५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भुल्केको दोहोरो रिपोर्ट आएपछि अन्यत्र परीक्षण गरिने

उदयपुरगढीको खाली क्वारेन्टाइनको अनुगमन गर्दै जिल्ला समन्वय प्रमुख खड्ग परियार । तस्बिरः महेश्वर

उदयपुर- त्रियुगा नगरपालिका ३ भुल्केमा वैशाख ५ देखि ९ गतेसम्म २८ संक्रमित पुष्टि भएपछि कोरोना भाइरस (कोभिड–१९) को केन्द्रविन्दु मानिन पुगेको उदयपुरमा यो सातादिनयता क्वारेन्टाइन रित्तिदै गएका छन् । शुक्रबारसम्म त्रियुगा नगरपालिकामा १ महिलासहित ९, ताप्ली र रौतामाई गाउँपालिकामा क्रमशः ६ महिलासहित २४ र १ महिलासहित ३३ जनाबाहेक अन्य तहका क्वारेन्टाइन खाली छन् ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले होम क्वारेन्टाइनमा बस्ने भने अझै १४ महिला र ४ सय ४६ जना पुरुष रहेको जनाएको छ । कार्यालय प्रमुख मोहन सुबेदीले कटारीमा १४ महिलासहित ३० जना, बेलकामा ३ सय ४१, त्रियुगामा ७९, ताप्लीमा ७ र लिमचुङबुङ गाउँपालिकामा ३ जना पुरुष होम क्वारेन्टाइनमा रहेको बताएका छन् । चौदण्डीगढी नगर र उदयपुरगढी तथा रौतामाई गाउँपालिकामा होम क्वारेन्टाइन बस्ने कोही नरहेको उनले बताए ।

उदयपुरमा ल्यावमा कोरोना परीक्षण गर्ने बिधिबाट २ सय ३८ महिलासहित १ हजार १३ को पिसिआर गरिसकिएको छ । जसमा सबभन्दा बढी त्रियुगाका ३ सय २२ महिला र ५ सय ६३ पुरुषको स्वाव परीक्षण गरिएको छ । चौदण्डीगढीका ६ महिला र ५५ पुरुष, कटारीका ४ महिला ३२ पुरुष, बेलकाका ६ महिला १० पुरुष तथा लिमचुङबुङ, रौतामाई र ताप्ली गाउँपालिकाका क्रमशः ८, ५ र २ पुरुषको पिसिआर परीक्षण गरिसकिएको छ । जसमध्ये रिपोर्ट आएको ६ सय २८ मा त्रियुगाका २ महिला र २६ पुरुषबाहेक कसैमा संक्रमण देखिएको छैन ।

नेगेटिभ देखिँए पनि पिसिआर परीक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएपछि विश्वसनीय नभएको भन्दै सातादिनसम्म रोकिएको दु्रत लक्षण परीक्षण (आरडिटी) विधिबाट उदयपुरमा ८२ महिला र ३ सय ९७ पुरुषको परीक्षण गरिएको छ । सबभन्दा बढी आरडिटी परीक्षण बेलका नगरपालिकाका २१ महिला र १ सय १७ पुरुषमा गरिएको छ । ताप्ली गाउँपालिकामा ३५ महिला र १ सय ५ पुरुष, त्रियुगामा १३ महिला र ७५ पुरुष, रौतामाईमा २ महिला, ४३ पुरुष, लिमचुङबुङमा ६ महिला र २६ पुरुष तथा कटारी नगरपालिकाका १० पुरुषको आरडिटी भएको सुबेदीले बताएका छन् । जसमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को प्रोटोकल अनुसार रिपोर्ट नेगेटिभ देखिए पनि १० प्रतिशत शंकास्पद हिस्साको पिसिआर परीक्षण पनि गरिएको छ ।

उदयपुरका त्रियुगामा २२, चौदण्डीगढीमा १७ र कटारीमा ३ बेड गरी जम्मा ४२ बेडको आईसोलेसन वार्ड बनाइएको छ । कोरोना संक्रमितलाई उपचार गर्न तीनवटै नगरपालिकामा क्रमशः ४, २ र १ आईसोलेसन अस्पताल निर्माण गरिएको स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति (फोकल पर्सन) लौकाजी राईले बताए ।

