५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

विदेशबाट फर्किएकाको आरडीटी तीव्र

चौतारा साँगाचोकगढी नगरपालिकाको बतासेमा विदेशबाट फर्किएकी युवतीको र्‍यापिड टेस्ट गरिँदै । तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सिन्धुपाल्चोकमा विदेशबाट फर्किएकाहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) लाई तीव्र पारिएको छ। जिल्लाका १२ वटै स्थानीय तहमा एकसाथ र्‍यापिड टेस्ट भइरहेको हो।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म विदेशबाट फर्किएका दुई सय १६ को आरडिटी बिधिबाट नमूना परीक्षण गरिएको छ। आरडीटी गरिएका सबैमा संक्रमण नपाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले बताए। ‘अहिलेसम्म संक्रमित भेटिएका छैनन्। सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने।

सातादेखि स्थानीय तहको स्वास्थ्य शाखामार्फत आरडीटी भइरहेको हो। सम्बन्धित वडाका स्वास्थ्य संस्था पुगेर चिकित्सक र प्राविधि टोलीले नमूना परीक्षण गरिरहेका छन्। विदेशबाट फर्किएकाले संक्रमण ल्याउने उच्च जोखिम रहेकाले पहिलो चरणमा उनीहरुको परीक्षण थालिएको चापागाईँले जानकारी दिए।

सरकारले चैत १ गतेयता विदेशबाट आएकाहरुको नमूना परीक्षण गर्ने निर्णय गरेको थियो। जिल्ला विपद् व्यवस्थापन समितिमा उपलब्ध स्थानीय तहमार्फत संकलित तथ्यांकअनुसार जिल्लामा सो समयदेखि विदेशबाट फर्कनेको संख्या तीन सय ५७ छ। धेरै भारतबाट फर्कनेहरु छन्। उनीहरुमध्ये अधिकांश लकडाउन सुरु भएपछि फर्किएका हुन्।

चौतारा–साँगाचोकगढी नगरपालिका र हेलम्बु गाउँपालिकाले पहिलो चरणको आरडीटी सकेका छन्। चौतारामा ६६ र हेलम्बुमा २८ नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। स्थानीय तहबाहेक चौतारा अस्पताल, बाह्रविसे, जलवीरे र मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रबाटसमेत र्‍यापिड टेस्ट भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

सनसिटीबाट फर्केका क्वारेन्टाइनमा
राजधानीको सनसिटी अपार्टमेन्टमा बस्ने र त्यहाँको सम्पर्कमा रहेर फर्केका ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ। पहिचानपछि प्रहरीले उनीहरुलाई प्रहरीको सहयोगमा क्वारेन्टाइनमा पुर्‍याइएको हो। उनीहरुलाई सुनकोसी र चौताराको क्षेत्रीय क्वारेन्टाइनको निगरानीमा राखिएको छ।

सनसिटीबाट फर्केका सबैको र्‍यापिड टेस्ट (आडीटी) विधिबाट गरिएको नमूना परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। उनीहरुको स्वाब नमूना थप परीक्षणका लागि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ। केही दिनअघि मात्र सनसिटीमा बस्ने दुई जनामा कोरोना संक्रमण देखिएको थियो।

 

प्रकाशित: ६ वैशाख २०७७ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App