१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जसले कोरोना महामारीसँग लड्न सक्षम बनायो

अमेरिका – चीनको वुहान क्षेत्र कोरोना भाइरस(कोभिड–१९) ले आक्रान्त पार्दासम्म अमेरिकाले खासै चासो दिएको थिएन। त्यतिबेलासम्म पनि  राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरानालाई चाइनिज भाइरसको संज्ञा दिइरहेका थिए। 

अमेरिकामा कसैले कल्पना पनि गरेका थिएनन् कि यो भाइरसले अमेरिकालाई पनि तहसनहस बनाउला भनेर। सुरुआती चरणमा सरकारी तवरबाट पनि खासै चासो दिइएन। अहिले हालत अनियन्त्रित जस्तै छ। 

तर शरणार्थीको रुपमा अमेरिका पुगेर आप्रवासी जीवन बिताइरहेका नेपाली भाषी भुटनीहरु भने सुरूवातदेखिनै  कोरोनासंग लड्न तयार भएर बसेका थिए। कारण थिए दुई डाक्टर डा. दामोदर पौडेल र डा. सन्जु महतो। उनीहरूले समुदायका १४ जना नर्ससहितको ५० जनाकाे बहादुर 'ब्रेभ भोलुन्टर टीम' बनाएका थिए। सुरुआतमै सजगता अपनाएकाेले काेराेना जस्ताे महामारीसँग पनि लढ्न सक्षम भएकाे भुटनीज् कम्यूनिटी अफ सेन्टर ओहायोका कार्यकारी निर्देशक सुर्दशन प्याकुरेलले बताए।

डा. महतो र डा. पौडेलको पहलमा ३५ हजार बढी नेपाली भाषी भुटानी समुदाय बेलैमा सजग भए। ओहायोको कोलम्बस र सिनसिनाटीमा रहेका भुटानी समुदायले एप नै निर्माण गरेर कोरोनासंग जुधिरहेका छन्। शुरुमा कोरोनाको विषयमा जनचेतनामुलक कार्यक्रम गरेर त्यसबाट जोगिनका लागि अपनाउने सजकताको बारेमा स्थानीय रुपमा रहेका १४ जना नर्सलाई आवश्यक तयारीको तालिम दिइएकाे डा. महतोले बताइन्।

'भुटनीज रेस्पोन्स एसिष्टेन्स भोलुन्टर इफोर्ट' (ब्रेभ जसको अर्थ बहादुर हुन्छ) ले कोरोना संक्रमण भएमा कसरी रोकथाम र उपचार गर्ने भन्नेमा पुरै तयारी गरेका कारण अमेरिकाको सबैभन्दा ठूलो समूहमा रहेका उनीहरुले  अहिलेसम्म कुनै क्षति व्यहोर्नु परेको छैन। 

बेलैमा अपनाइएको सावधानीले आफूहरु अहिलेसम्म सुरक्षित रहेको समूहको नेतृत्व गरेका भुटनीज् कम्यूनिटि अफ सेन्टर ओहायोका कार्यकारी निर्देशक सुर्दशन प्याकुरेल बताउँछन्। 

समुदायमा विभिन्न ६ वटा 'ब्रेभ ग्राउण्ड, ब्रेभ वील, ब्रेभ नर्स, ब्रेभ डाक्टर र ब्रेभ फ्यामिली' समूह निर्माण गरी कोरोनासंग लडिरहेको निर्देशक प्याकुरेलले बताए। सो समूहमा व्यवस्थापन, डाक्टर, नर्स र फिल्डमा खटिने भोलुन्टरसहित ५० जना स्वयमसेवी रहेका छन्।

ब्रेभ समूहमा आवद्ध व्यक्तिहरुको फरक फरक भूमिका निर्वाह गर्दछन्। सबैले आआफ्नो भूमिका कम्प्यूटर प्राणालीमार्फत थाहा पाउँछन् र सोही अनुसार गर्दछन्। 

