१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

अव्यवस्थित क्वारेन्टाइनले जोखिम बढ्यो

सिगास गाउँपालिकाको गाजरीको क्वारेन्टाइन । तस्बिरः बिरा/नागरिक

बैतडी, - जिल्ला प्रशासन कार्यालयले स्थानीय तहमा बनेका क्वारेन्टाइन एकिकृत गरेर प्रत्येक स्थानीय तहमा एक सय बेडको क्पारेन्टाइन बनाउने निर्णय गरिए पनि जिल्लामा अधिकांश स्थानीय तहले मापदण्ड अनुरुप व्यवस्थापन गर्न सकेनन् । नत एकिकृत क्वारेन्टाइन नै बनाएका छन् । अलगअलग ठाउँमा अव्यवस्थित ढंगका क्वारेन्टाइनले संक्रमणको जोखिम बढाएको छ । अव्यवस्थित क्वारेन्टाइनमा बस्दा कोरोना भाइरसको जोखिम बढेको छ । जिल्लाबाहिरबाट आएका र भारतबाट आएका एउटै क्वारेन्टाइनमा राख्दा झन जोखिम बढेको हो । एउटै शौचालय, एउटै धारा र साबुन, सेनिटाइजर प्रयाप्त नहुँदा जोखिम निम्ताएको हो ।

पुर्चौडी नगरपालिका–४ को महादेव मावि, बागामा राखिएका ६८ जनाले साबुनसमेत नपाएको गुनासो गरेका छन् । ‘सरसफाइका समाग्री, मास्क, सेनिटाइजर लगायत कुनै व्यवस्था छैन,’ क्वारेन्टाइनमा बस्दै आएका दीपक धानुकले भने, विद्यालयमा आपूmसँग भएको कम्मल ओढेर सुत्न बाध्य छौं ।’ चियाबिष्कुट, नास्ता समेत आफैले किनेर खान भनेपछि समस्या आएको उनीहरुले बताएका छन् । नगपालिकाले खानाको मात्र व्यवस्था गरेको छ । अन्य व्यक्तिगत सरसफाइका समानदेखि घरबाट ओढ्ने ओछ्याउने ल्याउनु परेको धानुकले बताए । विद्यालयमा एउटै शौचालय छ, एउटै पानीको धारा भएपछि संक्रमणको जोखिम बढेको छ । 

क्वारेन्टाइनमा हुनुपर्ने न्यूनतम मापदण्डसमेत नहुँदा समस्या भएको छ । नगरपालिकाले तीन सय ५० जनाको लागि क्वारेन्टाइनको व्यवस्था गरेको थियो तर साढे ८ सय भन्दा बढी जना आएपछि व्यवस्थापन गर्न समस्या भएको छ । भारतबाट आएका नागरिकलाई २९ ठाउँमा राखिएको छ । विद्यालय, खाली भवनमा उनीहरुको लागि बस्ने व्यवस्था गरिएको हो । स्थानीयस्तरमा जेजति उपलब्ध छ त्यही उपयोग गरेर राखेको नगरपालिकाका स्वास्थ्य संयोजक बिनोदकुमार कुँवरले बताए । कतिपय विद्यालयमा शौचालय र पानीको समस्या छ । भारतबाट ल्याउनु अघि कार्यपालिकाले सबैलाई क्वारेन्टाइनमा बसाल्ने र खानाबाहेक अन्य व्यवस्था स्वयम व्यक्तिले गर्ने निर्णय गरेको छ । क्वारेन्टाइनमा आवश्यक पर्ने समान खरिदको लागि पालिकाले टेण्डर खाले पनि सप्लायर्स नपाउँदा समान खरिद गर्न नसकिएको नगरपालिकाले जनाएको छ । अनुमान गरेभन्दा बढी आएपछि समस्या भएको नगरप्रमुख रणबहादुर कुँवरले बताए । विभिन्न समस्याको बावजुत संक्रमणको अवस्थालाई मध्यनजर गर्दे भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिएको उनले बताए । 

