५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्पेनिस फ्लुझैं घातक हाेला काेराेना?

अमेरिकाको क्यान्सस राज्यको क्याम्प फुन्स्टोनमा स्पेनिस फ्लु नियन्त्रणका लागि बनाइएको आकस्मिक अस्पताल। फोटो: एपी

निकोलस क्रिस्टोफ

एलिस वोलोविच नाम गरेकी नर्सिङकी एक विद्यार्थी फिलाडेल्फियाको एक अस्पतालमा बिहानको सिफ्टमा काम गर्न थाल्छिन्। उनी एकैछिनमा स्पेनिस फ्लुले थला पर्छिन् र त्यहीं मृत्यु हुन्छ। यो सन् १९१८ को कुरा हो जतिबेला स्पेनिस फ्लुको प्रकोपले धमाधम थला पर्दै मानिसको मृत्यु भइरहेको थियो। फिलाडेल्फियाका ३१ वटा अस्पताल बिरामीले भरिएका थिए। कतिपय बिरामीलाई भर्ना गर्न नसकेर घर फर्काइएको थियो। कतिपय बिरामी त घुस दिएर अस्पताल भर्ना भएका थिए। स्पेनिस फ्लुले मृत्यु भएकालाई उठाउन मास्क लगाएर प्रहरीलाई घरघर पठाइएको थियो। यस्तो काममा खटिएको एक सातामा ३३ प्रहरीको पनि मृत्यु भएको थियो। 

‘हरेक घरमा एकजना बिमारी थिए,’ जोन एम बेरीले आफ्नो चर्चित किताब ‘दी ग्रेट इन्फ्लुएन्जा’ मा लेखेका छन्। ‘मानिस सकेसम्म अरुलाई बेवास्ता गर्न थालेका थिए, बोल्न परे पनि अर्काेतिर मुख फर्काएर बोल्थे। सार्वजनिक टेलिफोन कम्पनीका अपरेटरले पनि काम बन्द गरिसकेका थिए। आकस्मिक कलका लागि मात्र यो सेवा उपलब्ध थियो,’ किताबमा लेखिएको छ।

खेलकुदका कार्यक्रम धमाधम रद्द गरिएका थिए। नाट्यशाला बन्द भएका थिए। अरिजोना, फिलाडेल्फिया र प्रेस्कोटमा मानिस भेट हँुदा हात मिलाउन गैरकानुनी घोषणा गरिएको थियो। यी स्थानमा शव राख्न ६वटा  चिहानघर निर्माण गरिएको थियो। मानिसले घरभित्र कसैको मृत्यु भएको सन्देश दिन बाहिर रंगीन कागज झुण्ड्याउँथे र त्यस्ता संकेत जताततै देखिएका थिए।

भाइरसबाट जोगिन मानिसको भिडभाड हुने अवस्था सकेसम्म निरुत्साहित गर्नुपर्छ। बस अथवा रेलको यात्रा गरेर कार्यालय जानुपर्नेमा घरैबाट काम गर्न सकिन्छ। खेलकुदका कार्यक्रम, स्कुलमा प्रार्थनासभा, पार्टी आयोजना सकेसम्म नगरे हुन्छ। टेलिमेडिसिनको विकास गर्न पनि सकिन्छ। उपचार र परीक्षणको खर्च बेहोर्ने प्रणालीको तत्काल विकास गर्नुपर्छ।

सन् १९१८ मा विश्वमा फैलिएको स्पेनिस फ्लुले ५ करोड मानिसले ज्यान गुमाउनुपरेको थियो। सरुवा रोग ठूलो जोखिमको सबैभन्दा ठूलो उदाहरण त्यतिबेलादेखिको हो। त्यसपछि जनस्वास्वास्थका विज्ञले यसप्रकारको अर्काे ठूलो महामारीका लागि तयार रहन चेतावनी दिँदै आए तर आवश्यक तयारी कहिल्यै गरिएन।

हाल फैलिएको कोरोना भाइरस पनि त्यहीस्तरको महामारी होला नहोला अहिल्यै भन्न सकिने स्थिति छैन। यो बिस्तारै कमजोर भएर पनि जान सक्छ। अहिलेसम्म अमेरिकामा एकजनाले मात्र ज्यान गुमाएका छन्। चाखलाग्दो कुरा के पनि छ भने अमेरिकामा मौसमी फ्लुका कारणले वर्षेनी हजारौंको मृत्यु हुन्छ। तर केही भइहाल्यो भने हामी तयार हुनुपर्छ भन्ने विज्ञहरुको भनाइ अहिले चर्काे छ।

