२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भारतीय संक्रमित भेटिएको भुल्केमा सैनिक टोलीद्वारा थप १३४ स्वाब संकलन

भुल्केस्थित सैनिक बाहिनीको चौरमा स्वाब परीक्षण गरिदै । तस्बिरः महेश्वर

उदयपुर- त्रियुगा नगरपालिका ३ भुल्केका यदुप्रसाद ढकाललाई कोभिड–१९ संक्रमणको चिन्ताले अहिले निकै सताएको छ । शुक्रबार मात्र गाउँकै मस्जिदमा बसेका १२ भारतीय धर्म प्रचारकसहित १३ जनामा संक्रमण पुष्टि भएपछि उनी मात्र होइन, सटकट बाटो हिड्दा १५ मिनटमा आईपुगिने सदरमुकाम गाईघाट, सोही वडाको मोतिगडा, सीमा जोडिएका २ नं.का मोथियाही, खैजनपुर, जोगीदह, १२ को त्रिबेणी, बोटेटोल, पुरानो गाईघाट, विसनपुरलगायत छिमेकी वडाहरु बगाहा, जलजले, देउरी र बोक्सेसँगै सिंगो जिल्लाबासीमा त्रास छाएको हो ।    

चैत १ गते मस्जिद आएका धर्म प्रचारकहरु लकडाउन सुरु हुनअघिसम्म भुल्केका बिभिन्न चोक, गल्ली र सडकका खुल्ला पसल घुम्ने, चिया खाने, चिनजान र परिचितसँग भेटघाट र घुलमिल गरेको प्रत्यक्ष देखेका स्थानीयमा उनीहरु संक्रमित भएको थाहा पाएपछि सन्त्रास हुनु स्वभाविक हो । अहिलेसम्म कहाँ कहाँ गए, को कोसँग भेटघाट र सम्पर्कमा आए भन्ने यकिन ‘कन्ट्याक्ट ट्रेसिङ’ नखुलिसके पनि लकडाउन हुनुअघिसम्म बाक्लो घुमफिर गरेको स्थानीयको भनाईले नगरबासीलाई थप सशंकित बनाएको छ ।

मस्जिदमा बस्नेहरु संक्रमित पाइएपछि भोलिपल्टै प्रदेश सरकारले पठाएको स्वास्थ्यकर्मी टोलीले आसपासका १ महिला, ५ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मीसहित ६९ को थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षण गर्न विराटनगर लगिकेको छ । सँगै उनीहरुलाई पनि कोरोना अस्पतला विराटनगरमै राख्ने गरी पठाइसक्यो । मस्जिद आसपासका अन्य स्थानीयको परीक्षण नेपाली सेनाको स्वास्थ्य टोलीले आईतबारदेखि सुरु गरेको छ । स्थानीयले शनिबार र आईतबार स्वाब संकलन गर्न आएका दुवै टोली र स्थानीय जनप्रतिनिधि तथा प्रशासन, प्रहरीसँग गाउँले सबैको परीक्षण गर्नुपर्ने माग गरिरहेका छन् ।

तर, शनिबार मस्जिद आउजाउ गर्ने तथा संक्रमितसँग भेटघाट र घुलमिल गर्नेलाई लक्षित गरी ‘स्याम्पलिङ संकलन’ मात्र गरियो । कम्तीमा ६ सयजनाको परीक्षण गर्नुपर्ने सुरुवाती माग गरेका स्थानीयले अहिले लगभग १५ हजार जनसंख्या रहेको पुरै भुल्केबासीको परीक्षण गर्नुपर्ने माग गर्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले अरु गाउँलेको परीक्षण दोस्रो चरणमा गर्ने आश्वासन दिए बमोजिम आईतबारदेखि सैनिक टोलीले थपको स्वाब लिन थालेको हो ।

मस्जिद आसपासमै बसोबास गर्ने एक मुस्लिम महिला कृषकबाट दैनिक तरकारी आपूर्ति गर्ने गरेको भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डामासमेत संक्रमणको खतरा हुनसक्ने आशंकाले सैनिक मुख्यालयबाटै स्वास्थ्यकर्मीको टोली आएर स्वाव संकलन थालिएको हो । आईतबार अपरान्ह हेलिकोप्टरबाट आएको छाउनी सैनिक अस्पतालका सेनानी (मेजर) डा. प्राची रायमाझी कमाण्डको टोलीले साँझसम्ममा १ सय ३४ को स्वाब संकलन गरेको बाहिनी स्रोतले जनाएको छ ।

