८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना कहर रोक्न गाउँ–गाउँमा प्रहरी

सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न गरिएको ‘लकडाउन’ को बेवास्था गर्दै ग्रामीण क्षेत्रका स्थानीय घरबाहिर र भिडभाडमा निस्कन नछोडेपछि प्रहरीले गाउँ–गाउँमा गस्ति गर्न थालेको छ।

                कोरोना भाइरसबारे जानकारी दिँदै घरमै बस्न र भिडभाडमा ननिस्कन अनुरोध गर्दै प्रहरीले गाउँ गस्ति बाक्लो बनाएको हो। ‘जिल्लैभरका युनिटबाट गाउँ गस्ति गर्न प्रहरी टोली परिचालन गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले भने। गाउँ–गाउँमा लकडाउनको बेवास्था भएको पाइएपछि प्रहरी परिचानल गरेको उनले जानकारी दिए। डिएसपी काफ्लेका अनुसार लकडाउनको दोस्रो दिनबाटै गाउँ गस्तिमा प्रहरी परिचालन भइरहेका छन्।

                गाउँ पुग्ने प्रहरीले कोरोना भाइरसबारे जानकारी दिँदै सकेसम्म घरबाहिर ननिस्कन, भिडभाडमा नजान, माक्स प्रयोग गर्न सुझाउने गरेका छन्। लकडाउनकै दिनबाट जिल्लाका प्रमुख बजार क्षेत्र भने सुनसान छन्। बजार क्षेत्रमा लकडाउन दिनप्रतिदिन प्रभावकारी हुँदै गएको प्रहरीले जनाएको छ। सदरमुकाम चौतारा, बाह्रविसे, खाडिचौर, तातोपानी, जलवीरे, मेलम्ची लगायत प्रमुख बजार र राजमार्ग तथा सडक क्षेत्रका बजार भने सुनसान रहँदै आएका छन्। ती क्षेत्रमा खाद्यन्न, औषधी लगायत अत्यावस्यक सामाग्री किनमेल गर्ने फाट्टफुट्टबाहेक सबै गुप्तावासमा छन्।

                बजार र ग्रामीण क्षेत्रको दृश्य देख्दा लाग्छ, बजारवासी सचेत र गाउँवासी बेमतलवी देखिएका छन्। गाउँमा सँधैको झैँ चहलपहल देख्न सकिन्छ। चिया पसलमा भेला भएर कुरा गर्ने, मेलापात समूहमा सँगसँगै गर्ने, मजदुरीमा जाने क्रम रोकिएको छैन। त्यसमाथि ग्रामीण क्षेत्रमा यतिबेला हिउँदे धान रोपाईँ गर्ने, तोरी र आलु भिœयाउने चटारो छ। सहर र बिदेशमा रहेका आफन्त फर्केपछि झन् गाउँको रौनक दसैं, तिहार जस्ता चाडबाडको भन्दा कम देखिँदैन।

                कतिपय गाउँ निकै सचेत देखिएका छन् भने केही बेमतलवी। यस्तोमा गाउँ–गाउँबीच कतिपय बेला द्वन्द्वको अवस्था ल्याउन खोज्छ। हेलम्बु गाउँपालिकावासीले विदेशबाट आउने र बाहिरीमान्छे रोक्ने भन्दै बिहीबार मुख्य सडक र नाका–नाकामा रुख ढालेर तथा ढुंगामुडा थुपारेर अवरोधै सिर्जना गरे। बिपत्तिमा बिरामी बोक्ने एम्बुलेन्स र खाद्यन्न लगायत अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न हुने भन्दै घरमै क्वारेन्टाइनमा बसेर अवरोध नगर्न गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सार्वजनिक अपिल नै गर्नु परेको थियो।

                विदेशबाट फर्केका र चाहाना हुनेका लागि गाउँपालिकाको प्रत्येक वडामा दुईदेखि चारवटा पर्ने गरी पाँचदेखि १० बेड क्षमताका ४३ वटा क्वारेन्टाइन बनाउने तयारी गरेको अध्यक्ष शेर्पाले बताए। ‘विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवनमा क्वारेन्टाइन बनाउने तयारी निकै अघि बढिसकेको छ,’ उनले भने। ग्रामीण क्षेत्रमा लकडाउनका पूर्णपालना नहुँदा त्यसको दबाव गाउँपालिका र जनप्रतिनिधिमा थपिएको छ। त्यसैले लकडाउनलाई प्रभावकारी बनाउँदै कोरोना संक्रमण फैलन नदिँन स्थानीय तहले विभिन्न उपाय अघि सारिरहेका छन्।

                विदेशबाट फर्केका स्थानीय गाउँ सरकारका सबैभन्दा बढी चुनौती बनेका छन्। उनीहरु निर्धक्क हिँडिरहेका छन्। सेल्फ क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन्। सरकारले नेपाल लकडाउन गर्नुअघि विदेशबाट ठूलो संख्यामा स्थानीय गाउँ फर्केको अनुमान गरिएको छ। बिदेशबाट फर्किएकालाई क्वारेनटाइनमा राख्न वडाध्यक्षलाई उनीहरुको पहिचान र तथ्यांक संकलन गर्ने चटारो छ।

                त्यसो त गाउँमा माक्स, स्यानिटाइजर, साबुन पुग्न सकेका छैनन्। न्यूनतम स्वास्थ्य सावधानीका यी साधनको बजार क्षेत्रमै हाहाकार छ। केही गाउँमा नगन्य माक्स पुगे पनि स्थानीय प्रयोग गर्न हिच्किचाइरहेका छन्। यस्तोमा गाउँ सरकारले स्थानीयलाई होम क्वारेन्टाइनमा बसाउने र स्वास्थ्य सचेतना जगाउने कार्यलाई प्राथमिकता दिइ रहेका छन्। चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्र ५० हजार माक्स वितरण गरेको छ। जुगल गाउँपालिकाले पालिकाभित्रका सबै घरधुरीमा माक्स, सावुन र स्यानिटाइजर पु¥याउने अभियान सञ्चालन गरिरहेको अध्यक्ष होमनारायण श्रेष्ठले बताए। 

               

प्रकाशित: १५ चैत्र २०७६ १४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App