चीनको उहान प्रान्तमा एक प्रदर्शनस्थलमा बनाइएको  अस्पताल। तस्बिर: गेटी इमेज

‘के हामी सन् १९१८ को पुनरावृत्ति देख्दैछौं,’ खतरालाई अतिशयोक्ति रुपमा बढाइचढाइ नगर्ने न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसनमा लेखिएको छ। धेरै वर्षदेखि महामारीको खतरा रहेको बताउँदै आएका बिल गेट्सले यो महामारीलाई ‘शताब्दीमा एक पटक आउने’ महामारी भनेका छन्।

‘म आशा गर्छु, यो त्यति खतरातर्फ उन्मुख हुनेछैन तर हामीलाई प्रष्ट ज्ञान नभएसम्म यो त्यतातिर उन्मुख छ भनेर हामीले मान्नुपर्ने हुन्छ,’ गेट्सले भनेका छन्। उनले विवेकसम्मत नै कुरा गरेका छन्।

कोरोना भाइरसको मृत्युदर २ प्रतिशत मानिएको छ। त्यो मान्दा पनि सन् १९१८ को स्पेनिस फ्लु जत्तिकै यो भाइरस प्राणघातक हुन सक्छ। अर्काे सम्भावना के पनि हो भने धेरै मानिसमा असर नदेखिईकन यो रोगले ग्रसित भएका हुन सक्छन् र त्यतिबेला मृत्युदर कम देखिएको हुन सक्छ। महत्वपूर्ण कुरा के हो भने सन् १९१८ को स्पेनिस फ्लुलाई प्रभावकारी रुपमा सामना गर्न अमेरिका र विश्व तयार थिएन। ‘हामी अच्चमलाग्दो हिसाबले तयारीमा चुकेका छौं,’  कोलम्बिया विश्वविद्यालयका प्रोफेसर तथा प्रकोप तयारीसम्बन्धी राष्ट्रिय केन्द्रका निर्देशक इरविन रेडलेनरले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीको बथानले र घाइते इरानका कारण सधै खतरा रहेको दाबी गर्छन् र मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्न आर्थिक संसाधनको जोहो गर्न चाहन्छन्। तर महामारी नियन्त्रणमा उनको खास ध्यान छैन। सन् २०१८ मा ह्वाइट हाउसले महामारी नियन्त्रण गर्ने उद्देश्यले स्थापना गरिएको नेसनल सेक्युरिटी काउन्सिलका लागि आवश्यक पर्ने दरबन्दी कटौती गरेका छन्। यसअघि ४९ देशबाट अमेरिकामा महामारी फैलन सक्ने भनेर काम भइरहेकोमा यी देशको संख्यालाई हाल १० मा सीमित गरिएको छ। विज्ञले त्यतिबेला नै यस्लाई ह्वाइट हाउसको अल्पदृष्टि भनेका थिए।

जतिबेला हामीलाई एउटा बुद्धिमान र वैज्ञानिक हिसाबले सुसूचित नेता आवश्यक छ त्यतिबेला नै हामीसँग कम विश्वसनीय र वैज्ञानिकसँग राम्रो सम्बन्ध नभएका राष्ट्रपतिलाई बेहोर्न परेको छ। सन् २०१४ को इबोला भाइरसको प्रकोप नियन्त्रण विषयमा पनि ट्रम्पले सही भूमिका खेलेका थिएनन्। उनी प्रमाणमा आधारित नीतिहरुको पक्षमा कहिल्यै भएनन्।

स्वास्थ उपचार प्रणालीमा रहेका दीर्घकालीन कमजोरीका कारण अमेरिका सधै जोखिममा छ। धनी देश हुँदाहुँदै पनि अमेरिकामा स्वास्थ बिमाले आमनागरिकलाई समेट्न सकेको छैन। बिरामी हुँदा मानिसलाई तलब दिइँदैन र अन्य समकालीन राष्ट्रको तुलनामा प्रतिव्यक्ति डाक्टरको अनुपात अमेरिकामा कम छ।

