६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

सीमाबाट लुकेर नेपाल प्रवेश गर्ने क्रम रोकिएन

दिलबहादुर छत्याल/बिरा गडाल

धनगढी/बैतडी- भारतको मदकोटबाट सीमा नदी महाकाली तरेर  आएका बैतडीका १० र दार्चुलाका २ जनालाई गत हप्ता प्रहरीले नियन्त्रणमा लियो। बुधबार मात्रै दार्चुलाका नौगाड गाउँपालिकाका ९ जना नदी तरेर नेपाल पसेका छन्। उनीहरुलाई दार्चुला सदरमुकाम महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ। सीमानाका बन्द भएपछि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन। बैतडी र दार्चुला जिल्लाको सीमामा रोकिएका नेपाली दैनिक लुकीछिपी आउने गरेका छन्। उनीहरु मध्ये केहीलाई प्रहरी र स्थानीय तहले क्वारेन्टाइनमा राख्ने गरेको छ भने अधिकांश सोझै घर पुग्ने गरेका छन्।

लुकीछिपी आएका क्वारेन्टाइनमा नबस्दा कोरोना भाइरसको जोखिम बढदै गएको छ। सीमापारि भारतबाट महाकाली तरेर दैनिक आउने क्रम रोकिएको छैन सोमबार झुलाघाटबाट ट्युवमा नेपाल आउन खोजेका १३ जनालाई शसस्त्र प्रहरीले फर्काई दिएको छ। अहिले उनीहरु भारतीय क्वारेन्टाइनमा बसेका छन्। पारिका स्थानीयले रातीको समयमा महंगो शुल्कमा ट्युबबाट तराइदिने गरेको नदी किनारका स्थानीय बताउँछन्। अहिलेसम्म बैतडी, दार्चुला, बझाङ लगायत अन्य जिल्लाका भारतमा मजदुरी गर्दै आएका सयौंको संख्यामा  अवैध रुपमा नेपाल प्रवेश गरेका छन् भने अझै सीमा क्षेत्रका क्वारेन्टाइनमा करिब डेढ हजार नेपाली रोकिएका छन्।

भारतमा रोजगारी गरेर फर्कने क्रममा लकडाउनका कारण सीमामा रोकिएका नेपालीहरु रातारात महाकाली नदी तरेर घर फर्कने क्रम अझै रोकिएको छैन्। बैतडीको तल्लो स्वराड क्षेत्रमा रातिको समयमा महाकाली नदी तरेर घर फर्कनेहरुमा आसपासका बासिन्दा र अन्य जिल्लाका पनि रहेका छन्। गतसाता जिल्लाको पुरचौडी नगरपालिकाका २३ जना महाकाली तरेर फर्किएका छन्।

उनीहरु नेपाल आइसकेपछि मात्र थाहा हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुँवरले जानकारी दिए। महाकाली तरेर आएकाहरुलाई सकेसम्म क्वारेन्टाइनमै राखेको उनले बताए। उनले भने, ‘अहिलेसम्म पालिकामा यसरी आएकाहरुलाई सकेसम्म क्वारेन्टाइनमै राखेका छौं।’

महाकालीसँग सीमाना जोडिएका पञ्चेश्वर गाउँपालिकामा ४१ जना, शिवनाथ गाउँपालिकामा १६ जना डिलासैनी गाउँपालिकाका ७ जना लकडाउनको समयमा पालिकामा प्रवेश गरेको स्थानीय तहसँग तथ्यांक छ उनीहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राखिएको छ। ट्युवको सहारामा जोखिम मोलेर महाकाली तरेर आएकाहरुमा दोगडाकेदार गाउँपालिकामा २४ जना, सुर्नया गाउपालिकामा ६ जना जति रहेका सम्वन्धित पालिकाले जनाएका छन्।

