लहान- भारतको अहमदाबादबाट मजदुरी गरी पर्केका दुई युवकलाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा राखिएको छ। कोरोना प्रभावित क्षेत्र हिँडडुल गरी आएका उनीहरुलाई आइसोलेसनमा राखेर परिक्षणबाट कोरोनाको संक्रमण नभएको पूर्ण पुष्टि गरिसकेपछि मात्र घर फर्काइने छ।
हमदाबादबाट आएका दुई युवालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका डाक्टर कुलदिप पण्डितले बताए। पूर्ण पुष्टिका लागि उनीहरुलाई आइसोलेसनमा राखेर अन्य परिक्षणहरु गरिरहेको उनले बताए। 'केन्द्रबाट नमुना संकलनका लागि किट उपलब्ध भएपछि उनीहरुको नमुना पठाउँछौं', उनले भने,‘नमूना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइदिन्छौं।’ बाहिरबाट हेर्दा उहाँहरुमा कोरोनाका लक्ष्णहरु देखिदैन', उनले प्रष्ट्याए।
उनीहरुलाई बिहिबार सीमावर्ती भारतीय सहर जयनगरमा स्वास्थ्य जाँचको क्रममा कोरोना शंका गरेर थप जाँचका लागि मधुबनीको सदर अस्पतालमा लगेको थियो। त्यहाँ जाँच गरेर उनीहरुलाई घर फर्काइएको थियो।
'हामीले भारतको कोरोना प्रभावित क्षेत्रबाट फर्किनेहरुलाई ट्रेस गरिरहेका छौं', धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले नागरिकसँग भने,‘उहाँहरु प्रभावित क्षेत्रबाट आउनुभएकोले चिकित्सकीय जाँचबाट पूर्ण पुष्टिका लागि आइसोलेसनमा राखिएको हो, कोरोनाको शंका लागेर होइन।’
सीमावर्ती नेपाली गाउँहरुबाट सैयकडौ युवाहरु भारतको युपी, केरल, अहमदाबाद, दिल्ली, हरियानालगायतका स्थानमा रोजगारीका लागि गएका छन्। भारतका यी स्थानहरुमा कोरोनाका विरामी फेला परेपछि उनीहरु धमाधम गाउँ फर्किरहेका छन् ।
प्रकाशित: ३० फाल्गुन २०७६ ०५:३७ शुक्रबार