२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भुल्केमा थप १ सयको स्वाब संकलन

भुल्केस्थित सैनिक बाहिनीको चौरमा स्वाब परीक्षण गरिदै । तस्बिरः महेश्वर

उदयपुर- मस्जिदमा रहेका १२ भारतीयसहित १३ जना धर्म प्रचारकहरु शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएयता ‘कोरोना इपिसेन्टर’ मानिन पुगेको उदयपुर भुल्केमा सोमबार थप १ सय जनाको स्वाब परीक्षण गर्न पठाइएको छ । नेपाली सेनाको १८ नं. बाहिनी अड्डासमेत रहेको भुल्के मस्जिद आसपासका स्थानीय, सुरक्षाकर्मी तथा जनप्रतिनिधिसमेतको स्वाव संकलन गरी काठमाडौं पठाइएको हो ।

सैनिक मुख्यालयबाट आइतबार हेलिकोप्टरमार्फत आएको स्वास्थ्यकर्मी टोलीले दुई दिनमा २ सय ५२ को स्वाव संक्लन गरेर पठाएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यसअघि शनिबार प्रदेश सामाजिक विकास मन्त्रालय विराटनगरको स्वास्थ्य टोलीले ७९ को स्वाव संकलन गरी परीक्षणार्थ कोरोना अस्पताल लगिसकेको छ ।

आईतबारदेखि संकलन थालेको टोलीले सोमबार दिउँसोसम्म थप सयजनाको स्वाव लिऐको हो । मस्जिद आसपास भुल्केका सबै स्थानीयले परीक्षण गर्नुपर्ने माग गरे पनि नगरपालिका र स्थानीय प्रशासनले ६ सय हाराहारीको स्वाव परीक्षण गर्न भनेका थिए । तर, परीक्षण सामग्री सकिएपछि थपको स्वाव लिन नसकिएको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बतााए ।

सुबेदीका अनुसार सोमबार सयजनासहित भुल्केका ३ सय २१ को स्वाव संकलन भएको छ । आईतबार १ सय ५२ को संकलन गरिएको थियो भने शनिबार ६९ को । ११ भारतीय र १ नेपालीमा संक्रमण देखिएको भोलिपल्टै शनिबार मस्जिद आउजाउ गर्ने, संक्रमितसँग घुलमिल र सम्पर्कमा आएको ‘ट्रेसिङ’का आधारमा ६९ को ‘स्याम्पलिङ’ स्वाव संकलन गरिएको थियो ।

छुटेका मुस्लिम समुदायका बाँकीको स्वाव आईतबार संकलन गरिएको र सोमबार उनीहरुसँग भेटघाट र सम्पर्कमा आएका गाउँले, संक्रमितको पहिचान गर्ने, अन्तरवार्ता  र बयान लिने प्रहरी, अन्य सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिसमेतको स्वाव संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाडौंको छाउनी सैनिक अस्पतालका सेनानी (मेजर) विशेषज्ञ डा. नेतृत्वको टोलीले संकलन गरेको स्वाव हेलिकोप्टरमार्फत सोमबार साँझै काठमाडौं पठाइएको छ । आईतबार संकलित स्वाव स्वास्थ्यकर्मी आएकै हेलिकोप्टरमार्फत सोमबार विहान पठाइसकिएको छ ।

शनिबार विराटनगर पठाइएको स्वावको रिपोर्ट अझै आईपुगेको छैन । सोमबारभित्र रिपोर्ट आउने भनिए पनि अहिलेसम्म आईनपुगेको स्वास्थ्य प्रमुख सुबेदीले बताए । ‘आज आईपुग्छ भनेको आएन, भर्खरै बुझ्दा मेसिनमा खरावी आएकाले तयार भईसकेको छैन भनियो’ सुबेदीले भने ‘संभवत भोलिसम्ममा आईपुग्ला ।’ काठमाडौं पठाइएको स्वावको रिपोर्ट छिट्टै आउने आसा उनले गरेका छन् । विराटनगरको दाँजोमा छिटो र धेरै संख्यामा परीक्षण क्षमता भएकाले काठमाडौंबाट छिट्टै रिपोर्ट आउने उनले बताए ।
    
