१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

उपचारमा संलग्न स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा

मोरङ, - कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका ७५ जना स्वास्थ्यकर्मीकर्मीको टोली क्वारेन्टाइनमा रहेका छन् । केन्द्रमा खटिएका चिकित्सक, नर्ससहितकोे सो टोली क्वारेन्टाइनमा बसेको हो । 

उपचार केन्द्रमा रहेका संक्रमितको नियमित जाँच तथा रेखदेखमा रहेका चिकित्सक तथा नर्ससहित ७५ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा रहेको अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् । चैत २१ गतेदेखि उपचार केन्द्र सञ्चालन भए पनि वैशाख ५ गते कोरोना भाइरस संक्रमित भेटिएसँगै अस्पतालमा भर्ना सुरु भएको थियो । सो केन्द्रमा अहिले ३१ जना संक्रमितको उपचार भइरहेको छ ।

वैशाख ५ गते मध्यरातमा पहिलो पटक उदयपुरबाट १२ जना संक्रमित ल्याएदेखि स्वास्थ्यकर्मीको विशेष टोली खटिएको छ । हालसम्म केन्द्रमा प्रत्येक ६ दिनको अन्तरालमा २५ जनाको ३ वटा टोली संक्रमितको उपचारमा संलग्न रहँदै आएका छन् । 

संक्रमित भर्नासँगै पहिलो साता खटिएका चिकित्सकको सुरुआती एक साताको क्वारेन्टाइन समयको गणना नहुने भएकाले दोस्रो साताबाट मात्र उनीहरूको क्वारेन्टाइन समय जोडिने डाक्टर मिश्राले बताइन् । उपचारमा अग्रपंक्तिमा खटिएका २८ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन् भने उनीहरूको अवस्था सामान्य रहेको छ । उनीहरूको शुक्रबार स्वाब नमुना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । उदयपुरबाट पहिलो चरणमा ल्याइएका १३ जना संक्रमितको शुक्रबार साँझ  स्वाब संकलन गरिएको थियो ।  

आफू सुरक्षित रूपमा आफ्नै घरमा क्वारेन्टाइनको समय बिताउँदै दैनिक अन्य कामकाजमा व्यस्त रहेकी छिन् डाक्टर मिश्रा । उपचारमा संलग्न स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आए पनि सबैजना १५ दिनदेखि होटलको कोठाभित्र क्वारेन्टाइनमा रहेको उनले बताइन् । 

‘हाम्रो अवस्था सामान्य छ, सुरक्षाका दृष्टिले घर पनि नगई होटलमै बसेका छौं,’ डाक्टर दीपक सिग्देलले भने, ‘२४ घण्टाको एक सिफ्टमा ४ जना चिकित्सक र दुईजना सिनियर चिकित्सक २४सै घण्टा हुन्छन् ।’
सो उपचार केन्द्रमा उदयपुरका २८, झापाका २ र भोजपुरका १ जना संक्रमितको उपचार भइरहेको छ । सबै संक्रमितको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।

महानगरको सहयोग 
कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा विराटनगर महानगरपालिकाले १० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । महानगरप्रमुख भीम पराजुलीले स्वाब परीक्षणका लागि सुरक्षित तरिकाले नमुना संकलन गर्न उपचार केन्द्रलाई दुईवटा स्वाब बुथ हस्तान्तरण गर्दै अस्पतालको पिसिआर ल्याबको स्तरोन्नतिका लागि १० लाख रुपैयाँ उपलब्ध गराइने बताए ।

‘अस्पतालमा रहेको पिसिआर मेसिनका लागि आवश्यक पर्ने सामग्री तथा किटको अभाव देखिएपछि महानगरले रकम प्रदान गर्न लागेको हो,’ प्रमुख पराजुलीले भने, ‘स्वास्थ्यकर्मीको उच्च मनोबल कायम राख्न महानगर जुटिरहेको र अस्पतालको ल्याबसँगै यसअघि जेनेरेटर खरिदका लागि २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भइसकेको छ ।’

प्रकाशित: २२ वैशाख २०७७ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App