बुटवल— कोभिड-१९ बाट बच्न परीक्षणको गती बढाउनु पर्ने जनस्वास्थ्यका विज्ञहरुले बताइरहदा प्रदेश नं. ५ मा भने प्रदेश प्रयोगशालामै पिसीआर जाँच रोकिएको छ । रुपन्देहीको भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसीआर टेष्टका लागि आवश्यक पर्ने आरएनए एक्स्ट्रयाक्सन किट नहुँदा कोभिड १९ को परीक्षण रोकिएको हो ।
प्रयोगशालामा जगेडा रहेका १० वटा किट सकिएपछि आइतबारदेखि पिसीआर टेष्ट रोकिएको प्रदेश प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले बताए । शुक्रबार रुपन्देहीका एक युवामा कारोना संक्रमण पुष्टि भएको थियो । तीनै युवाको प्रत्यक्ष सम्पर्कमा आएका १० जनाको पिसीआर टेष्ट गरेपछि प्रयोगशालाको काम ठप्प छ । किट सकिएपछि संक्रमित संग सम्र्पकमा रहेका अन्य ११ जनाको परीक्षण पनि रोकिएको छ ।
‘तत्कालकालागि भिटिएमको अभाव छैन । तर आरएनए एक्स्ट्रयाक्सन किट सकिएकाले प्रयोगशालामा पिसीआर टेष्ट रोकिएको छ’ डा गिरीले भने । संघमा यसअघि नै किटको माग गरी पठाएको भएपनि कहिले सम्म आउछ भन्ने जानकारी नआएको उनले बताए । गत चैत २३ गते देखि संचालन गरीएको प्रयोगशालामा जम्मा ३ सय ३४ वटा स्वाबको पिसीआर टेष्ट गरीएको छ ।
प्रदेश प्रयोगशालामा परीक्षण बन्द भएपछि क्वारेन्टाइनमा रहेका र भारतबाट आएकाहरुको स्वाब संकलन गरी काठमाडौ पठाउने तयारी भइरहेको डा गिरीले बताए । प्रदेश ५ मा भैरहवा सगै बाँकेको नेपालगञ्जमा भेरी अस्पाल र दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पनि प्रयोगशाला स्थापना गरी पिसिआर टेष्ट भइरहहेको छ । तर भेरी र राप्तीमा पनि एक÷दुइ दिनका लागि मात्रै पुग्ने किट उपलब्ध छ । तत्काल संघबाट थप किट नपठाइए पिसीआर टेष्ट रोकीन सक्ने सम्बन्धित अस्पतालका चिकित्सकले बताएका छन ।
गत शुक्रबार रुपन्देहीमा १ र बाँकेका एक जनामा कारोना संक्रमण देखिएको थियो । बाँकेमा तीनै संक्रमितको सम्पर्कमा आएका थप १५ जनामा आइतबार कोरोना पोजेटिभ देखिएपछि परीक्षणको गती बढाउनु पर्नेमा चिकित्सकहरुले जोड दिइरहेका छन् । भारतबाट आएकामा कोरोना पोजेटिभ देखिएकाले भारतबाट फर्केका सबैको पिसीआर परीक्षण गर्नै गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन ।
प्रदेश ५ मा बिभिन्न नाका हुँदै भारतबाट मात्रै २ लाख बढी नेपालीहरु प्रवेश गरेको सरकारी तथ्यांक छ । ती मध्ये पनि भारतमा कोरोना फैलिएपछि तीनै शहरबाट आएका ३५ हजार बढीको पिसीआर टेष्ट गर्नु पर्ने स्वास्थ्यका अधिकारीहरु बताउँछन् । तर प्रदेशमा अहिले सम्म जम्मा साढे ८ सय जनाको पिसीआर टेष्ट गरीएको छ । ४ हजार २ सय ४० जनाको र्यापिड टेष्ट गरीएको छ । क्वरेन्टाइनमै रहेका ७ हजार बढीको टेष्ट गर्न बाँकी छ ।
त्यसबाहेक पछिल्लो समय भारतबाट लुकिछिपी आएका र सुरुमै भारत तथा तेश्रो मुलुकबाट आएर सिधै घर गएकाहरुको आधिकारीक अभिलेख तथा परीक्षण कहिले हुने हो त्यसको झनै टुङ्गो छैन ।
प्रकाशित: २१ वैशाख २०७७ १५:०६ आइतबार