१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

जब आँसुले कपोल भिजायो

ऋचा कार्की - मेघाको कायापलट गर्ने अमेरिकन धुरन्धर शिक्षक वायने डेयरले आफ्नोे पुस्तक ‘योर सेक्रेट सेल्फ’मा टर्मिनलको ट्रेनझै एउटा ट्रेन भित्रिन्छ, अर्को निस्किन्छ, एउटाले अर्काको ठाउँ लिन्छ। एकपछि अर्को ट्रेन आउने जाने गर्छ। यो प्रक्रिया दिनभरि नै चल्ने गर्छ त्यसरी नै मानिसको मन मस्तिष्कमा हरेक दिन हजारौं कुरा आएर भरिने गर्छ भनी लेखेका छन्। मानिसको जीवन यात्रामा धेरै मानिस भेटिन्छन्, विभिन्न घटना घट्ने गर्छन्। विभिन्न समस्याको सामना मानिसले गर्ने गर्छ। तीमध्ये मानिसले धेरैजसो कुरा समयको अन्तरालसँगै झुल्छन् या सपनासरि मन मस्तिष्कबाट हराएर जान्छ। तर, केही कुराले यस्तो अमिट छाप छोडेर जाने गर्छ कि कुनै मानिससँगको भेटघाट, उसको हृदयस्पर्शी व्यवहार एवम् केही घटनाले पछिसम्म प्रभाव पार्ने गर्छ वा जीवनशैलीमा टर्निङ प्वाइन्टमा उभ्याइदिन्छ। मानिसको जीवनशैली नै बदलिदिने गर्छ।  

पंक्तिकार चिकित्साशास्त्र विज्ञानको विद्यार्थी भएकाले प्रयोगात्मक अभ्यासको क्रममा धेरै ठाउँमा ‘एक्सप्लोर’ हुने मौका मिलेको थियो। त्यही दौरानमा एउटा वृद्धाश्रममा सेवा गर्ने अवसर मिलेको थियो। एक महिनाको परीक्षणकाल थियो, छोटो अवधि भएता पनि त्यहाँको परिवेशले जीवन र जगतलाई नजिकबाट बुझ्न पाएँ। साच्चै भन्नु पर्दा धेरै कुरा सिक्न पाएँ। वृद्ध बुबाआमाले हरेक दिन भूतकालको अनुभवलाई साँच्दै, वर्तमानलाई टेक्दै भविष्यतिर नियालिरहेकोे देखेको छु। जीवनको थुप्रै वसन्त परिवार, समाज र राष्ट्रलाई खर्चिएका ती वृद्ध बुबाआमा अहिले डाँडाको घामझैं भएका छन्। यसबखत उनीहरूलाई सबैको माया, प्रेम, संरक्षण र स्याहार चाहिएको छ। वृद्धआश्रममा देखिने बुबाआमाको कथा–व्यथा हाम्रो समाज संयुक्त परिवारबाट एकल परिवार हुँदै न्युक्लियस पैmमिलीमा रूपान्तरण भई झांगिएको यथार्थता हो। वृद्धाश्रमका बुबाआमा प्रतिनिधि पात्र मात्र हुन्। रोजगारीको लागि विदेशिनु पर्ने बाध्यता र समुद्रपारिको चकाचौध हेर्ने लहडले विदेशतिर जाने क्रमले गर्खा गर्खामा, खोला टोलामा युवा रित्तिदै गएको गाउँका वृद्ध बुबाआमाको कथा र व्यथा भयावह छ।

स्वास्थ्यकर्मी भएको नाताले ती वृद्ध बुबाआमालाई सेवा गर्न पाउँदा एकातिर आफूलाई भाग्यमानी ठान्थे भने अर्कोतिर हरेक दिन ती वृद्धआमाको पीडालाई मन भित्र कुटुरो पार्न बाध्य हुन्थे। त्यस वृद्धाश्रममा जति दिन प्रयोगात्मक अभ्यासमा लागेँ, उरकोषको अश्रुले कपोल नभिजाएको दिन भएन।

