२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

नगरको विपद व्यवस्थापन कोषमा ४१ लाख ४० हजार जम्मा गर्ने निर्णय

खोटाङ – जिल्लाको दिक्तेल पाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोषमा ४१ लाखभन्दा बढि रकम जम्मा गर्ने निर्णय गरेका छन्। नगर कार्यापालिकाको सोमबार सम्पन्न बैठकले १५ वडा रहेको नगरपालिकाकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट ४१ लाख ४० हजार रुपैयाँ रकम नगरपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो। 

नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष लगायतका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापत ९ लाख ७४ हजार, नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकबाट ४ लाख ५० हजार र नगरपालिकाभित्र कार्यरत सम्पूर्ण कर्मचारीबाट २ लाख १६ हजार रकम विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको हो। यस्तै, वर्षभरीका लागि जनप्रतिनिधि, कर्मचारीको भ्रमणभत्ता तथा बैठक भत्तावापत छुट्याइएको २५ लाख रकम पनि नगर पालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको मेयर दिपनारायण रिजालले बताए। 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाक्रममा आवश्यक जनशक्ती परिचालन, आवश्यक सामग्री खरिद, उद्धार तथा राहतका कार्यक्रम सञ्चालनका लागि विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले विपद व्यवस्थापन कोषमा नगद तथा जिन्सी सहयोग गरेर कोरोना विरुद्धको अभियानमा हातेमालो गर्न शुभेच्छुकलाई आव्हान गरेको छ। 

बैठकले अत्यावश्यक काममा बाहेक अन्य काममा कसैलाई पनि नगरपालिकाभित्र प्रवेश गर्न नदिने, नगर प्रवेश गर्ने जो कोहीलाई अनिवार्य १४ दिन क्वारेन्टीनमा राख्ने, हालसम्म बनेका क्वारेन्टीनलाई व्यवस्थित बनाउने, होम क्वारेन्टीनलाई व्यवस्थित गर्न वडाध्यक्षको संयोजकत्वमा निगरानी समुह गठन गर्ने, दिर्घरोगीको तथ्यांक संकलन गरेर औषधि व्यवस्थापन सहज बनाउने, किसानले उत्पादन गरेका तरकारीलाई नगरको संयोजनमा बिक्रीवितरणको व्यवस्था मिलाउने, महामारीकाक्रममा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीलाई शतप्रतिशत प्रोत्साहनभत्ता उपलव्ध गराउने लगायतका निर्णय गरेको छ। 

 

प्रकाशित: ९ वैशाख २०७७ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App