४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

र्‍यापिड डाइग्नोस्टिक टेष्ट जारी, सबैको रिपोर्ट ‘नेगेटिभ’

खोटाङ– खोटाङका दुई नगरपालिकाका २७ जनाको नोबेल कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत यता विभिन्न देशबाट घर फर्किएपछि क्वारेन्टीन र होम क्वारेन्टीनमा राखिएका हलेसी तुवाचुङ नगरपालिकाका २३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

कोरोना भाइरसको संक्रमण भए/भएको यकिन गर्नका लागि सोमबार गरिएको ¥यापिड डाइग्नोस्टिक टेष्टमा दुई नगरपालिकाका सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको हो । दुर्छिमस्थित स्वास्थ्यचौकीको क्वारेन्टिनमा राखिएका एक जनाको, स्वास्थ्यचौकी महादेवस्थानमा बनाइएको क्वारेन्टीनमा राखिएका एक जना तथा चैत यता विदेशबाट फर्किएका तीन जना सहित पाँच जनाको पिसिआर टेष्टका लागि नमूना संकलन गरेर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जनामध्ये २ जना भने र्‍यापिड डाइग्नोस्टिक टेष्टमा छुटेका छन् । दिक्तेलबाट तीन जनाको पिसिआर टेष्टका लागि नमूना संकलन गरेर पठाइएको छ । रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि होम क्वारेन्टीनमा राखिएका व्यक्तीमा कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउनका लागि जिल्लामा बैसाख ३ गतेदेखि सम्वन्धित पालिकामै पुगेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो ।

प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भए/नभएको परिक्षण गर्ने १२० वटा किट पठाएपछि विदेशबाट फर्किएका जिल्लाका १२० जना व्यक्तीको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तयारी गरिएको छ । ‘नेगेटिभ’ रिपोर्ट देखिए पनि १० प्रतिशतको नमूना संकलन गरेर परिक्षणका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने व्यवस्था मिलाइएको प्रजिअ पौडेलले बताए ।

यसअघि, केपीलासगढी गाउँपालिकाका ५ जना, ऐसेलुखर्क गाउँपालिकाका ५ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८ जना, खोटेहाङ गाउँपालिकाका २६ जना, जन्तेढुंगा गाउँपालिकाका २० जना र बराहपोखरी गाउँपालिकाका १ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएका भए पनि चैत यता घर आएका व्यक्तीको मात्र र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो । उनीहरु अधिकांशलाई होम क्वारेन्टीनमै राखिएका छन् ।

प्रकाशित: ८ वैशाख २०७७ १५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App