२० आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

जलविद्युत् प्रवद्र्धकले तत्कालै बिजुलीको भुक्तानी नपाउने

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले कोरोना भाइरसको महामारीका  कारण निजि क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीलाई तत्कालै बिजुलीको भुक्तानी दिन नसक्ने जनाएको छ। प्राधिकरणको विद्युत व्यापार विभागले कोरोना भाइरसको महामारीको कारणले निजी क्षेत्रबाट सञ्चालित आयोजनाहरुको मिटर रिडिङ, मासिक बिल भुक्तानी लगायतका काम गर्न नसकिने तत्कालै भुक्तानी गर्न नसकिने बताएको हो।  प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनी बिजुली खरिद गरेवापत मासिक करिव एक अर्ब रुपैयाँ भुक्तानी गर्नु पर्ने हुन्छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर विद्युत् खरिद बिक्री सम्झौता पिपिएमा उल्लेखित काबु बाहिरको परिस्थिति उत्पन्न भएकाले  निजी क्षेत्रका जलविद्युत प्रवद्र्धक कम्पनीलाई बिल भुक्तानी सो सम्बन्धि अन्य कार्यहरु समयमा गर्न नसकिएमा काबु बाहिरको परिस्थितिका कारण दायित्व पुरा गर्न नसकिएको मानिने र क्षतिपूर्ति वा हर्जना बुझाउन नपर्ने व्यवस्था आकर्षित हुने सार्वजनिक सूचनामा उल्लेख छ।

प्राधिकरणले निजी क्षेत्रबाट करिव ८६ भन्दा धेरै जलविद्युत् प्रवद्र्धक कम्पनीबाट ६ सय मेगावाट बिजुली खरिद गर्दै आइरहेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का उपाध्यक्ष कुमार पाण्डेले प्राधिकरणको निर्णयले निजी क्षेत्रका जलविद्युत् प्रवर्धकहरु मर्कामा पर्ने बताए। 

‘निजी जलविद्युत् आयोजनाका प्रवद्र्धकको आम्दानीको स्रोत भनेको नै पिपिए सम्झौता बमोजिम आउने रकम हो। त्यो पनि अनिश्चितकालिन समयसम्मको लागि नदिने निर्णयले मर्माहत भएका छौं,’ उनले भने, ‘यही आम्दानीबाट कर्मचारीलाई तलब खुवाउने, आयोजनाको ऋण चुक्त्ता गर्ने र मर्मतसम्भारको लागि खर्च गर्नुपर्ने हुन्छ। त्यसैले प्राधिकरणलाई आफ्नो निर्णय पुर्नविचारको लागि अनुरोध गर्दैछौं।’

इप्पानका उपाध्यक्ष पाण्डेले असारअगावै जलविद्युत् आयोजना सम्पूर्ण  मर्र्मतसम्भार गर्नुपर्ने भएकाले भुक्तानी नरोक्न प्राधिकरणसँग अनुरोध गरे। ‘अहिलको बिषम परिस्थितिमा मिटर रिडिङ गर्न सम्भव नहोला त्यो ठिकै छ,’ उनले भने, ‘प्राधिकरणले अघिल्लो वर्षको भुक्तानीको आधारमा पनि आवश्यक रकम भुक्तानी गरेको खण्डमा उचित हुन्थ्यो। जसले निजी क्षेत्रका जलविद्युत् आयोजना पनि बाँच्ने वातावरण बन्थ्यो। त्यो हुन नसकेमा निजी क्षेत्रका जलविद्युत् आयोजना धरासायी हुने अवस्थामा छन्।’ 

निजी क्षेत्रले चालु आर्थिक वर्षसम्म ८६ वटा जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीले अहिले  ६ सय मेगावाट  मेगावाट बिजुली उत्पादन गर्दै आएको छ। बिजुली प्राधिकरणले खरिद गरेर राष्टिय ग्रिडमा जोडेको छ। गत आवमा कुल राष्टिय ग्रिडमा जडान गरिएको बिजुलीमध्ये निजी क्षेत्रले २९ प्रतिशत हिंस्सा ओगेट्दैं आइरहेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा सात अर्ब ५५ करोड युनिट (गिगावाट आवर) मध्ये प्राधिकरण मातहतका आयोजनाबाट दुई अर्ब ५५ करोड युनिट (३४ प्रतिशत) बिजुली उत्पादन भएको छ।
 
निजी उत्पादकबाट दुई अर्ब १९ करोड युनिट (२९ प्रतिशत) उत्पादन भएको थियो। भारतबाट करिब तीन अर्ब ४७ करोड युनिट (३७ प्रतिशत) बिजुली आयात गरेको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्राधिकरणले गत आर्थिक वर्षमा निजी उत्पादकबाट १४ अर्ब १३ करोड रुपैयाँ बराबरको बिजुली खरिद गरेको थियो। त्यसैगरी, छिमेकी मुलुक भारतबाट २१ अर्ब रुपैयाँको बिजुली आयात गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले निर्यात भने ३७ करोड रुपैयाँ बराबरको गरेको थियो।  विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमणले नेपालका निर्माणाधीन ६५ भन्दा धेरै जलविद्युत् आयोजना प्रभावित बनेका छन्। 

निर्माणको मुख्य सिजनमै कोरोना भाइरसको महामारी फैलिएपछि अधिंकाश आयोजनाको काम ठप्प छन्। अझै सरकारले कोरोना महामारी नियन्त्रणको लागि गत चैत १० गतेदेखि लकडाउन गरेपछि सबै आयोजना अहिले सुनसान जस्तै भएका छन्। मुलुकका अधिकांश जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी र कामदार प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएकोले जलविद्युत् क्षेत्रमा ठूलो असर पर्ने देखिएको होे। (इपान) का उपाध्यक्ष कुमार पाण्डेले कोरोना भाइरसकै कारण निर्माणाधीन १५ सय मेगावाटका जलविद्युत् आयोजना प्रभावित भएको बताए। निर्माणको मुख्य सिजनमा नै समस्या आएकाले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने सम्पूर्ण आयोजना सरेको उनले बताए।

प्रकाशित: १७ चैत्र २०७६ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App