यस्तै मेलौली नगरपालिकामा ४ जना रहेका र उनीहरुलाई क्वारेनटाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले बताए। पालिकाका टोलहरुमा निगरानी समूह बनाएको उनीहरुले आएको सूचना दिने र स्वास्थ्यकर्मी र सुरक्षार्मीहरुले खोजेर क्वारेन्टाइनमा ल्याउने गरेका उनले बताए।

जती कडाइ गर्दा पनि यसरी आउने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेयले बताए। पौडेर र पारिबाटै टयुब् ल्याएर उतैकाले सुटुक्कै छोडेर जाने गरेका उनको भनाइ छ। वारिका धेरै टयुब् प्रहरीले नियन्त्रणमा लिए पनि पारिबाटै छोड्ने समस्या भएको उनले सुनाए। नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर गस्ती भने गरिरहेको उनले बताए। 

लकडाउनको अवधिमा सीमा बन्द भएपछि बैतडीबाट मात्रै करिब दुई सय ५० जनाको उद्धार गरी सम्बन्धित स्थानीय तहमा पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी पाण्डेयले बताए। लकडाउनपछि मजदुरी नपाएपछि उनीहरु हिँडेर सीमासम्म आउने गरेका छन्।

झुलाघाट, बराकोट, सेरा, लाली, लेकमबाट ट्युवमा तरेर नेपाल आउन थालेका छन्। ‘तीनदिनदेखि खानासमेत पाइएन, ट्युवमा तरेर गत हप्ता गोठालापानी पुगेका बभाङ  चिरबित्थड गाउँपालिका–१ का गजेन्द्र बोहराले भने ‘भारतीय सुरक्षाकर्मीले  लखेट्न थाले, पुल बन्द हुँदा ट्युवमा आउन बाध्य भए।’ उनीसँग १५ जना सँगै आएका थिए।  लकडाउन  भएपछि अवैध रुपमा ट्युवमा जोखिम मोलेर वारी आउन थालेपछि समस्या बढन थालेको छ। जिल्ला प्रशासनले वारी पट्टी अवैध रुपमा सञ्चालन भएका ट्युव बन्द गरे पनि सीमा पारीका स्थानीय राती ट्युवमा तार्ने गरेका छन्। एक जना तारेको एक हजार रुपैयाँ भारु लिने गरेका छन्।

सीमा क्षेत्रका सबै ठाउँमा सुरक्षाकर्मी नहुँदा लुकीछिपी नेपाल आउन थालेका हुन्। लकडाउन भएपछि पनि सीमा पारीबाट आउने क्रम रोकिएको छैन। दैनिक २०/३० जना ट्युवमा तरेर आउने गरेको दशरथचन्द नगररपालिका–१०, बाराकोटका दिनेश चन्दले बताए।  सीमानाकाबाट अवैध प्रवेश गरेकाहरुबाट कोरोना भाइरसको जोखिम बढेपछि सीमा क्षेत्रमा शसस्त्र प्रहरीले नियमित गस्ती गर्दै आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

यसैगरि कैलाली र कंचनपुरको खुला सिमानामा पनि लुकिछिपी भारतवाट आउने क्रम नरोकिएको स्थानियले बताएका छन। गत बुधवार कंचनपुर पुनरर्वास वानं ११ डेरामा वस्ने कैलालीको माया चन्द काम बिशेषले धनगढी आएकी थिइन्। धनगढीवाट फर्कदा जव उनले डेरामा भारतवाट आएका छोरी कल्पना ठाकुर र दुई नाती नातिना देखिन उनी अच्चमित भैईन। सवै नाका बन्द गरेको सुनेकी उनले नाती नातीनी सहित छोरी कसरी आईन भनेर अचम्म लागेको उनले बताइन्। कोईला बोक्ने भारतीय ट्रकमा आएर सिमाभन्दा केही पर झरेर जंगलको बाटो हुँदै नेपाल प्रवेश गरेको उनले बताइन्। छोरी कल्पनाको श्रीमान पनि धनगढीमा रहेको र लकडाउनले खानपनि समस्या भएपछि उनी जंगलको बाटो हुँदै नेपाल आएकी थिइन्। आमा सहित स्थानियले बिरोध गरेपछि प्रहरीले ३ जनालाई नै भारतीय प्रहरी एस एस वी को जिम्मा लगाएर भारत फर्कायो।  

