२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

इटहरीमा अस्पतालका लागि दबाबमूलक अभियान

इटहरी- मुलुक यतिबेला कोरोना भाइरसको उच्च संक्रमणलाई रोक्नका लागि लकडाउन भएको एक महिना वितिसकेको छ । कोरोनाको त्रास बढ्दो स्थिती छ । यही बेला इटहरीका सर्वसाधारणदेखि नागरिक समाजका अगुवा सुविधा सम्पन्न अस्पताल बनाउन दबाबमूलक अभियान चलाई रहेका छन् ।

हुन त यो बेला कुनै पनि प्रकारका माग राखेर दबाब दिनु उचित समय होइन । तर, कोरोनाको त्रास बढीरहदा विराटनर र धरानमा कोरोना अस्पताल नै बन्यो, त्यहाँ अरु सुविधा सम्पन्न अस्पताल छन् । इटहरीमा स्वास्थ्यको हिसावले पछि परेकाले र अहिलेको संकटको बेला झनै बढी महसुस भएपछि दबाबमूलक अभियानमा जुटेको अभियन्ता सन्दिप पौडेलले सार्वजनिक गरेका छन् ।

अहिलेको अवस्थालाई मध्यनजर गरेर यहाँका सर्वसाधारणदेखि नागरिक समाजका अगुवाले दबाब दिन थालेका हुन् । बिहीबारदेखि शुक्रबारसम्म दुई दिन इटहरीमा सिघ्र सुविधा सम्पन्न अस्पतालका लागि एसएमएस अभियान चलेको छ । यो एसएमएस संघीय सांसद सीताराम मेहता, विजयकुमार गच्छदार, प्रदेश सांसद सरस्वती पोखरेल, सर्वध्वज सावा, निलम बस्नेत र इटहरी उपमहानगरपालिकाका मेयर द्दारिकलाल चौधरीलाई दबाब दिन पठाउने अभियान चलेको हो ।

पहिलो दिन आफूलाई बग्रेल्ती एसएमएस आएको प्रतिक्रिया दिँदै प्रदेश सांसद लिलम बस्नेतले अहिले कोरोनाको महामारीविरुद्ध लडिरहेका बेला अस्पतालको माग लिएर अघि बढ्दा पुरा गर्न गाह्रो हुने भएकाले कोरोनाको संकट टरेपछि सक्रिय भएर लाग्नुपर्ने बताए । ‘अभियान एकदमै राम्रो छ, तथापी अहिले नै पुरा हुने अवस्था हुँदैन,’ उनले भने, ‘कोरोनाको माहामारी टरेपछि सवै संगठीत भएर जुुटौ, माग पुरा गर्नुपर्छ ।’

इटहरीमा पछिल्लो समय प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा विकास गरेको छ । यहाँ २४ औ घण्टा सेवा प्रदान गरिन्छ, तर विशेषज्ञ चिकित्सको अभाव छ। जसले गर्दा  नियमित खोप लिनुपर्ने, परिवार नियोजन सेवा र सानातिना स्वास्थ्य समस्या भएकाबाहेक सीमित सेवाग्राही मात्र इटहरी अस्पताल सम्झेर जान्छन् ।

इटहरी अस्पतालसँगै अरु निजी सातवटा अस्पताल र सातवटा पोलिक्लिनिक सञ्चालनमा छन् । झन्डै ८० को हाराहारीमा औषधि पसल सञ्चालनमा छन् । क्षेत्रफल र भौतिक पूर्वाधारको अभावले गर्दा इटहरीमा सुविधा सम्पन्न अस्पताल बनाउन समस्या हुँदै आएको अर्का प्रदेश सांसद सर्वध्वज सावाले बताए । ‘अहिलेको इटहरी अस्पतालमै विशेषज्ञ चिकित्सक ल्याउने कुरा सोच्न सकिएला,’ उनले भने, ‘तर, सुविधासम्पन्न छुटै अस्पताल निर्माणका लागि जग्गाकै समस्या हुनेछ ।’

यहाँका अस्पताल तथा स्वास्थ्य–संस्थाले आकस्मिक एवं जटील प्रकृतिका उपचारका लागि तत्काल विराटनगर वा धरान रेफर गर्ने गरेका छन् । ‘चुनाबताका भावनात्मक रुपले जनताको मत जित्ने नारा लगाईदो रहेछ,’ उनले भने, ‘इटहरीमा ऐलानी जग्गा पनि सखाप भएको छ, अर्कातिर स्तरीय चिकित्सक पनि आउन गाह्रै मान्छन् ।’ उनले जमीन प्राप्ति गरेर सवै संगठीत भएर लाग्दा मात्र सम्भव भएको प्रतिक्रिया दिए । इटहरीमा ठूला अस्पताल र आवश्यक उपकरणहरू नभएको कारण विशेषज्ञ चिकित्सकहरू सेवा दिन आउन खासै रुचि देखाउँदैनन् ।

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ ।  धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । तर संविधानमा उल्लेख भए पनि इटहरीको स्थानीय तथा सरोकारवालाहरू जनताले आफ्नो ठाउँमा आकस्मिक तथा गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेकोबारे खासै गम्भीर भएको पाइँदैन ।

प्रकाशित: १८ वैशाख २०७७ १५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App