५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा दोहोरो परीक्षण गर्दा देखियो ३ जनामा कोरोना, संक्रमित सबै भुल्केकै

कोरोना संक्रमणको केन्द्रविन्दु भुल्के मस्जिद । तस्बिरः महेश्वर

उदयपुर- उदयपुरमा थप ३ जना संक्रमित देखिएका छन् । जिल्लामा पहिलो संक्रमण फेला परेको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिद र आसपासबासी ३ सय ३१ मध्ये ३ सय ६ जनाको पिसिआर रिपोर्टमा ३ जना संक्रमित देखिएका हुन् । संक्रमण पुष्टि भएलगत्तै उनीहरुलाई आइसोलेसन राख्न विराटनगर पठाइएको छ ।

वैशाख ५ देखि ९ गतेसम्म २८ संक्रमित भेटिएको भुल्केमा यसअघि परीक्षण गरिएका सबैमा संक्रमण भए÷नभएको यकिन गर्न गत बुधबार पुनः परीक्षण गर्दा ३ महिलामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु १८, ४५ र ६५ वर्षका भएको स्वास्थ्यले जनाएको छ ।

स्वास्थ्य प्रमुख मोहन घिमिरेका अनुसार पहिले नेगेटिभ रिपोर्ट आउनेहरुमा कोरोना भए नभएको यकिन गर्न मस्जिद र आसपासका २ सय ३४ मुस्लिम र छिमेकी ९७ जना गैरमुस्लिमको स्वाब पठाइएको थियो । जसमा गैरमुस्लिम सबैको रिपोर्ट नेगेटिभ देखिएको र मुस्लिम समुदायको २५ को रिपोर्ट आउन बाँकी छ । बाँकी २५ को रिपोर्ट पनि साँझसम्ममा आईसक्ने घिरिमेले बताए ।

९ गतेयता संक्रमित नदेखिएपछि जिल्लाबासीमा ओझिदै गएको त्रास पुनः बढ्ने देखिएको छ । त्रियुगा ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले शान्त हुँदै गएको स्थानीयबासीमा नयाँ संक्रमित थपिएसँगै त्रास बढ्न सक्ने बताए । ‘एकैचोटी २८ जनामा कोरोना देखिएको भए पनि विस्तारै स्थिति साम्य हुँदै गएको थियो’ वडाध्यक्ष चौधरीले भने ‘यो रिपोर्टले फेरि जनता त्रसित बन्ने संभावना छ ।’

स्वास्थ्य कार्यालयले बाँकी २५ को रिपोर्ट आएपछि थप परीक्षणको कदम चाल्ने जनाएको छ । भुल्केलाई केन्द्रविन्दु बनाएर त्रियुगाभित्रै बढी केन्द्रित भएको परीक्षण कार्यलाई जिल्लाका अन्य स्थानीयतहसम्म विस्तार गर्नुपर्ने माग बढिरहेका बेला थप संक्रमित देखिपछि कसरी अघि बढ्ने भन्ने विषयमा टुंगो लगाउन सरोकारवाबीच छलफल भईरहेको घिमिरेले बताए ।

नयाँ ३ जनामा पोजेटिभ देखिएसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमा ५ महिला र बाँकी पुरुष छन् । कोसी कोरोना अस्पताल विराटनगरमा उपचारारत संक्रमितमध्ये निको भएका ६ भारतीयसहित १४ जनालाई क्वारेन्टाईनमा राखिएको छ । अन्य १४ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ ।

उदयपुमा हालसम्म १ हजार ३ जनाको स्वाव पिसिआर परीक्षणका लागि संकलन गरिसकिएको स्वास्थ्यले जनाएको छ ।  

 

प्रकाशित: २७ वैशाख २०७७ ०६:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App