१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भुल्केवासीमा त्रास कायमै, सबै गाउँलेको स्वास्थ्य जाँच गर्न माग

कोरोना उद्गमविन्दु भुल्के मस्जिद । तस्बिरः महेश्वर

उदयपुर- छिमेकी टोलका जमातिसहित दुई दर्जन बढी कोरोना संक्रमित भेटिएपछि त्रियुगा नगरपालिका ३ भुल्केकी सेम्टु राई आफूलाई पनि भाइरस सर्‍यो कि भन्ने डरले त्रसित छिन् । उनको परिवार मात्र होइन, छरछिमेकीलाई पनि त्यस्तै त्रास छाएको छ । श्रीमान, सासु, ससुरालगायत ६ जनाको परिवारमा कसैलाई अहिलेसम्म रोगको लक्षण नदेखिए पनि डरले भने उनीहरुलाई सताइरहेकै छ ।

भुल्केकै नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष ज्ञाननारायण ढकालको मनमा पनि संक्रमणको चिन्ताले घर गरिरहेको छ । सिंगो गाउँ आतंकित भइरहेका बेला उनीहरुमा डर लाग्नु स्वभाविक पनि हो । त्यसैले एकपटक स्वाब परीक्षण गर्न पाए ढुक्क हुन्थ्यो भन्ने लागेको छ उनलाई । ढकालका अनुसार १ हजार ५ सय हाराहारी जनसंख्या रहेको भुल्केमा मस्जिद क्षेत्र र अर्को गरी दुई बस्तीमा ५७ घरधुरी मुस्लिम छन् भने बाँकी अन्य समुदायको बसोबास छ । डेरा लिएर बस्ने परिवारको संख्या पनि झण्डै दुई दर्जन रहेको उनले बताए ।

गत वैशाख ५ गते स्थानीय नुरी मस्जिदका जमातिमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारले तत्कालै टोली खटाएर ६ गते मस्जिद आउजाउ गर्नेसहित आसपासका  ६० मुस्लिम तथा अन्य ९ को स्वाब संकलन गर्‍यो । भोलिपल्ट काठमाडौदेखि हेलिकोप्टरमा आएको अर्को सैनिक स्वास्थ्य टोलीले लगातार दुई दिन मस्जिद आसपासका थप १ सय ३४ मुस्लिमसहित २ सय ५२ को स्वाब संकलन गरेर लग्यो । भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डाको खेल मैदानमा स्वास्थ्य जाँच गर्न बोलाउँदा उनीहरु पनि दिनभरी लाइन बसे । तर, अन्तिममा स्वास्थ्य सामग्री सकिएको भन्दै फेरि गर्ने आश्वासन दिएपछि उनीहरु रित्तो घर फर्कनु परेको ढकालले बताए ।

संक्रमित फेला परेकै रातिदेखि प्रशासनले ‘सिल’ गरेको ‘अघोषित कप्mर्यु’ ले घरबाहिर निस्कन र टोलभित्रै आउजाउ पूर्णरुपमा बन्द छ । यस्तो बेला हुँदा घरीघरी टोलमा आउने स्वास्थ्य टोली, प्रशासन र जनप्रतिनिधिसँग आफूहरुको पनि परीक्षण गर्न उनीहरुले आग्रह गर्दै आएका छन् । तर, अहिलेसम्म परीक्षण नहुँदा त्रासले मन गह्रुँगो भइरहेको डेरा लिएर बस्दै आएकी पिचुङ राई बताउँछिन् । ‘हाम्रो पनि स्वास्थ्य जाँच गरे हुन्थ्यो भनेको खोई गर्दैनन्’ उनले भनिन् ‘अहिलेसम्म विरामी भइएको छैन तै पनि डर लागिरहेको छ ।’

पछिल्लो १० दिनयता कोभिड १९ को ‘इपिसेन्टर’ बनेको भुल्केमा सबै गाउँलेको  स्वास्थ्य जाँच गर्न पाए गाउँलेमा छाएको एकखालको त्रासको अन्त्य हुने अर्का स्थानीय हरि दाहाल बताउँछन् । देशभरीमै सबभन्दा धेरै संक्रमित भेटिएको ठाउँका सबैको स्वास्थ्य जाँच गराउनुपर्नेमा त्यसप्रति कसैको ध्यान नगएकोमा उनको दुखेसो छ ।

स्थानीय टोल विकास संस्थाका सल्लाहकार यदुप्रसाद ढकाल छिमेकमै २८ संक्रमित फेला परेको हुनाले सबै गाउँलेको राँटो नविराई स्वास्थ्य परीक्षण गर्नुपर्नै सुझाउँछन् । स्रोत साधनको सीमिततालाई हेरेर मस्जिदलाई मात्र केन्द्रित गरी परीक्षण गरिनु ठिकै देखिए पनि अब त गाउँलेको पनि परीक्षण गर्नुपर्ने उनको सुझाव छ । स्वास्थ्य जँचाईसकेकाहरु ढुक्क भए पनि नजँचाएकाहरुमा झाँगिएको त्रासको मात्र घटाउन पनि बाँकी गाउँलेको स्वास्थ्य परक्षिण गर्नुपर्ने उनको माग छ ।

त्रियुगा ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले सबै गाउँलेको स्वास्थ्य जाँच गराउन माग गरे पनि सामग्री अभावले हुन नसकेको बताए । उनका अनुसार सुरुमा मस्जिदका धर्मप्रचारकमा संक्रमण देखिएकाले प्राथमिक्ता दिएर मस्जिद आउजाउ गर्ने र आसपासकाहरुको परीक्षण गरिएको हो । उनले भुल्केमा ५७ घर मुस्लिमबाहेक ३ सय ५ घरधुरी र डेरा लिएर बस्नेको परिवार संख्या २२ रहेको बताए । सुरुमा सबै गाउँलेको जाँच गर्ने भनिएकोमा सामग्री अभावले जिल्ला कोरोना रोकथाम तथा प्रतिकार समितिको निर्णय अनुसार संभावित संक्रमितको मात्र जाँच गर्दा गाउँले छुट्न गएको वडाध्यक्ष चौधरीले बताए । तर, केहीदिनभित्रै गाउँलेको स्वास्थ्य जाँच गर्ने विषयमा छलफल भईरहेको उनले बताए ।

स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले तत्काललाई सामग्री अभाव भएकाले संभावितहरुको जाँच पहिले गरेको र थप सामग्री आउनेबित्तिकै बाँकी भुल्केबासीको परीक्षण थालिने बताए । उनका अनुसार अहिलेसम्म भुल्केका ३ सय २१ मध्ये २ महिलासहित २८ बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ । मस्जिदका १२ भारतीयसहित १६ जमाति, मस्जिद आसपासका गाउँले र सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी सबैको रिपोर्ट नेगेटिभ आएको सुबेदीले बताएका छन् ।

 

प्रकाशित: १६ वैशाख २०७७ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App