४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आमाशय र ठूलो आन्द्राको क्यान्सर बढेको छ

अहिले नेपालमा विभिन्न नयाँखाले क्यान्सर किन बढिरहेका छन् ? कुन–कुन क्यान्सरको उपचार नेपालमा सम्भव छ ? लगायत विषयमा नेपाल क्यान्सर अस्पतालका प्रबन्ध निर्देशक तथा मेडिकल अन्कोलोजिस्ट डा. सुदीप श्रेष्ठसित नागरिककर्मी पवित्रा सुनारले गरेको कुराकानीको सम्पादित अंश:

चिकित्सा सेवामा कति वर्ष बिताउनुभयो ?
सन् १०९१ मा एमबिबिएस उत्तीर्ण गरेपछि नै यो पेसामा छु। पाटन क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरेपछि भारतबाट एमबिबिएस तहको अध्ययन सकेँ। त्यसपछि त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगन्जबाट फिजिसियन विषयमा एमडी गरेँ। पछि भारतको राजीवगान्धी क्यान्सर अस्पतालबाट दुई वर्षे क्यान्सर अध्ययन पूरा गरेपछि निरन्तर यही सेवामा छु। भक्तपुर क्यान्सर अस्पताल, वीर अस्पताल हुँदै नेपाल क्यान्सर अस्पतालमा सेवा गरिरहेको छु।

क्यान्सर भनेको के हो ?
यो एउटा दीर्घ रोग हो। हाम्रो शरीर कोषैकोषले बनेको हुन्छ। जसरी घर इँटा–इँटा मिलेर बनेको हुन्छ। शरीरको एउटा कोषिकामा गडबडी उत्पन्न हुन्छ। कोषिकाको जिनमा गडबडी भइसकेपछि त्यो कोषिका क्यान्सरको कोषिकामा परिणत हुन्छ। यस्तो कोषिका छिटोछिटो वृद्धि हुने र लामो समय बाँचिरहने हुन्छ। जुन अंगमा यस्तो कोषिका छ, त्यो अंग क्यान्सरको रूपमा परिणत हुन्छ। एक ठाउँमा बनेको क्यान्सर शरीरका विभिन्न अंगमा फैलिन्छ। यसको समयमै उपचार भएन भने मानिसको ज्यान पनि जान्छ। यसलाई हामी क्यान्सर अर्थात् अर्बुद रोग भन्छौं।

नेपाल क्यान्सर अस्पतालमा कुन–कुन क्यान्सरको उपचार हुन्छ ?
बोनम्यारो प्रत्यारोपणबाहेक सबैखाले क्यान्सरको उपचार हुन्छ।

नेपालमा सबैभन्दा बढी कुन क्यान्सर देखिएको छ ?
पहिलो नम्बरमा फोक्सोको क्यान्सर। सहरी महिलामा स्तन क्यान्सर र गाउँघरमा बढी पाठेघरको क्यान्सर देखिन्छ। सुरुमा पाठेघरको मुखको क्यान्सर बढी देखिन्थ्यो, अहिले स्तन क्यान्सर बढी देखिएको छ सहरी क्षेत्रमा। गाउँमा भने पाठेघरकै क्यान्सर बढी देखिन्छ।

सहरी क्षेत्रका महिलामा स्तन क्यान्सर र गाउँघरमा बढी पाठेघर क्यान्सर देखिन्छ।
–महिलाको यौवन अवस्था सुरु भएसँगै ह्युमन पेपिलोमा भाइरस सर्ने चान्स हुन्छ। यसले पाठेघरको मुखमा बसेर कोषिका नष्ट गर्छ र बिस्तारै क्यान्सरमा परिणत हुन्छ।
–प्लास्टिकमा राखिएका, कीटनाशक औषधि हालिएका, प्रशोधित, भुटेतारेका खाना, बार्विकी गरिएको मासु, छोइला, सेकुवा तथा सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग क्यान्सर हुनुका मुख्य कारण हुन्।
–फोक्सोको क्यान्सरका मुख्य लक्षण सुक्खा खोकी लाग्ने, खकारमा रगत देखिने, श्वास–प्रश्वासमा बाधा हुने, स्वाँ–स्वाँ हुने र तौल घट्दै जाने हुन्छ।