संविधान तहत् मौलिक हक र कर्तव्यको महलको धारा ४१ अन्तर्गत ज्येष्ठ नागरिकको हकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको छ। ज्येष्ठ नागरिकको हकको प्रत्याभूति हुनु बेस कुरा हो। तर, ती वृद्ध बुबाआमालाई यसबखत सन्तान र परिवार सदस्यको माया, प्रेम, स्नेहको खाँचो हुँदो रहेछ। समाज पहिले कृषिमा आधारित थियो। अहिले समाज जागिरमा आधारित छ। अहिलेको समाज संयुक्त परिवार, एकल परिवार हुँदै न्युक्लियस फेमिलीमा रूपान्तरित हुँदै गएको छ। उत्तर आधुनिकतावादले मानिसलाई चाहिनेभन्दा बढी व्यस्त बनाएको छ। कृत्तिम बेरोजगार सृजना गरी मानिसलाई एकांकी बनाएको छ।

मानिस यान्त्रिक बन्दै गएको छ। यस परिवेशमा आफ्ना वृद्ध बुबाआमालाई वृद्धाआश्रममा राख्ने प्रवृति मौलाएको छ। असहाय र बेसहारा वृद्ध बुबाआमा जो वृद्धआश्रमको सहारामा बाँचेका छन् उनीहरूको कथा–व्यथा अर्कै छ। तिनीहरूको पीडालाई छाम्दा मन लुछिने गर्छ। यस पंक्तिकारको कार्यक्षेत्र त्यही दुःखको सागर थियो, जहाँ जीवनका थुप्रै वसन्त आप्mना सन्तानलाई खर्चेका ती वृद्ध बुबाआमाहरूले मन नलगाई नलगाई पौडी खेलिरहेका थिए। स्वास्थ्यकर्मी भएको नाताले ती वृद्ध बुबाआमालाई सेवा गर्न पाउँदा एकातिर आफूलाई भाग्यमानी ठान्थे भने अर्कोतिर हरेक दिन ती वृद्धआमाको पीडालाई मन भित्र कुटुरो पार्न बाध्य हुन्थे। त्यस वृद्धाश्रममा जति दिन प्रयोगात्मक अभ्यासमा लागेँ, उरकोषको अश्रुले कपोल नभिजाएको दिन भएन। त्यहाँको परिवेश, परिस्थितिलाई आत्मसात गर्दै बस्नुभएका ती बुबाआमा आँसुको घुट्को पिउँदै मुहारमा खुसी पोख्दै स्मित हाँसोसँग पीडा साट्ने गर्नु हुन्थ्यो। तर, ‘मनको बह कसैलाई नकह’ भनेझैं ती वृद्ध बुबाआमाकोे मनभित्र लुकेको पीडा र दुःखलाई कस्ले बुझ्ने ? बुझ्नको लागि त अन्तरमनमा ज्ञानको नूर, मातृऋण तिर्ने लालशा अनि सुविधापूर्ण जीवनशैली त्याग गर्न सक्ने विशाल हृदयको संगम हुनु पर्छ नि ! आखिर किन भए त ? ती छोरा छोरीहरू निष्ठुरी किन भए ? भन्ने अनुत्तरित प्रश्नले यस पंक्तिकारलाई हरदम सताउने गथ्र्यो।

स्वास्थ्यकर्मी भएकीले वृद्धआश्रमका सबै बुबाआमा सेवा दिने कुरामा समानभाव राख्ने मेरो दायित्व हुन्छ नै। तर, मेडिकेसनको क्रममा एकजना आमाले मप्रति जुन व्यवहार गर्नु हुन्थ्यो त्यसले यस पंक्तिकारलाई ती आमासँग यति नजिकिन पु-यायो कि पत्तै भएन। नजिकता बढेपछि उहाँको अतीतसँग तरेलिन मन लाग्यो। यस पंक्तिकारको जिज्ञासालाई मेट्दै जहाँले आप्mनो अतीतको कुटुरो फुकाउँदै भन्नुभयो ‘ए नानी !’ भन्दै मलाई सुम्सुम्याउँदै अगाडि भन्नु भयोे ‘मेरी नातिनी पनि तिमी जस्तै छे होला है ! जीवनसँगी, चारजना बालबच्चा सहितको मेरो भरिभराउ परिवार थियो। त्यो सुरम्य जीवनलाई दैवलाई मञ्जुर भएन। जीवनसँगीलाई दैवले खोसेर लगिदियो। त्यसपछि जीवनमा कालो बादल मडारिन थाल्यो। जीवनका हरेक क्षण दुःखसँग मितेरी लगाउँदै बित्न थाल्यो। जति दुःख कष्ट भोग्नु परेता पनि आफ्नो बच्चाहरूलाई कहिले पनि त्यसको आभास हुन दिइनन्। उनीहरूलाई बुबाको अभाव पनि खड्कन दिइनन्। कुनै कुराको कमी महसुस हुन दिइनन्। तर, अहिले ती सन्तान कति निष्ठुरी भएका छन्, दुःख लाग्छ।’ गहभरि आँसु लिँदै फेरि थप्नु हुन्थ्यो, ‘नानी तिमीले त्यस्तो नगर्नु है, जुन मेरा छोराछोरीले मलाई गरे। बुबाआमाको पाँचवटा सुख हुन्छन्, तीमध्ये एउटा सुख सन्तानको सुख पनि एउटा सुख होे। यदि म यहाँ बसेर तिनीहरूको जीवन सुखमय हुन्छ भने म खुसी नै छु।’