एउटा उदाहरण हेरौं। फ्लोरिडा राज्यका ओस्मेल मार्टिनेज चीनबाट फर्कंदा बिरामी भए । मियामी हेराल्डले प्रकाशन गरेको समाचार अनुसार उनले फ्लुका लागि पसल गएर सामान्य औषधी किन्न सक्थे। तर कोरोना भाइरसको सम्भावित जोखिमका कारण उनी अस्पताल गएर  चिकित्सकीय परामर्श लिए। कोरोना भाइसरको कुनै असर त देखिएन तर उनले अस्पताललाई तीन हजार २ सय ७० अमेरिकी डलर बुझाउन प-यो।

हामीले महंगो खर्चका कारण सहयोग चाहने मानिसलाई दुरुत्साहित गर्नु हुँदैन। ह्वाइट हाउस र अमेरिकी कग्रेंसले कोरोना भाइरसका लागि लाग्ने उपचार र परीक्षणको खर्च बेहोर्ने प्रणालीको तत्काल विकास गर्नुपर्छ। यस्तै बिरामी हुँदा बस्ने बिदामा तलब पनि दिने व्यवस्था हामीले गर्नुपर्छ। के हामी त्यस्तो रेष्टुरेन्टमा खाना खान जान तयार छौं, जहाँ खोकी र रुघाले ग्रस्त भएको मानिसले आम्दानी घट्ने डरले जबरजस्ती खाना पकाइरहेको हुन्छ।

एसेस हेल्थ इन्टरनेसनलका अध्यक्ष ए. हेजरटाइनले कोरोना भाइरसको भ्याक्सिन बन्न कम्तीमा ६ देखि ८ महिना लाग्ने बताउँछन। तर अरुले त्योभन्दा बढी समय लाग्ने बताउँछन्। यस्तै वेलर विश्वविद्यालयका अन्तर्राष्ट्रिय स्वास्थविज्ञ पिटर जे. होटेज सुरुमा बिरामीको हेरचाहमा जुट्न स्वास्थकर्मीको सुरक्षाको बन्दोबस्त गर्नुपर्ने बताउँछन्।

‘चीनको उहानमा जस्तो १ हजार स्वास्थकर्मीमा ६ जनाको मृत्यु भएको अवस्था आउने हो भने स्थिति चौपट हुन्छ’, होटेज भन्छन्, ‘यसबाट अस्पतालमा काम गर्नेको मनोबल घट्छ र सबै कुरा ठप्प हुन जान्छ। सबै स्वास्थकर्मीका लागि सुरक्षा सामानको सुनिश्चता हुनैपर्छ।’

यस्तै फ्लुबाट जोगिन मानिसको भिडभाड हुने अवस्था सकेसम्म निरुत्साहित गर्नुपर्छ। बस अथवा रेलको यात्रा गरेर कार्यालय जानुपर्नेमा मानिस घरैबाट काम गर्न सक्छन्। खेलकुदका कार्यक्रम, स्कुलमा प्रार्थनासभा, पार्टी आयोजना सकेसम्म नगरे हुन्छ। डाक्टरको क्लिनिकअघि भिड कम गर्न टेलिमेडिसिनको विकास गर्न सकिन्छ।

हामीलाई अहिले बजार अर्थतन्त्रबारे र आफ्नो राजनीतिक फाइदा हुनेगरी तर्क गर्ने नेताको भाषण होइन विज्ञान र प्रमाणमा आधारित पूर्वतयारी आवश्यक छ। नोबेल पुरस्कार विजेता आनुवंशिकविज्ञ जोसुवा लेडरवर्गले नयाँ रोगहरुको खतरा सम्बन्धमा भनेका थिए, ‘यो रोग नित्याउने जिनविरुद्ध हाम्रो बुद्धिको लडाइँ हो।’ हामी हाम्रो बुद्धिलाई विजयतर्फ उन्मुख बनाउने हो भने स्पष्टसँग सोचेर, सम्झेर अगाडि बढ्नुपर्छ र समयमै सही कदम चाल्नुपर्छ।
(न्युयोर्क टाइम्समा प्रकाशित सामग्रीको अनुवाद)

प्रकाशित: १९ फाल्गुन २०७६ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App