५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

‘भरपर्दाे परीक्षण नहुँदा झन जोखिम’

वीरेन्द्रनगर- कर्णालीमा दुईवटा विधिबाट कोरोना भाइरसको नमुना परीक्षण भइरहेको छ । आरटी–पिसिआर र आरटीडी विधिबाट । आरटी–पिसिआर विधि केही ढिलो भए पनि आरटीडी विधिलाई द्रुतअर्थाात् छिटो नमुना परीक्षण हुने विधि भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी दुई विधिलाई तीन चरणमा व्याख्या गरेको छ ।

एउटाः आरटी–पिसिआर
एकदेखि सात दिनमा यसको संक्रमण छ भने पोजेटिभ दखाउँछ । त्यही नौदेखि १४ दिनसम्म पुग्दा पनि पोजेटभ नै देखाउँछ । १५ देखि ३९ दिनसम्म पुग्दा नेगेटिभको सम्भावना हुन्छअर्थात् कोरोना संक्रमण देखाउँदैन । यस्तो अवस्थामा बिस्तारै संक्रमण निको हुँदै जान्छ । यसले दैनिक १० देखि १५ वटासम्म स्वाब परीक्षण गर्न सक्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

अर्काेः आरटीडी
एकदेखि सात दिनमा यसको नेगेटिभ संक्रमण हुन सक्छ । तर एन्टीवडी उत्पादन नभएको अवस्थामा हुनसक्छ । त्यही नौदेखि १४ दिनमा पोजेटिभ पनि नेगेटिभ हुन सक्ने सम्भावना पनि हुन्छ । यो संक्रमण भएको र एन्टीवडी उत्पादन भएको अवस्था हो । यही १४ देखि ३५ दिनमा पुग्दा पोजेटिभ संक्रमणको कारण एन्टीवडी उत्पादन भएको छ । यसले १० देखि २० मिनेटमा एउटा व्यक्तिको नमुना परीक्षण हुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

यसको मतलब आरटीडीको परीक्षण त्यति भरपर्दाे मानिँदैन । आरटीडीमा पोजेटिभ देखिए पनि कोरोना भए नभएको अन्तिम रिपोर्टको लागि आरटी–पिसिआर नै गर्नुपर्छ । आरटीडीमा पोजेटिभ र नेगेटिभ देखिए ढुक्क स्थिति नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् । तर कर्णालीमा आरटीडी विधिबाट मात्र कोरोना परीक्षण गरिएर क्वारेन्टाइनमा बसेकालाई घर पठाइएको छ । यो पनि जोखिम हुने चिन्ता बढेको छ । ‘आरटीडी परीक्षण भरपर्दाे देखिँदैन,’ विद्यार्थी नेता तृसना हमालले भनिन्, ‘तर यहाँ आरटीडीलाई नै आधिकारिक मानेर हेलचक्राइ गरिएको छ ।’ उनले तत्कालको स्थिति थाहा पाउन आरटीडी परीक्षणसँगै आरटी–पिसिआर पनि गर्नु बताइन् ।

सामान्यरूपमा नलिएर गम्भीरतापूर्वक भरपर्दाे माध्यमबाट कोरोना परीक्षण हुनुपर्नै कर्णालीवासीको भनाइ छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट परीक्षण सहयोगका लागि आएका रामकृष्ण श्रेष्ठका अनुसार आरटी–पिसिआएरले जीवाणु पत्ता लगाउँछ । यो नै कोरोना परीक्षणको आधिकारिक हुन्छ । आरटीडी विधिले जोखिममा रहेको देखाउने काम गर्ने उनको भनाइ छ । ‘आरटी विधिबाट मात्रै कोरोनाको परीक्षण गर्दा जोखिम त हुन्छ नै,’ उनले भने, ‘रोजगारीका लागि भारत गएकाहरू ठूलो परिणाममा घर फर्किएकाले मास (भिड) कम गर्न आरटीडी विधिको प्रयोग गरिएको छ ।’ आरटीडीमा कोरोना पोजेटिभ देखिए पनि अन्तिम परीक्षणका लागि आरटी–पिसिआर नै गर्ने गरेको उनले जनाए ।

‘यदि कोरोना संक्रमण भएको व्यक्तिलाई आरटीडीले पोजेटिभ देखायो भने एकबाट अर्काेमा रोग सर्ने त भइहाल्छ,’ उनी भन्छन्, ‘स्रोत साधन कम हुँदा पनि सबैको आरटी–पिसिआर गर्न कठिन छ ।’ स्वास्थ्य सेवा निर्देशनालयका ल्याब इन्चार्ज ओम आचार्यले आरटीडी विधिले छिटो कोरोनाको नमुना परीक्षण हुने बताए । ‘अन्य रोगका लागि यो विधि राम्रो मानिन्छ,’ उनले भने, ‘कोरोना परीक्षणका लागि सुरुको अवस्था भएकाले पनि ढुक्क हुने स्थिति देखिएन ।’