ती वृद्धआमाको यी मर्मस्पर्शी कुरा सुनेर यस पंक्तिकार भावुक हुन पुग्थेँ। भविष्यमा कतै मेरो जीवनमा पनि यस्तै दिन आउने हो कि भनेर मनमा कुरा तरेलिन थाल्थ्यो। मन निस्सासिन्थ्यो। कहालिलाग्दो त्यो क्षणको कल्पनाले स्तब्ध पार्थ्याे। जब आफ्नो कार्यक्षेत्रबाट फर्किन्थे, मेरी आमाको धेरै याद आउने गथ्र्यो। ती वृद्धआमासँगको सहवासले मेरी आमाको काखदेखि पर बसेर अध्ययन गर्दा जुन आमाको अभाव कति हुन्छ भन्ने बल्ल बुझ्न थालेँ। ती वृद्धआमाको वेदना कोसित पोखुँ जस्तो लाग्थ्यो। वेला बखतमा धेरैजसो मनमा खेलेका भावना सेलफोनबाट मेरी आमासँग साट्ने गर्थे। जब यस पंक्तिकारले आफ्नोे कार्यक्षेत्र र त्यहाँ स्पर्शित भएका पीडालाई मेरी आमालाई पोखेँ, वहाँ भावुक बन्नु हुन्थ्यो।

पंक्तिकार चिकित्साशास्त्र विज्ञानको विद्यार्थी भएकाले प्रयोगात्मक अभ्यासको क्रममा धेरै ठाउँमा ‘एक्सप्लोर’ हुने मौका मिलेको थियो। त्यही दौरानमा एउटा वृद्धाश्रममा सेवा गर्ने अवसर मिलेको थियो। एक महिनाको परीक्षणकाल थियो, छोटो अवधि भएता पनि त्यहाँको परिवेशले जीवन र जगतलाई नजिकबाट बुझ्न पाएँ।

अश्रुले गह भरिएर रुवाँसो स्वर भएको मलाई भान हुन्थ्यो। कहिलेकाहीँ मेरी आमाको नयनबाट अश्रुजल छचल्चिएको यस पंक्तिकारले देखेकी छु। यस पंक्तिकारले उहाँको कोमलता र स्नेहको सैलावलाई नबुझेर भन्ने गर्थे ‘हजुर जस्तो साहसी र संघर्षशील नारीकोे नयनमा आँसु ?’ उहाँले मातृत्व, कोमलता र स्नेह साथै नारीका भएकोे अन्तर्निहित गुणको हवाला दिँदै भन्ने गर्नुहुन्थ्याैँ, ‘साहसी र संघर्षशील नारीको नसा नसामा पनि उत्तप्त रक्तको धारा प्रवाहित हुने गर्छ, उसको हृदयमा पनि इच्छा तरंगाघात हुन्छ साथै उसको मस्तिष्कमा पनि आकांक्षाको झंझावत चल्ने गर्छ। साहसी र संघर्षशील नारीको पनि कोही आप्mना हुन्छन्, जसको अभावमा ऊ निस्प्राण, निरवलम्ब एवम् निरध्व भई जान्छे।’ यी अमूल्य वचनलाई वृद्धाश्रमको वृद्धआमाको वेदनासँग दाँजेर हेर्थे, अनि लाग्थ्यो– आमाहरू धर्ती हुन्, वीर वीरांगना हुन्छन्, साहसी हुन्छन्, संघर्षशील हुन्छन्, यसको साथै आमाहरु स्नेह, प्रेम, कोमलताको सागर पनि हुँदो रहेछ। मेरी आमाको  ती भावुकता र प्रेरणालाई हृदयंगम् गरी मन मनैे ‘चिन्ता नलिनुस आमा जति नै कष्ट पीडा भए पनि म हजुरको साथ कहिले छोड्ने छैन, सधैं सेवा गर्ने छु’ भन्न मन लाग्थ्यो। यस पंक्तिकारलाई तिनै वृद्धआश्रमको वृद्धआमाको मुहार आँखाअगाडि आउन थाल्थ्यो। अनायासै सेल फोनलाई बिट मार्दैे प्यानलबाट मेरी आमासँग बिदा हुन्थेँ।

