४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मी तयारी अवस्थामा

तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज- कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपालगन्जमा विशेष सतर्कता अपनाइएको छ। यसका लागि क्वारेन्टाइन, आइसोलेसन चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको छ। नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार स्थानीय लायन्स डेण्टल अस्पतालमा ४०, भेरी अस्पतालमा ६ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा करिब ५ शैयाको आइसोलेसन तयारी अवस्थामा छ। यस्तै स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरिएको छ।

सीमापारीबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा ल्याएर राख्ने, स्वास्थ्य जाँच गर्ने, शंकास्पद लक्षण देखिएपछि तत्कालै आइसोलेसन कक्षमा लगेर भर्ना गर्ने व्यवस्था मिलाइएको चन्दले बताए। ‘बाहिरबाट आएका व्यक्तिलाई सुरुमा क्वारेन्टाइनमा राखिन्छ, त्यहाँ स्वास्थ्य जाँच गर्दा कुनै शंका लाग्यो भने आइसोलेसन लगेर भर्ना गर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने। क्वारेन्टाइनमा चिकित्सक, स्वास्थ्यकर्मीसहित आवश्यक पर्ने सबै व्यवस्थापन मिलाइएको छ।

चन्दका अनुसार क्वारेन्टाइन अहिले कोही पनि व्यक्ति बसेका छैनन्। भारतबाट घर फर्केका व्यक्तिको सोमबार उद्धार गरी क्वारेन्टाइनमा ल्याएर राखिएको थियो। ती मध्ये केही क्वारेन्टाइनको पर्खाल नाघेर भागेका थिए, भने बाँकीलाई स्वास्थ्य जाँच पश्चात बेलुका घर पठाइएको थियो। भेरी अस्पताल नेपालगन्जका डाक्टर र स्वास्थ्यकर्मीको एउटा टिम नै बनेको छ।

आइसोलेसनमा अस्पतालकै चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन भएका छन्। अस्पतालका फिजिसियन डा. राजन पाण्डेका अनुसार भेरी अस्पतालको आइसोलेसनमा मंगलबार दिउँसोसम्म एक जना व्यक्ति मात्र भर्ना छन्। ‘भेरीको आइसोलेसनमा एक जना शंकास्पद बिरामी भर्ना हुनुहुन्छ, उहाँको स्याम्पल आज पठाउँदैछौं,’ उनले भने। कोरोना भाइरस परीक्षण गर्ने व्यवस्था नेपालगन्जमै नहुँदा कठिनाई भइरहेको चिकित्सक बताउँछन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भेरी अस्पताल र लायन्स डेण्टल अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइन सञ्चालनमा आइसकेको बताए। क्वारेन्टाइनका लागि चिकित्सक, स्वास्थ्यकर्मी लगायत आवश्यक सबै व्यवस्था मिलाइएको दाबी गरे।

 

 

प्रकाशित: ११ चैत्र २०७६ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App