१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बुधबारसम्म ११ सय ३३ काे कोरोना परीक्षण, ९९ जना आइसोलेसनमा

काठमाडौं- कोभिड-१९ को आशंकामा बुधबारसम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिएका हुन्। उनले कोरोना भाइरसका पोजेटिभ केससँग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमुना परीक्षण नेगेटिभ आएको बताए।

उनले कोरोना संक्रमणको पोजेटिभ देखिएका केसको अहिले सम्म ८४ प्रतिशत काम सम्पन्न भएको पनि बताए। डाक्टर देवकोटाका अनुसार, धनगढीको कोरोना पोजेटिभ देखिएका व्यक्तिको परिवार, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन भईसकेको र परीक्षणको क्रममा रहेको छ।

डाक्टर देवकोटाले महामारी नियन्त्रण तथा रोकथाममा कन्ट्रायाक्ट ट्रेसिङ अत्यन्तै महत्वपूर्ण भएकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम पोजेटिभ देखिएका व्यक्तिको परिवार तथा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर आवश्यकता अनुसार नमुना परीक्षण गर्ने गरिएको उल्लेख गरे। उनले धनगढीको कोरोना पोजेटिभको केसमा संकलित १२ जनाको नमुना परीक्षणको क्रममा रहेको जानकारी दिए। कोरोना भाइरसको आशंका गरिएका ९९ जना अहिले काठमाडौ लगायत विभिन्न प्रदेशका आइसोलेसन वार्डमा उपचाररत रहेको जानकारी पनि डाक्टर देवकोटाले दिए।

डाक्टर देवकोटाका अनुसार, काठमाडौ बाहिरको प्रयोगशाला विस्तारको काम तीव्र गतिमा भईरहेको छ। उनले पोखरामा परीक्षण सुरु भएको र ४ वटा परीक्षण भईरहेको, धरानमा १२ वटा नमुनाको परीक्षण प्रक्रियामा रहेको तथा हेटौडामा बुधबार साँझसम्म परीक्षणको काम सुरु हुने बताए।

उनले अहिले सम्म मन्त्रालयको निःशुल्क कल सेन्टरमा ६ हजार ९ सय भन्दा बढी कलहरु आएको तथा गत २४ घण्टामा आएका २ हजार ३ सय २३ वटा कलको सम्बोधन भईसकेको बताए।

प्रकाशित: १९ चैत्र २०७६ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App