८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

क्यान्सरको मुख्य औषधि आत्मबल

स्तन क्यान्सर विजेताको समूह। तस्बिरः नागरिक।

चितवन – भरतपुर महानगरपालिका–१० कि ४४ बर्षीया प्रतिमा कोइरालन्सरको उपचार गराएर रोगमाथि विजय प्राप्त गरेकी छिन्। १२ वर्षअघि उनले आफूलाई स्तन क्यान्सर भएको थाहा पाइन्। उपचार गरिन्। क्यान्सर भएको थाहा पाउँदा उनको विवाह भएको १५ महिनामात्र भएको थियो। उनी त्यस समय नर्सिङमा स्नातक गर्दै थिइन्। स्वास्थ्यको विद्यार्थी भए पनि क्यान्सरको बिरामी भएको थाहा पाउँदा उनी झस्किइन्। तर सानै उमेरमा क्यान्सर संक्रमित भएर पनि उनले आफूलाई कमजोर बन्न दिइनन्।

‘क्यान्सर भएको थाहा पाउनासाथ तत्काल उपचार सुरु गरें,’ उनले भनिन्, ‘हिम्मत हारिनँ, आफूमा आत्मबल बलियो राखें।’ उनी अहिले चितवन मेडिकल कलेजमा कार्यरत छिन्। क्यान्सरको उपचार गरेपछि नै उनले दुई सन्तान जन्म दिएर हुर्काएकी छिन्। ठुलो छोरो १० र सानो छोरो डेढ वर्षको पुगेका छन्। समयमा नै उपचार गरेकाले क्यान्सर निदान भएर ‘क्यान्सर विजेता’ बन्न पाउँदा खुसी लागेको उनी बताउँछिन्।

भरतपुर–७ कि ५६ वर्षीया पञ्चु लामा भरतपुर अस्पतामा नर्स थिइन्। नुहाउने समयमा उनले आफ्नो स्तनमा गिर्खा रहेको थाहा पाइन्। गिर्खाले झस्किएकी उनी क्यान्सर खुट्याउन स्वास्थ्य जाँच गराउन लागिन्। दुई÷तीन ठाउँमा जाँच गराउँदा पनि डाक्टरले सामान्य भएकाले नआत्तिन भने। त्यसले उनको मनलाई भने सान्त्वना मिलेन।

क्यान्सर निदान भएर सक्रिय जीवनयापन गरिरहेकाहरूको चितवनमा एउटा समूह नै छ। क्यान्सर विजेता समूहका नामबाट उनीहरू स्वास्थ्य सचेतनालगायत सामाजिक काममा सक्रिय छन्।

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जाँच गराउँदा भने क्यान्सर भएको यकिन भयो। ‘पढेलेखेको, स्वास्थ्य क्षेत्रकै भएर पनि निकै डराएँ,’ उनले भनिन्, ‘एक–दुईपल्ट मर्ने विचार पनि आयो। तर आत्महत्या गर्नु कायरतापूर्ण लागेर आत्महत्या गर्न सकिनँ।’

बिरामी भएपछि मनमा राम्रा–नराम्रा अनेक कुरा आएको उनी सम्झिन्छिन्। तर पनि राम्रा कुराहरू मात्र लिएर मन बलियो बनाएर उपचार गरेकाले क्यान्सर जित्न सकेको उनले बताइन्।

भरतपुर–२ की ३८ वर्षीया टीका न्यौपाने पनि क्यान्सरपिडीत हुन्। पाँच वर्षअघि क्यान्सर भएकी उनले शल्यक्रिया गराएको चार वर्ष भयो। आफूमा आत्मबल हुनुका साथै बिरामी भएको समयमा भेटघाट गर्न आउनेले दिने सकारात्मक सोच र सान्त्वनासमेत महत्वपूर्ण हुने उनी बताउँछिन्। ‘अहिले पनि आत्मबल गरेको छैन,’ उनले भनिन्, ‘सक्रिय जीवनयापन गरिराखेकी छु।’

