८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अस्पतालको मिलेमतोमा बिग्रन्छ मेसिन

बिग्रिएको सिकलसेल एनेमिया परीक्षण गर्ने एचबि इलेक्ट्रोफोरेसिस मेसिन। नागरिक

बाँके- अस्पताल प्रशासनको चरम लापरबाहीका कारण भेरी अस्पतालमा आउने सिकलसेलका विरामी सहज उपचार पाउनबाट बञ्चित भैरहेका छन। अस्पतालमा रहेको सिकलसेल एनेमिया (रक्तअल्पता) परीक्षण गर्ने मेसिन बिग्रियो छ महिना पुग्यो। तर अस्पताल प्रशासनले भने बिग्रिएको मेसिन सुचारु गर्न सकेको छैन।

मेसिन बिग्रिएपछि बिरामीहरु नीजि ल्याबमा गएर परीक्षण गराउन बाध्य भएका छन। भेरी अस्पतालमा सिकलसेल मात्र होइन अल्ट्रासाउण्ड लगायतका अन्य रोगको परीक्षण गर्ने मेसिन पनि बारम्बार बिग्रने गरेका छन। बिग्रिएका मेसिन नबन्दा बिरामीहरु अस्पताल छेउछाउ खोलिएका नीजि ल्याबमा परीक्षण गराउन बाध्य हुन्छन। भेरी अस्पतालको अल्ट्रासाउण्ड मेसिन बिग्रिएको अवस्थामा छ।

परिक्षण गर्ने मेसिन अस्पताल प्रशासनकै मिलेमतोमा बिग्रने गरेको बताउँछन एक चिकित्सक। नाम नबताउने सर्तमा उनले भने, ‘अस्पतालको ल्याबमा काम गर्ने कर्मचारी र डाक्टरले अस्पताल बाहिर ल्याब र क्लिनिक संचालन गरिरहेका छन। अनि अस्पतालको मेसिन कहाँ राम्ररी चल्छन। यदि मेसिन चल्ने अवस्था आएपनि एकदिनमा ३० जना भन्दा बढीको परिक्षण गर्न मिल्दैन भनेर बिरामीलाई बाहिर पठाइन्छ।’

अस्पतालको ल्याबमा काम गर्ने कर्मचारी र डाक्टरले अस्पताल बाहिर ल्याब र क्लिनिक संचालन गरिरहेका छन। अनि अस्पतालको मेसिन कहाँ राम्ररी चल्छन। यदि मेसिन चल्ने अवस्था आएपनि एकदिनमा ३० जना भन्दा बढीको परिक्षण गर्न मिल्दैन भनेर बिरामीलाई बाहिर पठाइन्छ

नागरिक समाजका अगुवाले बिग्रिएको मेसिन बनाउन दबाब दिदै आएका छन। तर अस्पताल प्रशासनले भने मेसिन बनाउने बारेमा ढिलासुस्ती गर्दै आएको छ।

परिक्षण गर्ने मेसिन बिग्रिएपछि भेरी अस्पातलमा आउने बिरामीहरु निजि ल्याबमा गएर परीक्षण गराउन बाध्य भएको बिनौना स्वास्थ्य चौकीका प्रमुख राजन कुमार शाहीले बताए। उनले भने, ‘संकास्पद बिरामीलाई हामीले परीक्षण गर्न भेरी अस्पतालमा पठाउँछौं। मेसिन बिग्रिएकोले बिरामीहरु नीजि ल्याबमा परीक्षण गराउन बाध्य भैरहेका छन।’ सिकलसेलको परीक्षण गर्ने शुल्क आ आफनै ढंगले नीजि ल्याब संचालकहरुले लिने गरेका छन।

शाहीका अनुसार निजि ल्याबले सिकलसेलको परिक्षण गर्न प्रतिबिरामी २ हजार देखि २८ सय सम्म लिने गरेका छन।

शाहीले थपे, ‘सरकारले सिकलसेलको निशुल्क परीक्षण गर्ने भन्छ। तर जनताले त्यो सुविधा पाउन सकेका छैनन।’

सिकलसेलन नेपालको पश्चिम तराई क्षेत्रमा जटिल समस्याको रुपमा मानिन्छ।  सरकारले पश्चिम तराईमा विशेष गरी थारु समुदायमा देखिएको सिकलसेल एनेमिया रोगको उपचारलाई सर्भसुलभ र निशुल्क गर्ने घोषणा गरेको थियो।  तर बिरामीले निशुल्क रुपमा सिकलसेलको परीक्षण भने गर्न पाइरहेको छैनन।