उनका अनुसार कोरोना संक्रमणको बारेमा समुदायको लागि कोलम्बस र सिनसिनाटीमा गरी २४ सै घण्टा सन्चालनमा आउने चारवटा फोन सेवा उपलब्ध गराइएको छ। जसलाई कुनै लक्षण वा शंका लागेमा फोन गरेर उनिहरुले आफ्नो अवस्थाको जानकारी दिने र नर्स समूहले कम्यूटरमा ती व्यक्तिको आवश्यक सूचना राखेपछि डाक्टरले उनिहरुसंग थप जानकारी लिएर अस्पताल लैजानु पर्ने वा घरमै बसेर उपचार प्रक्रियामा सहभागी हुने भन्ने निश्चत गरिन्छ।

अस्पताल जानु परे स्थानीय अस्पतालमा डा. दामोदर वा सन्जुले सम्पर्क गरी एम्बुलेन्स बोलाएर अस्पताल लैजाने व्यवस्थापन गर्ने गरेको डा. पौडेलले बताए। घरमा विरामी रहेका वा गाडी चलाउन नसक्नेहरुका लागि अत्यावश्यक औषधि वा खाद्य सामग्री किन्न परेमा भोलुन्टर परिचालन गरी कसलाई के आवश्यकता छ त्यहि अनुसार घरमै पुर्याउने व्यवस्था गरिएको उनले जानकारी दिए।

आशंका गरिएका विरामीलाई घरमै उपचार गरिन्छ र सेल्फ क्वारेन्टाइनमा राखिन्छ। यी सबै प्रक्रिया सहज रुपम गर्नका लागि कम्प्यूटर प्रणाली विकास गरिएको र त्यसैबाट सबै अपडेट लिने गरिएको उनले बताए। 

यही समूहमा विभिन्न सामान डेलिभरी गर्न १० जान भोलुन्टरले नियमित काम गर्ने गरेको निर्देशक प्याकुरेलले बताए। यसमा मानिसहरु जोडिदै 
गएको उनकाे भनाइ  छ। भोलुन्टर गर्नका लागि एप्लिकेसनमा लगइन गरेर निवेदन दिन सकिने र आवश्यकता अनुसार परिचालन गरिने प्रणालीको विकास गरिएको छ।

समुदायले आफ्नै स्रोतबाट शुरु गरेको यस अभियानमा 'कोलम्बस फाउण्डेसन'ले पनि १८ हजार डलर सहयोग गरेको प्याकुरेलले बताए। कोलम्बसमा 'पव्लिक हेल्थ डिपार्टमेन्ट'ले समेत भुटानी समुदायको कामलाई निकै प्रशंसा गर्ने गरेको डा. पौडेलले बताए। 

३५ हजार भन्दा ठूलो संख्यामा रहेका भुटानी सुमदायमा यतिखेर १४ परिवारका मानिसहरु संक्रमित भएकोले क्वारेन्टाइनमा रहेका छन्। उनिहरुलाई १४ दिनसम्म घरबाहिर ननिस्कन भनिएको छ। उनिहरुका लागि आवश्यक सबै कुरा किनेर घरमै पुर्याउने व्यवस्था  गरिएको छ। उनिहरु सबै खतरा मुक्त छन्। 

त्यहि मात्र होइन यतिखेर जो काम नभएर घरमा छन् उनिहरुले सीप अनुसार माक्स बनाएर सुमदायमा वितरण गर्न थालिएको छ। यो नमुना काम देखेर भुटानी सुमदाय रहेको नर्थ क्यारोलिना, टेनेसी र पन्सेलभेनियालगायत अमेरिकाको अन्य स्थानहरुमा पनि यस खालको काम गर्न प्रेरित हुन थालेका छन्।

‘यो उदाहरणीय कामबाट अमेरिकामा मात्रै होइन विश्वका जुनसुकै कुनामा रहेका समुदायले बेलैमा तयारी गर्दा यस्ता महामारीसंग लड्न सकिन्छ भन्ने विश्वास स्थापित गरेको छ। 'हरेक समस्याको लागि सरकारको मात्रै मुख ताक्नु भन्दा समुदायस्तरमा एकजुट भएर सक्ने काम आफै गर्न सकेको खण्डमा जस्तो सुकै समस्या समाधान हुन्छ भन्ने हामीले प्रमाणित गरेका छौं,’ निर्देशक प्याकुरेलले भने। अमेरिकामा ६० हजार भन्दा बढी नेपाली भाषी भुटानी रहेका छन्।

प्रकाशित: १ वैशाख २०७७ ०८:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App