२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दीर्घरोगीलाई गाउँपालिकाको निःशुल्क औषधि

नियमित औषधि सेवन गरिरहेका बिरामीलाई औषधि प्रदान गर्दै दिप्रङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई । तस्बिर : नागरिक

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका बिरामीलाई आवश्यक औषधि वितरण सुरु गरेको छ । जारी ‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका गाउँपालिकाभित्रका बिरामीका लागि औषधि खरिद गरेर ल्याएर घरैमा पुर्‍याएर वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

ब्लड प्रेसर, सुगर, यूरिक एसिड, मुटु रोग, ग्याँस्ट्रिक, अल्सर, पिसाव पोल्ने लगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका ३०८ जना बिरामीका लागि १ लाख ५ हजार बराबरको औषधि ल्याएर शुक्रबारदेखि वितरण सुरु गरिएको हो । पहिलो दिन नियमित औषधि सेवन गरिरहेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका बिरामीलाई औषधि वितरण गरिएको छ ।

स्थानीय स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयं सेविकामार्फत सिफारिस भएर आएको बिरामीको नाम, औषधिको नाम र मात्राका आधारमा बिरामीलाई १५ दिन पुग्ने औषधि वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘कुन ठाउँको बिरामीले कुन रोगको, कुन कम्पनीको, कति एमजीको औषधि खाइरहेको छ भन्ने रेडर्क छ,’ अध्यक्ष राईले भने, ‘सोही आधारमा स्वास्थ्यकर्मीमार्फत औषधि वितरण सुरु गरिएको हो ।’ अन्य वडाका बिरामीलाई स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविकामार्फत औषधि वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

नियमित औषधि सेवन गरिरहेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा ८० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा ३३ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा ११ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा ६७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा ३७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा २५ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा ५५ जना बिरामीलाई निशुःल्क औषधि उपलव्ध गराउन थालिएको हो । ‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा अधिकांश बिरामीको औषधि सकिन लागेको अवस्थामा गाउँपालिका आफैले औषधि ल्याइदिएको जनाएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैको ध्यान केन्द्रित भइरहेको अवस्थामा रुघाखोकी, झाडापखाला, ज्वरो लगायतका मौसमी महामारी फैलिने खतरा पनि उत्तिकै भएको भन्दै स्वास्थ्य संस्थालाई ५ लाख बराबरको जगेडा औषधि खरिद गरेर प्रदान गरेको गाउँपालिकाले पुःन नियमित औषधि सेवन गरिरहेका सर्वसाधारणलाई निःशुल्क औषधि ल्याइदिएको हो । ‘अहिले हाम्रो ध्यान कोरोना भाइरसतर्फ मात्रै केन्द्रित भइरहेको छ । यो बेला अन्य रोगसँग जुधिरहेका बिरामीलाई बिर्सनु हुन्न,’ अध्यक्ष राईले भने, ‘औषधि लिन जान नपाएका बिरामीलाई तत्कालका लागि १५ दिन पुग्ने औषधि ल्याएर वितरण सुरु गरेका छौँ ।’

 

प्रकाशित: १२ वैशाख २०७७ १६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App