२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

तबलिकी जमातमा सहभागी सप्तरीका दुईमा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

लहान- दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजिटिभ पुष्टि भएको हो।

'हामीले सात जनाको आरडीटी टेष्ट गर्दा पाँच जनाको रिपोर्ट नेगेटिभ र दुई जनाको पोजिटिभ आएको छ' गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले भने। सातै जनाको थ्रोट स्वाब लिएर पिसिआर टेष्टका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए। कोरोना पोजिटिभ दुबै जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ, उनले भने।

गत मार्च ८ र ९ तारिखमा उनीहरु नयाँ दिल्लीको निजामुदिन मस्जितमा आयोजित मर्कज(धार्मिक भेला)मा सहभागी भएर  जमाती(धर्म प्रचारक)को रुपमा सप्तरी फर्केका थिए। उनीहरु फर्केदेखि घरमै बसिरहेका थिए। घरमा बसिरहेका उनीहरु मर्कजबाट फर्केको सूचना पाएपछि स्थानीय प्रशासनले उनीहरुलाई  कोरोना परीक्षणका आग्रह गरेका थिए। हामीले सम्झाएपछि उनीहरुमध्ये सात जना मंगलबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा परीक्षणका लागि आएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरले बताए। एक जना परीक्षणका लागि आएनन्। सातजनाको परीक्षण पनि दुइ जनामा पोजिटिभ देखिएपछि उनीहरुको कन्टयाक्ट ट्रेसिङदेखि ट्राभल ट्रेसिङ सुरु गरिएको ठाकुरले बताए।

आठ जना जमातीहरु मध्ये खडग नगरपालिकाका तीन जना, राजविराज नगरपालिका, सुरुङ्गा नगरपालिका र तिलाठी कोइलाडी, विष्णुपुर र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका एक–एक जना रहेका छन्।

यसैबीच सप्तरीको डिमनस्थित मस्जिदमा भारत इन्दौरका ११ जना मौलाना भेटिएका छन्। उनीहरु लकडाउन हुन अघिबाटै उक्त मस्जिदमा बसिरहेको बताएका छन्। उनीहरुलाई मस्जिदमै क्वारेन्टाइन गरिएको सूचना अधिकारी आनन्द ठाकुरले बताए। उनीहरुको कोरोना परीक्षण गर्ने तयारी भैरहेको उनले बताए। यात्रा विवरण भारत भएकोले उनीहरुको परीक्षण नगरेसम्म मस्जिदमै क्वारेन्टाइनमा राखिने छ।

प्रकाशित: २ वैशाख २०७७ १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App