खेदाउँछ, सशस्त्र फर्काउँछ

भारतको मुम्बईबाट फर्केकाहरू मुडिला नाकामा अलपत्र । तस्बिर: नागरिक

बुटवल, - रुपन्देहीको कोटहीमाई गाँउपालिका–१ रामनगरका उदयराज लोध र अशोक लोध गत मंसिरमा मजदुरीका लागि भारत गएका हुन् । मुम्बईको कपडा उद्योगमा ६ महिना काम गर्न नपाउँदै कोरोनाको त्रास फैलियो । उद्योग बन्द भयो । लकडाउनले काम खोसिएपछि बेखर्ची भएका उनीहरूले कयौं रात सडकमै बिताए । भोकभोकै बसे । 

सडकबाट पनि प्रहरीले लखेटेपछि घर फर्कनुको विकल्प भएन । सत्र दिनअघि मुम्बईबाट हिँडेका उनीहरू मालबाहक ट्रक र पैदलै गरेर शनिबार सीमावर्ती बजार नौतनवा आइपुगेका थिए । 

नौतनवा त्यही ठाउँ हो, जहाँ नेपाल फर्कन खोज्ने नेपालीहरूलाई राख्न भनेर क्वारेन्टिन बनाइएको छ । अहिले पनि सो क्वारेन्टिनमा केही नेपाली छन् । तर लोध दाजुभाइलाई भारतीय सुरक्षाकर्मीले मुम्बईबाट फर्केको भनेपछि क्वारेन्टिनमा राख्न मानेनन् । बरु मर्चवार पारिपट्टिको ठोठरी बजार पु-याइदिए । भारतीय सुरक्षाकर्मीले रातिको समयमा ठोठरी–मुडिला नाकाबाटै नेपाल पस्न दबाब दिए । त्यहीअनुसार उनीहरू नेपाल आउन हिँडे पनि ।

तर सशस्त्रले दसगजामै रोकीदियो । नेपालका सुरक्षाकर्मीले उनीहरूलाई नौतनवाको क्वारेन्टिनमा राखिदिनु भनेर भारतीय सुरक्षाकर्मीकै जिम्मा लगाइदिए । तर भारतीयले उनीहरूलाई क्वारेन्टिन लैजानुको साटो मर्चवारी गाँउपालिका–१ स्थित कुरहवा नाकातर्फ खेदाए । त्यही नाकाबाट आइतबार बिहान ३ बजेतिर लोध दाजुभाइसहित अरु सात जना नेपाल पस्दै गर्दा सशस्त्रले फेरी नियन्त्रणमा लिएर एसएसबीलाई नै बुझाइदियो । ‘हामीले उनीहरूलाई नौतनवाको क्वारेन्टिनमा राखीिदनु भनेर एसएसबीको जिम्मा लगाएका छौं,’ कुरहवामा खटिएका सशस्त्रका एक जना जवानले भने । 

कोरोना फैलिएका सहरबाट फर्केका नेपालीलाई क्वारेन्टिनमा राख्न मान्दैनन् भारतीय ।

नेपालका सुरक्षाकर्मीहरूले नौतनवा क्वारेन्टिन पठाएका भनिएका ती दाजुभाइसहित १७ जनाको टोलीलाई एसएसबीले क्वारेन्टिनमा हैन, ठोठरीमै चौरमा राखेको छ । आइतबारै राति मुडिला नाकाबाटै नेपाल छिराउने योजनासहित उनीहरूलाई ठोठरीमा राखिएको हो । ‘राति नौ बजेपछि तिमीहरूलाई नेपाल पठाइदिन्छौं । आज नभए भोलि त जसरी पनि घर जान पाउँछौ भनेर एसएसबीका जवानले भनेका छन्,’ नागरिकसंगको टेलिफोन कुराकानीमा लोधले भने ।

आइतबार बिहान पनि मुडिला र करौता नाकाबाट १६ जना नेपाल पसेका थिए । दिल्ली र मुम्बईबाट फर्केका उनीहरूलाई चार दिनदेखि नेपालका सुरक्षाकर्मीहरूले दसगजामा रोक्दै फर्काइदिँदै गरेका थिए । सशस्त्रले त्यसरी आउनेलाई नौतनवाको क्वरेन्टाइनमा राखीिदनु भनेर एसएसबीको जिम्मा लगाइदिन्छ । तर भारतीय पक्षले भने कोरोना संक्रमण फैलिरहेका सहरबाट आएकालाई क्वारेन्टिनमा नराख्ने भन्दै पुनः अर्को नाकामा लगेर छोडिदिन्छ । 

शनिबार पनि मुडिला, तरइनी, करौता, कक्रहवा नाकाबाट ३८ जना नेपाल पसेका थिए । उनीहरू भारतको दिल्ली, मुम्बई र गुजरातबाट फर्केका हुन् । भारतीय पक्षले आफूहरूलाई क्वारेन्टिनमा राख्न नमानेपछि लुकेरै भए पनि नेपाल पस्न बाध्य भएको मुडिलाबाट पसेकाले बताएका छन् । 

शनिबार मुडिलाबाट नेपाल छिरेका सम्मरीमाइका सलाउद्धिन मुसमानले कोरोना फैलिएका सहरबाट आएकालाई नराख्ने भन्दै आफूहरूलाई नौतनवा क्वारेन्टिनको गेटबाटै फर्काइएको बताए । ‘हामी आफैं नौतनवाको क्वारेन्टिनमा बसेर घर जाने योजनामा थियौं तर क्वारेन्टिनका सुरक्षाकर्मीले दिल्ली, मुम्बईबाट आएकालाई ठाउँ छैन भन्दै हप्काए,’ सलाउद्धिनले भने । चार दिनसम्म सीमानाकामा भोकभोकै भौंतारिएपछि शनिबार बल्ल सुरक्षाकर्मीको आँखा झलेर गाँउ पस्न सफल भएको मुवारक अलीले बताए ।

कोरोना त्रासका कारण सीमानाका बन्द गर्दा भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई भारतीय पक्षले र नेपालमा अलपत्र पर्ने भारतीयलाई नेपालले व्यवस्थापन गर्ने भनिएको थियो । लकडाउनले कामबिहीन भएर घर जान निस्केका नागरिकलाई जुन देशमा छन्, त्यही देशको क्वारेन्टिनमा राख्ने भनिएको थियो । तर अहिले भारतीय पक्षले सो सहमति पालना गरेको छैन । 

कामबिहीन भएर सडकमा निस्कन बाध्य नेपालीहरूलाई भारतीय पक्षले क्वारेन्टिनमा राख्नुको साटो नेपाल पस्न दबाब दिइरहेका छन्, जसका कारण अहिले नेपाल–भारत सीमाक्षेत्रमा सयौं नेपाली अलपत्र छन् । जो खुला आकाशमुनि भोकैप्यासै बसेका छन् । लामखुट्टे तथा किराकिरीको टोकाइको जोखीममा छन् । 

त्यसरी अलपत्र पर्नेहरूमध्ये केहीलाई वारिका जनप्रतिनिधिले नै लुकाएर नेपाल ल्याएका छन् । केही रातिको समयमा नेपाल पसिरहेका छन् । त्यसरी आउनेहरू अधिकतर गुपचुपै आफ्नो घर पुगेका छन् । स्थानीयको नजरमा परेका केहीलाई क्वारेन्टिनमा पठाइए पनि तिनको परीक्षण हुन सकेको छैन, जसले कोरोनाको जोखिम बढाइरहेको छ । 

प्रकाशित: २९ वैशाख २०७७ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App