काठमाडौं - नेपाल पनि ठूलो आन्द्रा क्यान्सरको उच्च जोखिममा रहेको विशेषज्ञहरुले बताएका छन्। मार्च महिनामा मनाइने ठूलो आन्द्राको क्यान्सर जनचेतना महिनाको सन्दर्भमा चिकित्सकहरुले सो बताएका हुन्। ‘पछिल्ला वर्ष नेपालमा कम उमेरका मानिसमा पनि ठूलो आन्द्राका रोग देखिन थालेको छ,’ नर्भिक अस्पतालका ठूलो आन्द्रा तथा मलाशय क्यान्सर सर्जन डा. सन्दीप भट्टचार्यले भने।
वीर अस्पताल ग्यास्ट्रो सर्जरी विभाग प्रमुख डा. सुवोधराज अधिकारी पनि हालका वर्षमा यस्तो रोगका बिरामी बढेको बताए। ‘दश वर्षदेखि यता ठूलो आन्द्राका क्यान्सरका रोगी बढ्दैछन्,’ उनले भने। उनका अनुभवमा चालीस वर्ष मुनी र माथिका दुवै उमेर समूहमा ठूलो आन्द्राको क्यान्सर देखिन्छ। कम उमेरमै यो रोग देखा पर्नु चिकित्सकहरुका लागि पनि खोजको विषय बनेको डा. अधिकारीले बताए। ‘वंशाणुगत कारणले हो या अन्य कारणले अध्ययनको विषय बनेको छ। युवाहरुमा पनि धेरै देखिएको छ,’ उनले भने। विश्वव्यापी रुपमा हेर्ने हो भने धेरै मृत्यु हुने क्यान्सर मध्ये ठूलो आन्द्राको क्यान्सर तेस्रो स्थानमा पर्छ। सन् २०१८ मा १८ लाख जनामा ठूलो आन्द्रा तथा मलाशयको क्यान्सर भएको थियो।
पश्चिममा देशमा व्यापक मानिएको यो क्यान्सर पछिल्लो समय नेपालमा बढिरहेकोमा चिकित्सकले चिन्ता जाहेर गरेका छन्। ‘यो क्यान्सरको सूत्रअनुसार ४५ वर्षपछि या वृद्ध उमेरमा देखा पर्नुपर्नेमा नेपालमा युवा उमेरमै देखिनु खतराको विषय हो,’ डा. भट्टचार्यले भने। चिकित्सकका अनुसार नेपालमा पछिल्लो समय खाने बानीको आएको परिवर्तन र जीवनशैलीका कारण यो रोग बढेको चिकित्सक बताउँछन्। पछिल्लो समय रातो मासुको बढी प्रयोग, प्रशोधित खाना बढी खाने, सहरी जीवनशैलीजस्ता कारणले यो रोग बढेको हो। ‘पश्चिमाहरुमा रातो मासु र फास्टफुडको कारणले बढेको देखिन्छ। हामी कहाँ पनि त्यस्तै खाना खाने चलन बढेको छ,’ भट्टाचार्यले भने। त्यसै गरी आरमदायी जीवनशैली, कामको प्रकृतिको कारणले पनि यो रोग बढेको उनको भनाइ छ। तौल बढ्नु, व्यायाम नहुनु, एकै किसिमका बढी बोसोयुक्त खाना खाँदा यो रोग बढेको देखिन्छ।
ठूलो आन्द्रामा क्यान्सर लागेपछि सुरुमा कुनै पनि लक्षण नदेखिने कारण रोग पत्ता लगाउन कठिन हुने र रोग फैलिसकेपछि उपचार कठिन हुने चिकित्सक बताउँछन्। त्यसैले रोगको पहिचानमा सबैको ध्यान जानुपर्ने उनीहरुको सुझाव छ। ठूलो आन्द्रामा ‘पलिभ’ (मासुको डल्लो) पलाएका मानिसहरुमा पछि गएर क्यान्सरको रुप लिन्छ। त्यसैगरी आन्द्रामा इन्फाम्यालाटोरी पावल डिजिज (आन्द्रामा हुने साना घाउ) भएमा, मधुमेह भएमा, रातो मासु बढी खाँदा, बोसोयुक्त मासु बढी खाँदा, फलफूल तथा हरियो सागपात कम खाँदा, तौल बढी भएमा यो क्यान्सरको जोखिम बढी हुन्छ। त्यसैगरी परिवारमा ठूलो आन्द्राको क्यान्सर भइसकेको छ भने पनि उनीहरुमा यसको जोखिम हुन्छ।
यो क्यान्सरले धेरैजसो कुनै पनि लक्षण नदेखाउने र लक्षण देखिँदा धेरै नै असर गरिकसकेको हुन्छ। क्यान्सर बढी फैलिसकेपछि भने एक्कासि दिसाको रुटिन परिवर्तन हुने, दिसामा रगत आउने, पखाला लाग्ने, कब्जियत हुने, पेट डम्म हुने, एक्कासी तौल घट्नेजस्ता लक्षण देखिन्छन्। यी मध्येमा कुनै पनि लक्षण देखिएमा उपचारमा गइहाल्नु पर्छ। सुरुमा कुनै पनि लक्षण नदेखिने हुनाले सुरुमै रोग पत्ता लगाउनु यो क्यान्सरबाट बच्ने मुख्य उपाय हो। यसको लागि आन्द्रामा सानो डल्लो या घाउ हुने अवस्थामै कोलनोस्कोपीद्वारा यसको पहिचान गर्न सकिन्छ वा यो जाँचबाट ठूलो आन्द्रामा क्यान्सर लाग्दैछ भन्ने पत्ता लगाउन सकिन्छ। यसको लागि नियमित जाँच नै उत्तम उपाय रहेकोले हरेक व्यक्तिले वर्षमा एक पटक कम्तीमा ठूलो आन्द्रा तथा मलाशयको जाँच गर्नुपर्ने डा. भट्टाचार्य सुझाउँछन्। ‘सुरुमै थाहा भए ९० प्रतिशतसम्म यो क्यान्सरबाट बच्न सकिन्छ,’ डा.भट्टाचार्यले भने।
नियमित व्यायम, हरियो सागपात तथा फलफूल प्रशस्त मात्रामा खाने, तौल नियन्त्रमा राख्ने, सन्तुलित र ताजा खानेकुरा खाने, रातो मासु तथा बोसोयुक्त खाना कम खानाले ठूलो आन्द्राको क्यान्सरको जोखिम कम हुन्छ।
प्रकाशित: २१ चैत्र २०७५ ०५:०९ बिहीबार