यी तीनवटै क्यान्सर बढी हुनुको कारण के हो ?
प्रमुख कारण त हाम्रो जीवनशैली नै हो। सुर्तीजन्य वस्तुको प्रयोगले फोक्सोको क्यान्सर हुने कुरा सबैलाई थाहा छ। धूमपानको प्रभाव पाठेघर र स्तन क्यान्सरमा पनि पर्छ। स्तन क्यान्सर बढ्नुको खास कारण भन्न सकिँदैन। तर, सहरी वातावरणमा हुर्केका महिलामा स्तन क्यान्सर बढेको देखिन्छ। यही कारण भन्नचाहिँ सकिँदैन। स्तन क्यान्सरको अवस्था अरू देशसँग नेपालको सन्दर्भ मिलेको देखिँदैन। जस्तो कि विदेशमा ढिला विवाह गरेका, स्तनपान नगराएका, ढिला बच्चा जन्माएका, महिनावारी लामो समयसम्म भइरहेका महिलाको स्तन क्यान्सर हुन सक्छ भनिन्छ। तर, हाम्रो सन्दर्भमा त्यस्तो देखिँदैन।

नेपालमा स्तन क्यान्सर बढी कुन समूहमा देखिन्छ ?
कतै वंशाणुगत हुन सक्छ। यसबारे खास अध्ययन भएको छैन। हामीकहाँ विदेशमा हुनेभन्दा १० वर्षपहिल्यै वा कम उमेर (४० वर्षभित्र)मै हुने गरेको देखिन्छ। यसकारण पनि हामीकहाँ हुने स्तन क्यान्सरको कारक तत्वबारे अध्ययन हुन जरुरी छ।

यहाँको बुझाइमा स्तन क्यान्सरका कारण के होलान् ?
मेरो अध्ययनमा नेपाली महिलामा वंशाणुगत रूपमै केही गडबडी हुन्छ।

पाठेघरको मुखको क्यान्सर हुनुको कारणचाहिँ के नि ?
यसको खास कारण ह्युमन पेपिलोमा भाइरस हो। महिलाको यौवन अवस्था सुरु भएपछिको क्रममा ह्युमन पेपिलोमा भाइरस सर्ने सम्भावना हुन्छ। यो भाइरस महिलाको पाठेघरको मुखमा गएर वर्षौंसम्म बस्छ। जसले पछि गएर पाठेघरको मुखको कोषिका नष्ट गरी बिस्तारै क्यान्सरमा परिणत हुन्छ।

यो भाइरसका कारण क्यान्सरको रूप लिन कति समय लाग्छ ?
१५/२० वर्ष लाग्छ।

पुरुषमा बढी देखिने फोक्सोको क्यान्सरका लक्षण के–के हुन् ?
पहिलो कुरा यो ३५/४० वर्ष नाघेपछि हुन्छ। यसको मुख्य लक्षणचाहिँ सुक्खा खोकी लाग्ने, खकारमा रगत देखिने, श्वास/प्रश्वासमा बाधा हुने, स्वाँ–स्वाँ हुने, तौल घट्दै जाने हुन्छ। यो क्यान्सर अन्य अंगमा फैलिएपछि अन्य थप लक्षण पनि देखिन्छन्। क्यान्सर मस्तिष्कमा गयो भने बेहोस हुने र हड्डीमा पुग्यो भने हड्डी टुक्रिनेजस्ता समस्या आउन सक्छन्।

स्तन क्यान्सरका लक्षण के–के हुन् ?
विस्तारै बढेको गिर्खा देखिने, स्तनको छालाको रंगमा परिवर्तन आउने, गिर्खा बढ्दै गएपछि स्तनको मुन्टाभित्र पस्ने, स्तनमा घाउ हुने र धेरै छिप्पिएमा स्तनमा घाउ हुने तथा पिप बग्नेजस्ता लक्षण देखिन्छन्।

पाठेघरको मुखको क्यान्सरको लक्षण के–के हुन् ?
पाठेघरको मुखको क्यान्सरले सुरुमै लक्षण देखाउँदैन। तर, जब पाठेघरमा घाउको रूप लिन्छ तब लक्षण देखिन थाल्छन्। योनिबाट सेतो पानी बग्ने, गनाउने पानी आउने, ढाड दुख्नेजस्ता लक्षण देखिन्छन्। यस्तो लक्षण देखिनु भनेको क्यान्सर छिप्पिसकेको हो, तसर्थ सक्दो चाँडो उपचार गराउनुपर्छ।

यी क्यान्सरबाहेक देखिएका नयाँ क्यान्सर कुन–कुन हुन् ?
यीबाहेक आमाशय, ठूलो आन्द्राको क्यान्सर र नाक, कान, घाँटीको क्यान्सर एकदम बढेको देखिन्छ। त्यो पनि अत्यन्तै कम उमेरका मानिसमा।