त्रास घटाउन दु्रत परीक्षणको तयारी
भुल्के मस्जिद कोरोना इपिसेन्टर मानिन थालेपछि त्रस्त भएका स्थानीयको मनोबल घट्न नदिन परीक्षण दायरा बढाउने तथा दु्रतगतिमा कोरोनाविरुद्ध अभियान चलाउने तयारी भईरहेको छ । त्रियुगा नगरपालिकादेखि प्रशासन, प्रहरी, सशस्त्र र नेपाली सेना हुँदै जनप्रतिनिधि सबै लागिमिली गरेर दु्रतगतिमा परीक्षण गर्ने मेलोमेसोमा जुटेका छन् ।

एकैचोटी १३ जनामा संक्रमण देखिएपछि ह्वात्तै माथि चढेको त्रासको पारो छिटो घटाउन मुख्यमन्त्री शेरधन राईदेखि त्रियुगा नगरप्रमुख बलदेव चौधरीसम्मले आत्मबल दलिरो पारेर घरमै बसी लकडाउनको पूर्ण पालना गर्न ढाडस दिएका छन् । आईतबार प्रदेशबासीको नाममा संबोधन गर्नुको तात्पर्य उदयपुरबासीकै मनोबल गिर्न नदिनलाई हो । मुख्यमन्त्री राईले प्रदेशबासीको स्वास्थ्य सुरक्षाको सम्पूर्ण जिम्मा लिन सरकार तयार रहेको र आवश्यक सुरक्षा उपकरणदेखि आईसियु, आईसोलेसन र क्वारेन्टाईन हुादै खाद्यान्नसम्मको व्यवस्था पर्याप्त गरिएको बताएका छन् ।

यता त्रियुगाका मेयर चौधरीले पनि शनिबारै एक विज्ञप्ती जारी गर्दै नगरबासीको स्वास्थ्य सुरक्षामा नगरपालिका हमेसा तम्तयार रहेको भन्दै हतास नहुन आग्रह गरेका छन् । उनले  भुल्केमा भेटिएका संक्रमितहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम भईरहेकाले उनीहरुसँग भेटघाट, घुलमिल र मस्जिद आउजाउ गर्ने स्थानीयको परीक्षण भईरहेको र बाँकी संभावित संक्रमितहरु रहेको स्थान पत्ता लगाएर तत्काल टोली परिचालन गरी परीक्षण कार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार संक्रमित भारतीयहरु कहाँकहाँ गए र को कोसँग भेटघाट र घुलमिल गरे भन्ने खोजी कार्यबाट धेरै कुरा खुल्दै गएको भन्दै उनीहरुको ट्रेसिङ अनुसार परीक्षण टोली खटाउने तयारी भईरहेको छ । मंसिर २५ गते जोगवनीबाट छिरेर मोरङ, सुनसरी, सप्तरी हुँदै फागुन २५ गते उदयपुर छिरेको ‘ट्राभल हिस्ट्री’ बताएका संक्रमितहरुले लकडाउन सुरु हुनुअघिसमम् मस्जिदमा रहँदा गरेको भेटघाट र गतिबिधि प्रहरीले पत्ता लगाईरहेको उनलेब ताए ।

स्थानीयहरुले भारतीयले ट्राभल हिस्ट्री ढाँटेको हुनसक्ने बताएकाले सोही अनुसार खोजी गर्दा डेढसय हाराहारीलाई परीक्षणको दायरामा ल्याउनुपर्ने देखिएको उनले बताए । सुरुमा चौदण्डीगढी ५ सुन्दरपुर शिवाईस्थित मुस्लिम बस्ती छिरेर गाईघाट, बगाहा, हडियालगायत ठाउँ पुगेको अनुमान अनुसार ट्रेसिङ गर्दै टोली खटाउन लागिएको प्रहरी भनाई छ ।

सदरमुकामबासीले परीक्षण कार्य छिटो छिटो गर्न आग्रह गरिरहँर्दा भुल्केसँग सीमा जोडिएका गाईघाट, मोतिगडा, मोथियाही, खैजनपुर, जोगीदह, त्रिबेणी, बोटेटोल, विसनपुर, बगाहा, जलजले, देउरी र बोक्से बस्तीबासी सशंकित छन् । मस्जिदनजिकै रहेको नेपाली सेनाको १८ नं. बाहिनी अड्डामासमेत संक्रमण खतराको आशंका बढे बमोजिम सेनाको स्वास्थ्य टोली परिचालन भएको हो ।

 

 

प्रकाशित: ८ वैशाख २०७७ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App