१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सल्यान हिँडेका मजदुर भन्छन् : घर त हिँडियो तर बाटोबाटै फर्काइयो

दुलेगौँडा (तनहुँ)- गाउँबाट बारम्वार फोन आईरह्यो।  आफन्तले जतिबेला पनि गाउँ फर्की भन्थे। यहाँपनि खाना नपाएर भोकै मर्नुपर्ने स्थिती थिएन। तरपनि श्रीमती र छोराछोरीको न्यास्रोले सताउँदा मजदुरी गर्न भिमाद आईपुगेका सल्यान बागचौरका राजेश केसीले शनिबार झोला भिरेर गाउँतर्फको बाटो तताए।  १० दिनसम्ममा गाउँ पुग्ने हिम्मतले पैदलयात्रा तय गरेर  लम्काएको पाईला एक घण्टा उकालो चढ्नेवित्तिकै रोकिनुपर्‍यो। स्याङजाको हरिनास गाउँपालिका प्रवेश गरेपछि त्यहाँका जनप्रतिनिधी र स्थानीयले अगाडि बढ्न दिएनन्। जोखिमपुर्ण यात्रा नगर्न अनुरोध गर्दै त्यहाँबाट अगाडि बढ्न नदिइएको हो।

'मरेपनि गाउँमा आफ्नै परिवारसंग मरिन्छ’, भन्दै निस्किएका राजेश फेरी जरेबरमै फर्किएका छन्। उनीसंगै सल्यानतर्फ पैदलै पुग्ने हिम्मत जुटाएर लम्किएका १९ जनाको टोली फर्कनुपरेको हो। जिल्लाको भिमाद नगरपालिका–८ क्याङदीबेसी खानेपानी आयोजनामा काम गर्न गत माघमा सल्यानको बागचौर र दार्माका २७ जना मजदुर आएका थिए।  तीमध्ये ७ जना पैदल जान नसक्ने भएपछि यहीँ बस्ने निधो गरे।

जरेबरमा बस्दै आएका उनीहरुले लकडाउन भएपनि गत २५ गतेसम्म काम गरिरहेका बताउँछन्। 'निर्माणका सामाग्री सकिएपछि काम रोकियो। उता गाउँबाट पनि परिवारले दिनदिनै फोन गर्न थाले। विदेश गएका समेत गाउँ आएका छन्। तिमीहरु किन आउँदैनौ भन्छन्’, राजेशले अगाडि थपे, 'भोकै मरेपनि गाउँमै मरौँला । बाँचे परिवारसंगै बाँचौँला भनेर हिँडेको। बिचबाटै यहीँ फर्कनुपर्‍यो।’

घरमा छोराछोरी र बृद्ध भएका बाबु आमाले साह्रै रोईकराई गरेर फर्किन खोजेका दार्माका टेकबहादुर थापाले बताए। उनले श्रीमतीलाई पनि मजदुरी गर्न यतै ल्याएका छन्। 'गाडीमा जानलाई पुग्ने खर्च छ।  गाडीमा जाने पास लिनलाई दमौली पनि धाइयो। मिल्दैन भनेर फर्काए।  हिँडेर भएपनि जान आँटेका थियौँ’, उनले अगाडि भने, 'यहाँ खाना बस्नको समस्या नभएपनि महामारी लागेको बेला परिवारको बेस्सरी याद आउँदो रैछ। कती बेला पुगुलाँ जस्तो हुन्छ। मन पोल्छ। ज्यान यता छ। तर, मनचाही  उतै गाउँमा।’

उक्त आयोजनामा कार्यरत मजदुरलाई भिमाद नगरपालिकाले १ सय ४ किलो चामाल, १२ किलो दाल,  नुन र खाने तेल १२/१२ पोका राहात उपलब्ध गराएको थियो। मजदुर बस्न मन नगरेपछि वडा कार्यालयले उनीहरुलाई सल्यानतर्फ पैदल जान सिफारिस दिएको थियो। 'राहात सामाग्री सकियो भने खबर गर्नु। खान बस्नको चिन्ता नलिनु। भखभेकै मर्न दिदैनौँ, नगरपालिकाले हेर्छ भनेका थियौँ। तर, उताबाट परिवारले फोन गरेर घर आउनु मात्र भन्दा रैछन्। जबरजस्ती गरेर जानखोज्नु भयो’ वडाध्यक्ष बुद्धीमान श्रेष्ठले भने।  घर जान नपाई फर्किएका उनीहरुलाई स्थानीय विद्यालयमा बस्ने व्यवस्था मिलाउने उनको भनाई छ। यस अगाडि ति मजदुर त्रिपालमुनी रात कटाउँदै आएका थिए।   लकडाउन अवधीभर भोकै बस्न नपर्ने वडाध्यक्ष श्रेष्ठको भनाई छ। 

 

 

प्रकाशित: ६ वैशाख २०७७ १६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App