यी क्यान्सर के कारणले बढेका होलान् ?
हाम्रो जीवनशैलीमा आएको परिवर्तन नै मुख्य कारण हो। साथै सहरी जीवनशैलीको मुख्य भूमिका देखिन्छ। सहरी जीवनशैलीमा खाने शैलीमा पनि परिवर्तन आएको छ। प्लास्टिकमा राखिएका, कीटनाशक औषधि हालिएका, प्रशोधित, भुटेतारेका खाना, बार्विकी गरिएको मासु, छोइला, सेकुवा तथा सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग मुख्य कारण हुन्। आजभोलि मासु खाने तरिकामा फेसन बनेको छ। सेकुवा, बार्विकी, सुकुटी मासु खाने चलन पनि बढेको देखिन्छ। यस्ता खानाले क्यान्सर हुन ठूलो भूमिका खेल्छन्।

नेपालमा क्यान्सरको उपचार अत्यन्त महँगो छ भनिन्छ, वास्तविकता के हो ?
साँचो हो। क्यान्सरको उपचारमा धेरै विधि प्रयोग हुन्छन्। सबै विधि महँगा छन्। शल्यचिकित्सा, किमोथेरापी, रेडियोथेरापी सबै महँगा छन्। यो उपचार नेपालमा मात्र नभएर संसारभरि नै महँगो हो। विकसित राष्ट्रको तुलनामा नेपालमा यो उपचार सस्तो मानिन्छ। विदेशमा योभन्दा झन् महँगो छ। जहाँ कि हामीले क्यान्सर उपचारमा आवश्यक सामान, औषधिदेखि जनशक्तिसम्म विदेशबाट ल्याउनुपर्छ। त्यसकारण पनि महँगो भएको हो।

कुनै पनि व्यक्तिले आजको सहरी जीवनमा क्यान्सरबाट बच्न के गर्नुपर्छ ?
मुख्य कुरा राम्रो जीवनशैलीको सुरुवात सानै उमेरदेखि सुरु गर्नुपर्छ। कुल क्यान्सरको एक तिहाई हाम्रो जीवनशैली र खानपानबाट हुन्छ। यसमा पनि आधाचाहिँ सुर्तीजन्य पदार्थबाट हुन्छ। यसबाट बच्न धेरै कुरा गर्न सकिन्छ। तर, यो काम सानै उमेरदेखि सुरु गर्नुपर्छ। खानपानमा विशेष ध्यान दिनुप¥यो। पुरानो अचार नखाने, नुनको बढी सेवन नगर्ने, साकाहारी भोजन तथा फलफूल खाने, तारेभुटेका खाना नखाने र नियमित शारीरिक व्यायाम गर्नुपर्छ। यस्तो जीवनशैलीले ५० प्रतिशत क्यान्सर कम गर्न सकिन्छ।

नेपालमा सबैखाले क्यान्सरको उपचार पर्याप्त छ त ?
केही क्यान्सरबरैजसो क्यान्सरको उपचार नेपालमा सम्भव छ। सबै क्यान्सरको पहिचान पनि नेपालमै सम्भव छ।

हामीकहाँ क्यान्सरका बिरामी कुन चरणमा आइपुग्छन् ?
प्रायः तेस्रो र चौथो चरणमा मात्र आइपुग्छन्। प्रायः क्यान्सरले सुरुमा लक्षण देखाउँदैन। जब लक्षण देखाउँछ, त्यतिबेला क्यान्सर छिप्पिसकेको हुन्छ।

आफूमा हुँदै गरेको क्यान्सर सुरुमै कसरी थाहा पाउने ?
हरेक मानिसले वर्षमा एक पटक समस्या नभए पनि चेकअप गराउने। समस्या भइसकेपछि क्यान्सर ढिला भइसकेको हुनसक्छ। त्यसकारण कुनै पनि समस्याविना नै वर्षको एक पटक आफ्ना हरेक अंगको परीक्षण गराएर सुरुमै थाहा पाउने, जस्तो: शरीरमा कुनै समस्या आयो, उपचार गर्दा एक महिनासम्म पनि निको भएन भने त्यो क्यान्सर हुन सक्छ। ३० वर्ष नाघेका व्यक्ति बढी सचेत हुनुपर्छ।

प्रकाशित: १० फाल्गुन २०७६ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App