गत बिहीबार भारतबाट सीमा खोलेर एक हजार दुई सय ६४ जना बैतडीमा भित्रिएका छन् ति सबै क्वारेन्टाइनमा बसेका छैनन । बैतडीका मात्रै झुलाघाटबाट  सात सय ८४ र दार्चुलाबाट चार सय ७४ जनाको उद्धार गरिएका उनीहरु सबै जना क्वारेन्टाइनमा बसेका छैनन । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार एक हजार दुई सय ४६ क्वारेन्टाइन र एक सय १८ जना होम क्वारेन्टाइनमा बसेका छन् । अन्य जिल्लाबाट आएकाहरुलाई स्वास्थ्य कार्यालयको तथ्यांकले समेट्दा भारतबाट भित्रिएका सबै जना क्वारेन्टाइनमा बसेका छैनन । सीमापारिबाट ल्याउदा १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तसहित ल्याइएकाले सबै जनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी बताउँछन् ।

झुलाघाट नाकाबाट प्रवेश गरेका दशरथचन्द नगरपालिकाका १९ जना क्वारेन्टाइनमा नबसी सिधै घर गएका थिए । उनीहरुमध्ये २ जना मात्र नगरपालिकाले निर्माण गरेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । एक दिन घरमा बसेका उनीहरुलाई दोस्रो दिन क्वारेन्टाइनमा ल्याइएको छ । क्वारेन्टाइनमा बस्न आग्रह गर्दा पनि आफै घर गएपछि प्रहरीले खोजेर क्वारेन्टाइनमा ल्याएको दशरथचन्द नगरपालिकाका सामाजिक शाखा प्रमुख बिनोद चन्दले बताए ।

कोरोना संक्रमण रोक्नका लागि  सरकारले जारी गरेको लकडाउन अवधिमा अहिलेसम्म भारत लगाएतका तेस्रो मुलुकबाट बैतडी भित्रिएका  कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण नभएको पाइएको छ । तर उद्धारको नाममा संक्रमण भित्रिन सक्ने भन्दै स्थानीय चिन्तित भएका छन् । स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन मापदण्ड अनुरुप नहुँदा संक्रमणको खतरा कायम रहेको जिल्ला स्तरीय मानव अधिकार अनुगमन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।

अहिलेसम्म जिल्लाको अवस्था सामान्य रहेको भए पनि जिल्लामा हजार बढी मानिसहरू एकै साथ भित्रिएकोले चुनौती बढाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए । क्वारेन्टाइनमा नबसी घरमा जाँदा संक्रमण छ भने उनीहरू समाजमा मिसिएमा संक्रमणको जोखिम धेरै हुने उनले बताए । लामो समय भारतीय क्वारेन्टाइनमा बसेर आएकाहरु भन्दा सिधै आएकाहरुमा संक्रमणको संभावना भए पनि उता पनि लामो समय लकडाउन भएकाले संक्रमणको संभावना हुनसक्ने दशरथचन्द नगरपालिकाका स्वासथ्य संयोजक दुर्गादत्त जोशी बताउँछन् । न्यूनतम स्वास्थ्य सुविधासमेत नभएको जिल्लामा संक्रमण फैलिए नियन्त्रण गर्न कठिन हुने भएकाले रोकथामको उपायमै जोड दिनु पर्ने उनी बताउँछन् ।

जिल्ला भित्रिन पाएका सर्वसाधारणलाई  स्थानीय सरकारहरूले  उचित  निगरानी र व्यवस्थापन गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । क्वारेन्टाइन अवधि पूरा गरेर उनीहरुको परीक्षण गरेर मात्र घर पठाउने प्रजिअ पौडेलले जानकारी दिए । 

प्रकाशित: २२ वैशाख २०७७ ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App