४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

लकडाउनको एक महिना पुग्दा बल्ल कोरोना परीक्षण प्रयोगशालाका लागि अध्ययन थालियो

डडेल्धुरा सदरमुकाम तुफानडाडामा रहेको डडेलधुरा अस्पताल ।

डडेल्धुरा- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा संक्रमण फैलन नदिन गरिएको लकडाउनको एक महिना पुग्दा डडेल्धुरामा परिक्षणका लागी प्रयोगशाला स्थापना गर्न बल्ल अध्ययन थालिएको छ । सुदूरपश्चिम प्रदेशको मध्यभागमा रहेको डडेल्धुरामा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि अध्ययन सुरु भएको हो ।

संघीय सरकार अन्र्तगतको बिषेश विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालमा कोरोना परिक्षण ल्याब स्थापना हुँदा यहाँका पहाडी जिल्लाका लागि समेत सहज हुने भन्दै यहाँको स्थानीय निकायले गरेको पहलपछि बल्ल विज्ञहरूको टोलीले अस्पतालमा पुगेर सम्भाव्यता अध्ययन सुरु गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाईरोलोजिष्ट डा.श्रवणकुमार मिश्र नेतृत्वको टोलीले डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् । उनको प्रतिवेदन मन्त्रालयमा पेश भएपछि डडेल्धुरामा प्रयोगशाला निर्माणको काम सुरु हुनेछ।

संघीय सरकारले सुदूरपश्चिमको मध्य भागमा रहेको डडेल्धुरा अस्पतालमा कोरोना परीक्षणका लागि पिसिआर ल्याब स्थापना गर्ने योजना अनुुरुप अध्ययन सुरु गरिएको अस्पतालले जनाएको छ।

डडेल्धुरा अस्पतालको क्षमताका आधारमा प्रयोगशाला स्थापना जरुरी रहेको र प्रयोगशाला भएमा अन्य सेवाका लागि समेत सहजता हुने डडेल्धुरा अस्पतालका ल्याब इन्चार्ज ईश्वरीप्रसाद भुषालले बताए ।

अस्पतालमा पिसिआर ल्याब स्थापना भएपछि सुदूरपश्चिमका पहाडी जिल्लावासीका लागि उपचारमा निकै सहजता हुने र अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकहरुले समेत काम गर्न सक्ने उनले बताए। प्रयोगशाला स्थापना गर्न सके कोरोनाको मात्रै नभई अन्य मलिकुलर चेकजाँचका लागिसमेत सजिलो हुने ल्याब इन्चार्ज भुषालको भनाई छ ।

डडेल्धुरा अस्पताल सुदूरपश्चिम प्रदेशमा एक मात्रै संघीय सरकारको विशेषज्ञ अस्पतालअन्र्तगत रहेको अस्पताल हो । पाँच सय शय्याभन्दा बढीको क्षमता रहेकोले प्रयोगशाला स्थापना भएपछि अस्पतालले प्रदान गर्ने सेवामा समेत प्रभावकारिता हुने र यहाँका जनताका लागि सहज हुनेछ।

डडेल्धुरा अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि स्थानीय सरकारले संघीय सरकारसंग समन्वय गरिरहेको अमरगढी नगरपालिका डडेल्धुराका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए।

यसअघि लकडाउन भए लगत्तै गत चैत महिनामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला समन्वय समिति, दुई वटा नगर पालिका र पाँच वटा गाउँपालिका गरी सातवटै स्थानीय तहका प्रमुख तथा प्रतीनिधिको सर्वपक्षिय बैठकले डडेल्धुरामा कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गर्दै संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदूरपचिम प्रदेश मुख्य मन्त्रीको कार्यालयमा सम्भाव्यता अध्ययन गरी स्वीकृतीका लागि अनुरोध गरिएको थियो ।

 

प्रकाशित: ११ वैशाख २०७७ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App