भेरी अंचल अस्पतालमा सिकलसेल एनेमिया उपचारका लागी ‘सिकलसेल सेन्टर’ स्थापना गरिएको छ। एउटा बिरामीलाई १ लाख बराबरको औषधी दिने सरकारले घोषणा गरेको थियो। तर सरकारले उपलब्ध गराएको सेवा प्रभावकारी छैन।

भेरी अस्पताल नेपालगन्जमा रहेको सेभिया कम्पनीको एचबि ईलोक्ट्रोफोरेसिस मेसिन सिसाज मेडिटेक प्राली दरबारमार्गले ठेक्का मार्फत उपलब्ध गराएको हो। फ्रेन्च कम्पनीको मेसिन बनाउनका लागि नेपालमा प्राविधिक नभएकोले बन्न नसकेको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिस्ट सञ्जीव चौधरीले बताए।

दुइ वर्ष अघि जनस्वास्थ्य कार्यालय बाँकेले दिएको लाइफोट्रोनिक एच–९ एचपिएलसी मेसिन बिग्रिएर स्टोरमा राखिएको अर्का मेडिकल ल्याब टेक्नोलोजिस्ट प्रचण्ड शर्माले बताए। उनले भने,‘जनस्वास्थ्यले अनुदानमा दिएको मेसिन ठिक छैन भन्दा भन्दै पनि अस्पताललाई दिइयो। जनस्वास्थ्यले दिएको मेसिन सुरुबाटै चल्न सकेन। अहिले त्यो मेसिन स्टोरमा थन्किएको छ।’ भेरी अस्पताल प्रमुख डा. रुपानन्द अधिकारीले सिकलसेल एनिमिया परीक्षण गर्ने मेसिन मर्मत गर्न काठमाडौमा पठाएको बताए। मेसिन बिग्रनका साथै दरबन्दी अनुसार डाक्टर अभाव हुँदा पनि उपचारमा समस्या देखिएको अधिकारीले बताए।

भेरी अस्पतालको सामाजिक सेवा इकाइका अनुसार हाल सम्म ६ सय ६५ सिकलसेल एनेमिया बिरामीले विपन्न नागरिक उपचार निर्देशिका अनुसार एक लाख बराबरको सेवा लिइसकेका छन।

सरकारले २०६८ सालदेखी सिकलसेल एनिमियाको बारेमा अध्ययन सुरु गरेको थियो। सरकारले २०७१ सालमा सिकलसेल एनिमियालाई जनस्वास्थ्य समस्याका रुपमा स्विकार गरेर प्रति बिरामी एक लाख उपचार खर्च दिन सुरु गरेको हो।

सिकलसेल एनेमिया विशेष गरी थारु जातीमा सिकलसेल एनेमिया देखिएको रोग हो।  नेपालमा १५ वर्ष अघि यो रोगको बारेमा परीक्षण गरिएको थियो। चिकित्सकका अनुसार आदिवासी जनजातिहरुमा सिकलसेल एनेमिया रोगको लक्षण धेरै देखिने गरेको छ। नेपालको तराई क्षेत्रका बाँके, दाङ, वर्दिया, कैलाली थारुजातीको बसोबास धेरै भएको जिल्ला हुन। र यी जिल्लामा सिकलसेल रोगबाट प्रभावित बिरामीहरुको संख्या बढिरहेको छ।

अस्पताल प्रमुखलाई ध्यानकर्षण

बाँकेका नागरिक समाजले भेरी अस्पतालले दिईरहेको सेवा प्रवाह र सिकलसेल एनिमिया रोग परीक्षण गर्ने एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मत गर्नका लागि भेरी अस्पतालका प्रमुख डा. रुपानन्द अधिकारीलाई ध्यानाकर्षण गराएका छन।

बैशाख २९ गते सिकलसेल एनिमिया रोग परीक्षण गर्ने मेशिन मर्मत गरि सूचारु गर्नको लागि नागरिक समाजले भेरी अस्पतालका प्रमुखलाई ज्ञापनपत्र बुझाएको थियो।

मेशिन विगत छ महिनादेखि बिग्रदा बिरामीहरु परिक्षण गराउनबाट वन्चित भएको हुदाँ मेशिनको तुरुन्त ब्यवस्था गर्न माग गरिएको आईएचआरसीका कार्यक्रम प्रबन्धक रविन्द्र कुमार ज्ञवालीले बताए।

नेपालको संविधानमा स्वास्थ्य सम्बन्धिहक अधिकारलाई मौलिक अधिकारको रुपमा ब्यवस्था गरेको र जनस्वास्थ्य सम्बन्धि ऐन २०७५ र दिगो विकासका लक्ष्य बुदा नं.३ मा स्वास्थ्यको अधिकार हरेक नागरिकहरुमा पहुँचहुने ब्यवस्था समेत गरेको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App