भारतलगायतबाट आएका धेरैको स्वाब संकलनबाट पनि कोरोना पोजेटिभ नदेखिएको भन्दै उनले भने, ‘धेरै आत्तिनु पर्ने अवस्था छैन ।’ आरटीडी विधिबाट नमुना परीक्षण भएका पनि सम्पर्कमै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हाल कर्णालीमा आरटी–पिसिआर विधिबाट सुर्खेतमै एक सय ५६, काठमाडौंबाट दुई सय ९३ र सुदूरपश्चिमको धनगढीबाट ९९ जनाको कोरोनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै कर्णालीमा आरटीडी विधिबाट २२ सयभन्दा बढीको नमुना परीक्षण गरिएको छ । जसबाट मुगुमा एकजनामा कोरोना पोजेटिभ देखिएको छ । आरटी–पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

आरटीडी विधिले मात्र नभएर आरटी–पिसिआर विधिबाट पनि कोरोना भाइरसको नमुना परीक्षण गर्नुपर्ने मुगुको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताए । आरटीडी भरपर्दाे नभएकाले यसले ठूलो जोखिम निम्त्याउने उनको भनाइ छ । उक्त नगरपालिकामा भारतबाट आएका १० जनाको आरटीडी गरिएको छ । ती मध्ये एकजना बालकलाई ज्वरो आउनेलगायतका लक्षण देखाए पनि आरटीडी विधिले नेगेटिभ देखाएको नगर प्रमुख शाहीले जनाए । मुख्यमन्त्री, मन्त्रीहरू हेलिकोप्टरबाट जिल्ला–जिल्ला दौडधुप गर्नुभन्दा औषधि, स्वाब संकलन र संकलन भएका स्वाबलाई सम्बन्धित क्षेत्रमा लिन प्रयोग हुनु पर्ने भन्दै उनले भने, ‘स्वाब संकलन गरिए पनि यहाँबाट तत्काल स्वाब जुम्ला वा सुर्खेत पठाउन कठिन भएको छ ।’ कोरोनाको नमुना परीक्षणमा गम्भीरता नदेखाए जोखिम बढ्ने उनको भनाइ छ । आरटीडीमा लक्षण नदेखिएका व्यक्तिमा पनि कोरोना पोजेटिभ र लक्षण देखिएका व्यक्तिलाई नेगेटिभ देखाउँदा यो भरपर्दाे नभएको स्थानीयको भनाइ छ ।

यता कालीकोट खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसीप्रसाद पाण्डेले प्राविधिक कुराले पृष्टि गरेको कुरा विश्वास हुने हुँदा राम्रोसँग कोरोनाको नमुना परीक्षण हुनुपर्ने बताए । यता कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठले आरटीडीबाट ढुक्कको स्थिति नभएको बताए । आरटी–पिसिआरलाई नै थप गुणस्तरीय र प्रभावकारी बनाएर जानु पर्ने उनको भनाइ छ । ‘स्वास्थ्य साम्रगी अभाव होला,’ उनी भन्छन्, ‘अभावका नाममा गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट नागरिकलाई वञ्चित गराउनु हुँदैन ।’ आरटीडी भरपर्दाे माध्यम नभएको सरकारले बुझ्न जरुरी भएको भन्दै उनी भन्छन्, ‘यदि सरकारले बुझेको छैन भने बुझ्न पर्छ । यदि यसलाई हल्का रूपमा लिइयो भने ठूलो क्षति हुन सक्छ ।’ आरटीडी गरेकाहरूको पनि पुनः आरटी–पिसिआर गर्नुपर्ने उनको भनाइ छ ।

‘कहिले पोजेटिभ देखिएको नेगेटिभ देखियो भन्ने सुनिन्छ,’ सुर्खेतका बालाराम शर्माले भने, ‘कहिले नेगेटिभलाई पोजेटिभ देखायो भन्ने सुनिन्छ ।’ यसले नागरिकमा त्रास फैलाएको उनले बताए । पोजेटिभलाई नेगेटिभ र नेगेटिभलाई पोजेटिभ देखाउने आरटी–पिसिआर परीक्षण नै गर्नु पर्ने उनको भनाइ छ । अहिले सामाजिक सञ्जालहरू पनि आरटीडी विधिको विश्वसनीयता माथि प्रश्नहरू उठ्ने गरेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा करिब १० हजार बढी सर्वसाधारण भारतलगायतका अन्य देशहरूबाट घर फर्किएका छन् ।

प्रकाशित: ६ वैशाख २०७७ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App