भरतपुर–१२ की ४६ वर्षीया सीता श्रेष्ठले पनि साढे दुई वर्षअघि क्यान्सरको शल्यक्रिया गराएकी थिइन्। उपचारपछि उनी आफ्नो कार्पेट व्यवसायमा सक्रिय भएर लागेकी छिन्। ‘म पहिले जस्ती थिएँ अहिले पनि त्यस्तै छु, केही परिवर्तन भएको छैन,’ उनले भनिन्, ‘यो रोगको औषधि नै हिम्मत हो। आत्मबल बढाउनु र खानपिनमा ध्यान दिनुपर्छ। आत्मबल दह्रो भए क्यान्सरलाई जित्न सकिन्छ।’ भरतपुर–१० की ४६ वर्षीया बन्दना खाँणले पनि स्तन क्यान्सर भएर उपचार गरेको चार वर्र्ष नाघ्यो। रोगमाथि विजयी भएर सक्रिय र स्वस्थ्य जीवन बाँच्न उच्च मनोबलसँगै परिवारको साथ पनि चाहिने उनको अनुभव छ।

नेपाली समाजमा अझै पनि क्यान्सर निको नहुने र उपचारमा सम्पत्ति सिध्याउनुपर्ने रोगको रूपमा परिचित छ। त्यसैले क्यान्सर भएको थाहा पाउनासाथ बिरामी र आफन्तले हिम्मत हार्ने गरेका धेरै उदाहरण छन्। तर क्यान्सर निदान भएर सक्रिय जीवनयापन गरिरहेकाहरूको चितवनमा एउटा समूह नै छ। क्यान्सर विजेता समूहका नामबाट उनीहरू स्वास्थ्य सचेतनालगायत सामाजिक काममा सक्रिय छन्।

क्यान्सरपीडित बिरामीको हिम्मत बढाउन र सचेतना जगाउनमा समेत पूर्व–क्यान्सरपीडितहरू क्रियाशील छन्। अंग्रेजी महिना अक्टोबरलाई विश्वमा स्तन क्यान्सर सचेतना महिनाका रूपमा बनाउने गरिन्छ। यही महिनाको सन्दर्भ पारेर मंगलबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेकाहरूसँग स्तन क्यान्सर जितेकाहरूले आफ्ना अनुभव साटेका थिए।

क्यान्सरको उपचार गरेपछि पाँचवर्ष भित्र दोहोरिएर देखिएन भने क्यान्सरको निदान भएको मानिने क्यान्सर अस्पतालका निर्देशक डाक्टर विजयचन्द्र आचार्य बताउँछन्। स्तन क्यान्सर विकासोन्मुख देशमा मात्र नभई विकसित देशमा समेत समस्याका रूपमा रहेको छ। उपचार प्रविधिको विकास भएको र उपचारपछि निदान हुने भएकाले स्तन क्यान्सरलाई विश्व स्वास्थ्य संगठनले निको हुने क्यान्सरको सूचीमा राख्ने तयारी गरेको उनले बताए।

अस्पतालमा जाँच गरेर पत्ता लाग्ने क्यान्सरहरूमध्ये स्तन क्यान्सर तेस्रो स्थानमा रहेको छ। सन् २०१७ मा सो अस्पतालमा स्वास्थ्य जाँच गराएका बिरामीमध्ये चार हजार नौ सय ७५ जना बिरामीमा क्यान्सर भएको पत्ता लागेको थियो, जसमध्ये चार सय ९६ जनालाई स्तन क्यान्सर भएको पाइएको छ। त्यस्तै सन् २०१८ मा पाँच सय २० जनामा स्तन क्यान्सर भएको पत्ता लागेको थियो भने यस वर्ष पाँच हजार तीन सय ३४ जनामा क्यान्सर भएको पाइएको छ।

क्यान्सर भएको पत्ता लागे पनि सबै बिरामी उपचारमा नआउने गरेको निर्देशक आचार्य बताउँछन्। गत वर्ष स्तन क्यान्सर भएका पाँच सय २० जना बिरामीमध्ये २८८ जनाले मात्र शल्यक्रिया गरेको उनले बताए। ‘पत्ता लागेका सबै बिरामी उपचारमा आउनुपर्छ भन्ने हो,’ उनले भने, ‘केही उपचारका लागि विदेश जाने, केही उपचारमा नै नआउने गरेको तथ्यांकले देखाउँछ।’

प्रकाशित: ६ कार्तिक २०७६ ०१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App