२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा कोरोना संक्रमित बढ्दा दाङमा उच्च सतर्कता

दाङ, - बाँकेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि छिमेकी जिल्ला दाङमा कोरोना संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले पनि उच्च सतर्कता अपनाएको छ । जिल्ला प्रवेश गर्ने हरेक नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सबै नाकाबाट मानिस आवतजावत बन्द गर्नेगरी प्रशासनले नाकामा सुरक्षा निगरानी बढाइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार जिल्ला भित्रिने भारतीय नाका कोइलाबासमा थप सुरक्षा निगरानी बढाइएको छ । यो नाकामा पहिलेदेखि नै सुरक्षा सतर्कता अपनाइएको थियो । ‘पहिलेको व्यवस्थापनलाई थप कडाइ गर्नेगरी सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले भने । यसैगरी बाँकेसँग जोडिएका अमिलियामा पनि सुरक्षा निगरानी बढाइएको छ । यो क्षेत्र बाँके र दाङको सीमाक्षेत्र हो ।

बाँकेमा कोरोना संक्रमितको बढेसँगै यो नाकामा थप कडाइ गरिएको खड्काले जानकारी दिए । यो नाकामा सुरक्षाकर्मी थप गरिएसँगै स्वास्थ्यकर्मीको संख्या बढाइएको छ । ‘बाँकेसंग सीमा जुधेका कारण यो नाका अहिले संवेदनशील मानिएको छ,’ डिएसपी खड्काले भने, ‘यसर्थ यो नाकामा सुरक्षाकर्मीको संख्या बढाएर थर्मल गनसहितका स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।’

यसैगरी कपिलवस्तुसँग नजिकै रहेको कालाकाटे क्षेत्रमा पनि स्वास्थ्यकर्मीसहितको अर्को चेक पोस्ट खडा गरिएको छ । त्यस्तै पश्चिम दाङको खिलतपुरमा पनि अर्को विशेष चेक पोस्ट स्थापना गरिएको डिएसपी खड्काले जानकारी दिए । उनका अनुसार यी नाका क्षेत्रबाट नागरिकलाई आवतजावतमा पूर्ण रूपमा कडाइ गरिनेछ । अत्यावश्यकीय सवारीसाधनमा सवारलाई पनि स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेर मात्रै इजाजत दिनेछ । ‘बाँकेमा कोरोना संक्रमतिको संख्या बढेपछि दाङको क्षेत्र संक्रमणको थप जोखिममा परेको छ, यसर्थ दाङ प्रवेश गर्ने हरेक नाकामा सुरक्षाकर्मी बढाएर आवतजावतमा रोक लगाइनेछ,’ उनले भने । 

यसैबीच केही दिनअघि बाँकेको नेपालगन्जबाट घोराही आएका एक युवकको परिवारको कोरोना परीक्षण जाँचको प्रक्रिया थालिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती युवकसहित उनको परिवारका सातजनाको स्वाब परीक्षण थालिएको हो । केही दिनअघि मात्रै ती युवक नेपालगन्जबाट दाङ आएपछि उनको खोजी भएको थियो । 

यता भारतको महाराष्ट्रबाट आएका १० भारतीयको कोरोना परीक्षण नेगेटिभ आएको छ । उनीहरू केही दिनअघि भारतबाट दाङ आएका थिए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाश देवले परीक्षण गरिएका १० जनाकै रिपोर्ट नेगेटिभ आएको जानकारी गराए । स्थानीयले भारतीय आएको खबर गरेपछि प्रहरीले उनीहरूको खोजी गरी बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेको थियो । ‘लकडाउन हुनुपूर्व भारतबाट आएका धेरै नागरिक लुकेर बसेको भन्ने जानकारी स्थानीयले दिइरहनुभएको छ,’ डिएसपी खड्काले भने, ‘स्थानीयको जानकारीका आधारमा यस्ता नागरिकहरूको पहिचान गरेर आइसोलेसनमा राखिरहेका छौं ।’ 

प्रकाशित: २३ वैशाख २०७७ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App