भुल्के टोलविकास संस्थाका सल्लाहकार यदु ढकालका अनुसार सैनिक टोलीले मुस्लिम समुदायका १ सय ५३ र बाँकी अन्य समुदायको स्वाब संकलन गर्ने भनेको सबै संकलन गर्न भ्याएन । भुल्केमा ५१ घरधुरी मुस्लिम, १५ घरधकुरी चौधरी (थारु) समुदाय र झण्डै साढे ३ सय घरधुरी पहाडी समुदाय तथा डेरा लिएर बस्नेहरु छन् । भुल्केमै सेनाको बाहिनी अड्डा कार्यालय पनि छ भने सत्यवति मावि पनि रहे पनि लकडाउनपछि स्कुल बन्द हुनाले कोही संक्रमित नभएको अनुमान उनको छ । आईबारको स्वाव संकलनमा स्थानीयले आफुहरुको पनि गर्नुपर्ने माग गरे पनि टोलीले नभ्याएपछि अर्को दिन गर्ने आश्वासन पाएको उनले बताए ।

‘हामीलाई पनि चेकजाँच गरियोस् भनेर धेरैले माग गरे तर, आज भ्याइएन अब भोलि गर्ने भनेका छन्’ अर्का स्थानीय सिंह राईले भने ‘मस्जिदमा बसेका भारतीयहरु धेरै चलखेल गरेकाले  गाउँ नै संक्रमणको खतरामा छ, त्यसैले सबैको स्वाव परीक्षण गरियोस् भन्ने माग छ ।’ उनका अनुसार आईतबार परीक्षण टोली आएको खवर सुनेपछि गाउँलेहरु बाहिनी अड्डाअगाडिको मन्दिर परिसरको चौरमा भेला भएर स्वाब दिन लामबद्ध भए पनि धेरैले पालो पाउन नसकेर फर्कनु परेको छ ।

जिल्ला स्वास्थ्य अधिकृत मोहन सुबेदीले सैनिक टोलीले २ सय ५० को नमूना संकलन गर्ने भनिए पनि १ सय ३४ को मात्र गर्न सकेको बताए । उनका अनुसार टोली अपरान्ह हेलिकोप्टरबाट आईपुगेको भए पनि तयारी गर्दा दिउँसो ३ः४५ बजे मात्र काम सुरु गर्न थालेकाले दुई टोलीबाट पनि त्योभन्दा बढी गर्न सकिएन ।  

संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ खोजिदै
मस्जिदमा बसेका संक्रमित भारतीयहरु कहाँ कहाँ गए र को कोसँग भेटघाट र घुलमिल गरे भन्नेबारे खोजी कार्य भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताएका छन् । भारतबाट मंसिर २५ गते नै जोगवनी नाकाबाट छिरेर मोरङ, सुनसरी, सप्तरी हुँदै फागुन २५ गते मात्र उदयपुर छिरेको ‘ट्राभल हिस्ट्री’ बताएका उनीहरुले आफू मस्जिदमा मात्र बसेको बयान दिए पनि पत्यार नलागेर प्रहरीले खोजी कार्य जारी राखेको हो ।

स्थानीयले मस्जिदमा भारतीय नागरिक लुकेर बसेको सुराकी दिएपछि प्रशासन र स्वास्थ्यकर्मीसहित पुगेको प्रहरीले गत मंगलबार मात्र उनीहरु भारतीय भएको प्रमाण फेला पारेर दु्रत लक्षण परीक्षण (आरडिटी) गरेको थियो । मोरङका ४ सहित १६ जना मस्जिदमा बस्दै आएका उनीहरुको कोरोना लक्षण केही नदेखिएको र आरडिटी रिपोर्ट नेगेटिभ आए पनि पुनरयकिन गर्न स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि प्रहरीले उनीहरुबारे थप सोधीखोजी गरेको मगरले बताएका छन् ।

एसपी मगरका अनुसार उनीहरुले ढाँटेको हुनसक्ने भन्दै थप ‘ट्राभल हिस्ट्री’ पत्ता लगाउन तथा भेटघाट र घुलमिल गर्ने व्यक्तिहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ कार्य गर्दा आजसम्म १ सय २० जनाजत्तिको स्वाब परीक्षण गर्नुपर्ने देखिएको छ । सुरुमा उनीहरु आएको उदयपुरकै चौदण्डीगढी ५ सुन्दरपुरस्थित शिवाई मुस्लिम बस्ती, गाईघाटस्थित डिएमगेट र बगाहा, हडियालगायत ठाउँमा उनीहरु पुगेको अनुमानका आधारमा ट्रेसिङ भईरहेको एसपी मगरले बताएका छन् ।

ती ठाउँमा सोमबारदेखि नै स्वाब परीक्षण टोली खटाउने तयारी भईरहेको उनले बताए । खोजी कार्य जारी राख्दै संभावित संक्रमितको स्वास्थ्य परीक्षण कार्य पनि जारी राख्ने उनको भनाई छ ।

 

प्रकाशित: ७ वैशाख २०७७ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App