 कंचानपुर पुनर्वास नगरपालिका वानं ११ का बिकास घोडासैनीले अहिले पनि लुकिछिपी आउने क्रम नरोकिएको बताए।‘ती ३ जना भारतका भएकाले स्थानियले बिरोध गरेर भारत फर्काएका हुन, नेपालीहरु नै लुकिछिपी आएमा घर छिमेक कसैले बिरोध गर्देनन्, कसैलाई पनि थाह हुँदैन’उनले भने,‘कोईला बोक्ने ट्रकले ल्याएर सीमा भन्दा करिव ३ किलोमिटर टाढा रहेको बनगाउँ बजारमा उनीहरुलाई झारिदिन्छ, त्याहाँवाट कैलाली र कंचनपुरको जंगलको वाटो लुकेर प्रवेश गर्ने गरेका छन।’

कैलालीको बंगराकटान देखि कंचनपुर वानं ११ सम्म को सीमानावाट लुकिछिपी प्रवेश गर्ने गरेको अर्का वासिन्दा प्रेम थापाले बताए। कोईला ट्रकमा आउने भारतियहरु वाट पनि सिमा वस्तीमा जोखिम रहेको उनी बताउछन।‘दिनमा ८, १० कोईलाका ट्रक आउन्छन’उनले भने,‘एउटै ट्रकमा ३, ४ जना भारतीय हुन्छन, उनीहरु याहाँ खुलम खुला हिड्ने, घुम्ने गर्छन, यसले जोखिम भएको छ।’

कोरोना संक्रमण फैलिएको भारतवाट लुकिछिपी नेपाल प्रवेश गर्दा समुदायमा महामारी फैलिने जोखिम रहेको भन्दै यो रोकिनु पर्ने स्थानीयको भनाई छ। ऐश्वर्य बहुमुखी क्याम्पस कैलालीका प्रमुख धर्मदेव भट्टले धनगढी वानं १० नजिकवाट लुकिछिपी प्रवेश गरेको सुनिएको बताए।‘भारतवाट लुकिछिपी आउनाले याहाँ महामारी फैलिने खतरा छ’उनले भने,‘सीमामा कडाई गरेर यो रोकिनु पर्छ।’ सीमामा आईसकेका नेपालीलाई बैधानिक रुपमा प्रवेश गराएर २१ दिनमा क्वारेन्टाईनमा राखिनु पर्ने उनको भनाई छ। ‘सीमामा आईसकेका र अलपत्र परेकालाई प्रवेश गराएर क्वारेन्टाईनमा राखिनु  पर्छ तर सीमावाट लुकिछिपी आउनेलाई पुरै कडाईका रोक लगाउनु पर्छ,’उनी भन्छन,‘सीमामा कडाई नगरेमा याहाँ उच्च जोखिम छ।’

भारतमा कोरोनाको संक्रमण फैलिएका वेला तरकारी लगायत सामग्री ल्याउदाँ पनि जोखिम बढेको उनको भनाई छ। ‘नेपाली किसानका उत्पादन खेतमै नोक्सान भैरहेका छन् भने भारतबाट तरकारी भित्रिन दिएर जोकिम समेत भित्र्याइएको अवस्था छ, यो पनि रोक लगाइनु पर्छ’उनले भने।

कंचानपुर प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले भने सीमामा कडाई गरेको र गाउँलले पनि बिरोध गर्ने हुनाले सीमामा लुकिछिपी आउने क्रम नरहेको बताए।

 

प्रकाशित: २३ वैशाख २०७७ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App