२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको औषधि नेपालमै उपलब्ध रहेको दाबी

काठमाडौं, - संसारलाई आक्रान्त पारेको कोरोना भाइरस (कोभिड–१९)को औषधि नेपालमै रहेको दाबी होमियोप्याथिक चिकित्कसहरूले गरेका छन् । ती औषधिलाई नेपाल सरकारसँग सहमति लिई ठाउँठाउँमा निःशुल्क वितरणसमेत थालेको उनीहरूले बताएका छन् । 

‘आर्सेनिकम एल्बम ३० सी’ को होमियोप्याथिक औषधि दुई गोली बिहान खाली पेट तीन दिनसम्म लगातार र त्यसपछि प्रत्येक हप्ता दुई दुई गोली आवश्यकताअनुसार महामारी नियन्त्रण नहुँदासम्म सेवन गर्दा कोभिड–१९ बाट बच्न सकिने दाबी उनीहरूको छ । साथै सोही औषधिसहित अन्य केही थप होमियोप्याथिक औषधिबाट उपचारसमेत गर्न सकिने उनीहरूले बताएका छन् । 

औषधि वितरणका लागि उनीहरूले कोभिड–१९ महामारी रोगविरुद्ध होमियोप्याथिक समूह गठन गरेका छन् । आफूहरूको सम्पर्कमा आएका नेपाली नागरिकलाई निःशुल्क औषधि वितरण थालेको सो समूहले जनाएको छ । अहिलेसम्म दुई लाख डोज औषधि वितरण गरिसकेको र १५ लाख डोज तयार पार्न आफूहरू लागिपरेको उनीहरूले बताएका छन् ।   

कोभिड–१९ महामारीविरुद्ध होमियोप्याथिक समूह गठनका संयोजनकर्ता होमियोप्याथिक चिकित्सक डा. बलराम किसीले रोकथाम र उपचार दुवैमा यो औषधि प्रयोग गर्न सकिने जनाए । डा. किसीका अनुसार पहिलो चरणमा लगालग तीन दिन बिहान खाली पेटमा दैनिक दुई दुई गोली जिब्रोमुनि राखी चपाएर खानुपर्छ । त्यसपछि हप्तामा एकपटक सोही औषधि एक पटकमा दुई÷दुई गोली यसरी नै जिब्रोमुनि राखेर खाली पेटमा तीन हप्तासम्म खानुपर्छ । उनका अनुसार यसले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्छ । 

यसबारे आफूहरूले नेपाल सरकारलाई जानकारी दिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागबाट दिशानिर्देशन (गाइडलाइन) तयार पारेको र वैशाख १० गते प्राटोकलसमेत बनेको जानकारी उनीहरूले गराए । यसैअनुसार आफूहरूको सम्पर्कमा आएका व्यक्तिलाई निःशुल्क औषधि वितरण गरी खुवाउन सुरु गरिसकेको उनीहरूले जनाए । उनीहरूका अनुसार विश्वका विभिन्न देशलगायत छिमेकी मुलुक भारतमा आयुस (एवाईयुएसएच) मन्त्रालयको पहलमा कोभिड–१९ महामारीविरुद्ध यो उपचार पद्धतिको राम्रो परिणाम देखिएको छ । यही परिणामलाई ध्यान दिई नेपालमा पनि औषधि बिक्री–वितरण गरी खुवाउन थालिएको उनीहरूले जनाए । 

औषधिको माग अत्यधिक रहेका कारण साधारण आयुर्वेद पसलमा यो औषधि अभाव रहेको उनीहरूले जनाए । पशुपति होमियोप्याथिक अस्पताल हरिहर भवन पाटन, अखिल नेपाल होमियोप्याथिक एसोसिएसन काठमाडौं, भक्तपुर होमियोप्याथिक मेडिकल कलेज भक्तपुर, होमियोप्याथी फाउन्डेसन नेपाल भक्तपुर, नेपाल होमियोप्याथिक चिकित्सक संघ विराटनगर, एसियन होमियोप्याथिक मेडिकल लिग काठमाडौं र नेपाल होमियोप्याथिक हेल्थ अर्गनाइजेसन भक्तपुरबाट यी औषधिहरू निःशुल्क वितरण भइरहेको जनाइएको छ । 

प्रकाशित: २७ वैशाख २०७७ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App