५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भुल्केमा पहिले जँचाइएका सबैको ‘रिकन्फर्म’ परीक्षण सुरु

भुल्केमा पुनः स्वाब संकलन गरिँदै । तस्बिरः महेश्वर

उदयपुर- नुरी मस्जिद र आसपासका २८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केमा ‘रिकन्फर्म’ गर्न बुधबार दोस्रो पटक परीक्षण थालिएको छ । वैशाख ५ देखि ९ गतेसम्ममा १२ भारतीयसहित २८ जना संक्रमित पुष्टि भएको सो ठाउँमा कोरोना भए नभएको प्रष्ट हुन पुनःपरीक्षण कार्य लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको टोलीले बुधबार विहानदेखि भुल्केमा पुनःपरीक्षण गर्न स्वाव संकलन गरिरहेको छ । स्वास्थ्य प्रमुख मोहन सुबेदीले यसअघि परीक्षण गरिएका भुल्केका सबैको दोहोर्‍याएर स्वाव संकलन गरी परीक्षण गर्न पठाइने बताए । ‘पहिले जत्ति जनाको स्वाब परीक्षण गरिएयो, ती सबैको दोहोर्‍याएर परीक्षण गर्न स्वाव संकलन गर्दैछौं’ सुबेदीले भने ‘एकपटक चेक गरेकाहरु सबैको रिकन्फर्म गर्न दोहोरो जाँच गर्न लागिएको हो ।’

मस्जिदका १२ भारतीयसहित १६ जमातिमा संक्रमण देखिएपछि मस्जिद, त्यस आसपास र छिमेकी बस्ती र उनीहरुको स्वास्थ्य परीक्षणमा खटेका स्वास्थ्यकर्मी तथा ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ खोज्ने सुरक्षाकर्मीसहित ३ सय ६२ को स्वाब पहिलो चरणमा संकलन गरी परीक्षण गरिएको थियो । जसमध्ये २८ संक्रमित भेटिएका हुन् ।

प्रदेश सरकारले पछिल्लो पटक पठाएको ३ सय ४० थान पिसिआर किट सबै भुल्केमै खर्च गर्ने योजना स्वास्थ्यको छ । ‘भुल्के कोरोनाको मुख्य बिन्दु भएकाले पहिले त्यहीँ केन्द्रित हुन्छौं’ सुबेदीले भने ‘भुल्के क्लियर भएमा अन्यत्र संक्रमण सर्ने संभावना कम हुने आँकलनसहित यो कदम चालिएको हो ।’ सुबेदीका अनुसार बुधबार ११ः३० बजेसम्ममा मुस्लिम २ सय ३७ र पहाडी समुदायका ५० को स्वाब संकलन भईसकेको छ । बाँकी ५० पहाडी समुदायको दिउँसोसम्म संकलन गरिसकेर साँझसम्ममा परीक्षण गर्न पठाउने उनले बताए ।

स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति (फोकल पर्सन) लौकाजी राईले यसअघि उदयपुरमा ६ सय ६९ को स्वाब संकलन भई परीक्षण भईसकेको छ । जसमा २८ संक्रमितको कोसी कोरोना विशेष अस्पतालको आईसोलेसनमा उपचाररत भईरहेकोमा १३ को दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ ।

१३ मध्ये ६ जनाको तेस्रो रिपोर्ट पनि नेगेटिभ देखिएपछि बुधबार विहान डिस्चार्ज भईसकेको अस्पताललाई उद्धृत गर्दै राईले बताए । बाँकी १५ को पनि दोस्रो परीक्षण रिपोर्ट आउने क्रममा रहेको र नेगेटिभ देखिए तेस्रो चरणको जाँच गरिने उनले बताए ।    

 

प्रकाशित: २४ वैशाख २०७७ ०६:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App