उनका अनुसार ८ वटै स्थानीयतहमा ४ सय ४३ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ । प्रदेश सरकारले कटारी नगरपालिका १ बेलसोतमा २ सय बेडको क्वारेन्टाईन बनाएको छ भने रौतामाईमा ६३, बेलकामा ४५, चौदण्डीगढीमा ३२, उदयपुरगढीमा २५, ताप्लीमा ३० र लिमचुङबुङमा २३ बेडको क्वारेन्टाईन निर्माण गरिएको छ । जिल्लाभर ३१ ठाउँमा क्वारेन्टाईन रहेको छ भने संख्याको हिसावले चौदण्डीगढीमा सबभन्दा बढी ९ वटा क्वारेन्टाईन छन् । ताप्लीमा ६, रौतामाईमा ५, लिमचुङबुङमा ४, उदयपुगढीमा ३ र कटारी तथा त्रियुगामा क्रमशः १/१ क्वारेन्टाईन रहेको राईले बताए ।

उदयपुरमा ३ जना दक्ष स्वास्थ्य जनशक्ति कन्सल्टेन्ट तथा क्रिटिकल केयर फिजिसियन जनशक्तिले काम चलाईराख्नु परेको छ । जिल्ला अस्पताल उदयपुरमा २ जना र कटारी अस्पतालमा १ जना कन्सल्टेन्ट कार्यरत छन् । त्यस्तै त्रियुगामा ५, कटारीमा ३ र चौदण्डीमा १ गरी ९ जना मेडिकल अफिसर कार्यरत छन् । फोकल पर्सन राईका अनुसार त्रियुगा र कटारीमा १/१ जना तालिम प्राप्त पब्लिक हेल्थ अफिसर छन् भने कम्तीमा ११ देखि २४ जनासम्म ८ वटै स्थानीयतहमा १ सय ३९ नर्सिङ पर्सनल खटाइएको छ ।

त्यसैगरी प्यारामेडिकल पर्सनल १ सय ५० तथा ताप्लीबाहेक सबै तहमा कम्तीमा १ जना ल्यावोरेटरी पर्सनल खटाइएको छ । त्रियुगा, चौदण्डीगढी र कटारीमा १/१ जना रेडियोलोजी पर्सनलले काम गरिहेका छन् भने बाँकी तहमा रेडियोलोजिस्ट छैनन् ।

पछिल्लो रिपोर्ट आएपछि अन्यत्र परीक्षण
उदयपुरमा भेटिएका २८ संक्रमितमध्ये शुक्रबारसम्म १४ जना पूर्ण रुपमा निको भएर डिस्चार्ज गरिएका छन् । सुरुका संक्रमित १३ मध्ये ६ जना भारतीय जमाति ३ दिनअघि नै डिस्चार्ज भएकोमा शुक्रबार विहान उदयपयुरकी १ महिलासहित थप ८ जना डिस्चार्ज भएको कोसी कोरोना विशेष अस्पताललाई उद्धृत गर्दै स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकी १४ मध्ये ६ जनामा दोस्रो परीक्षणले पनि संक्रमण कायम देखाएपछि थप १४ दिनको बसाईमा परेका छन् भने ८ जनाको तेस्रो रिपोर्टको पखाईमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तेस्रो रिपोर्टले पनि नेगेटिभ देखाए उनीहरु २/३ दिनभित्रै छुट्ने संभावना रहेकै बेला बुधबार मात्र दोस्रो पटक परीक्षण गर्न भुल्केकै ३ सय ३७ को संकलित स्वावको रिपोर्ट आईपुग्ने आसा लिइएको छ ।

भुल्केबाहेकमा पनि परीक्षण गर्न जिल्लाबासीको व्यापक माग भईरहँदा पछिल्लो रिपोर्ट आएपछि बाँकी ठाउँमा परीक्षण थालिने सुबेदीले बताए । संक्रमणको विन्दु भएकाले सबभन्दा पहिले त्यहाँ ‘क्लियर’ होस् भनेर परीक्षण दोहोर्‍याइएको भन्दै सुबेदीले शनिबार विहानसम्म रिपोर्ट आईसक्ने र त्यसपछिको परिदृष्य अनुसार अन्य ठाउँतर्फ परीक्षण केन्द्रित गरिने बताए ।

यसअघि भुल्केसँग सम्बन्ध र सम्पर्क भएको आशंकामा त्रियुगाकै डिएमगेट, जलजले, देउरी, बगाहा, मोथियाही र चौदण्डीगढीको शिवाई मस्जिद आसपासका सबैको स्वाब परीक्षण गरिसकिएको छ । अन्यत्र संक्रमित कतै नभेटिएको तर, भुल्केमा २८ जना भेटिएकाले त्यसैलाई केन्द्रित गर्न दोहोरो परीक्षण गरिएको स्वास्थ्यको भनाई छ ।

 

प्रकाशित: २६ वैशाख २०७७ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App