४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नियमित औषधि सेवन गर्ने बिरामीलाई गाउँपालिकाको साथ

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका बिरामीलाई घरैमा औषधि ल्याइदिने भएको छ । ‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका ३०८ जना बिरामीलाई गाउँपालिकाले आफै औषधि खरिद गरेर घरैमा ल्याइदिने तयारी गरेको हो ।

ब्लड प्रेसर, सुगर, यूरिक एसिड, मुटु रोग, ग्याँस्ट्रिक, अल्सर, पिसाव पोल्ने लगायतका समस्या भएका र नियमित औषधि सेवन गरिरहेका बिरामीलाई गाउँपालिकाकातर्फबाट औषधि ल्याइदिने तयारी गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

नियमित औषधि सेवन गरिरहेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा ८० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा ३३ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा ११ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा ६७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा ३७ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा २५ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा ५५ जना बिरामीलाई औषधि ल्याएर निशुःल्क प्रदान गर्न लागिएको हो ।

‘लकडाउन’का कारण औषधि लिन जान नपाउँदा अधिकांश बिरामीको औषधि सकिन लागेको अवस्थामा गाउँपालिकाले १५÷१५ दिन पुग्ने औषधि ल्याइदिन लागेको जनाएको छ । स्थानीय स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयं सेविकामार्फत सिफारिस भएर आएको बिरामीको नाम, औषधिको नाम र मात्राका आधारमा सोमबार कर्मचारीलाई औषधि खरिदमा पठाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैको ध्यान केन्द्रित भइरहेको अवस्थामा रुघाखोकी, झाडापखाला, ज्वरो लगायतका मौसमी महामारी फैलिने खतरा पनि उत्तिकै भएको भन्दै स्वास्थ्य संस्थालाई ५ लाख बराबरको जगेडा औषधि खरिद गरेर प्रदान गरेको गाउँपालिकाले पुःन नियमित औषधि सेवन गरिरहेका सर्वसाधारणलाई निशुल्क औषधि व्यवस्था गरिदिन लागेको हो ।

‘अहिले हाम्रो ध्यान कोरोना भाइरसतर्फ मात्रै केन्द्रित भइरहेको छ । यो बेला अन्य रोगसँग जुधिरहेका बिरामीलाई बिर्सनु हुन्न,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘नियमित औषधि सेवन गरिरहेका बिरामीसँग बढिमा हप्ता दिन पुग्ने मात्र औषधि बाँकी देखिएकाले आवश्यक औषधि ल्याउन कर्मचारी पठाएका छौँ ।’

प्रकाशित: ८ वैशाख २०७७ ०४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App