निशा छिप्पिदै गइसकेको थियो। मनमा संकल्प जाग्योे, ‘आफ्नो बुढेसकालको सहारा आफै  बन्छु। यसको लागि मिहिनेत जरुरी छ। म मिहिनेत गर्न कहिल्यै छोड्दिन।’ मेरो जीवनको यो एउटा महत्वपूर्ण सिकाई थियो। वृद्धआमाको सिकाई थियो। बुबाआमाको मायामा पुल्पुलिएर हुर्कीएका छोराछोरी यी कुराहरुले छोएको हुँदैन नि! अझ एक्लो सन्तानको दुःख आमाबुबालाई कस्तो हुन्छ, के थाहा ? आज मेरो सोचाइमा परिवर्तन आएको छ। मानिसप्रति हेर्ने दृष्टि र व्यवहारमा फरकपन आएको छ। जीवन र जगतको वास्तविकतालाई नजिकबाट निँयाल्न खोजेको छु। यस प्रयोगात्मक अभ्यासको क्षणले मेरो जीवनशैलीलाई नै रूपान्तरण गर्ने कडि बन्न पुग्यो। जीवन र जगतलाई हेर्ने दृष्टिकोण जुन थियोे, त्यो सर्वदा वास्तविकताभन्दा धेरै पर रहेछ। जीवन र जगतको यथार्थता अर्कै रहेछ भन्ने बोध भयो।

हरेक दिन सहस्ररश्मीको उषाको लालिमासँगै कार्यक्षेत्रमा जाने तरखरमा लाग्थेँ। बाटोभरि तिनै वृद्धआमाको कुरा खेल्ने गथ्र्यो। आफ्नो काखमा हुर्केका सन्तानहरुको सेवाटहलमा रमाउने इच्छा कुन बुबाआमाहरुमा नहोला र ? तर, अरुको आसरामा बाँचिरहनु पर्दा ती आमाको मन कति रुदो होला। आखिर किन ती सन्तानले आफ्ना जन्म दिने आमाकोे पीडा बुझ्न सकेनन् ? के तिनीहरू कहिल्यै बूढो हुँदैनन् र ? यी कुराहरूले मन घोच्ने गथ्र्यो। तर, सोलोडोलो सबै त्यस्ता सन्तान त छैनन् नि ! समाजमा अहिले पनि बुबाआमाको सेवाटहल गर्ने सन्तानको खडेरी परेको छैन। बुबाआमाको सेवाटहलमा आफ्नो जीवनशैली नै बनाउने थुप्रै श्रवणकुमारहरू छन्। साथै आफ्नो दायित्व र जिम्मेवारीलाई पैसासँग साटेर उम्किन खोज्ने त्यस्ता सन्तान पनि नभएका होइनन्।

असिमित आवश्यकतालाई सीमित साधन पूर्ति गर्नु पर्ने यो म्याड् रेसमा आफ्नो जननीलाई चटक्क बिर्सिरहेका छन्। त्यसताका वृद्धआश्रम थिएनन्। तर, आमाबुबा खुसीले बाँचेकै थिए, सन्तानले आफ्ना बुबाआमाको हेरचाह गर्ने विकल्पमा अरु केही सोचेका थिएनन्। तर, आजकाल धेरै त्यस्ता सेवाहरु खुलेका छन्। जहाँ वृद्धवृद्धालाई नर्सिङ सेवा सहितको व्यक्तिगत रेखदेखमा अनाश्रित रूपमा जीवन यापन गरिरहेका छन्। बेफुर्सदी सुविधासम्पन्न जीवन बिताइरहेका ती सन्तान जसलाई आफ्ना बुवाआमाहरुको हेरचाह गर्ने समय छैन, थन्को लगाउने थलो बनेको वृद्धआश्रम छ। ‘इट चेन्ज योर पर्सपेक टिभ टुवार्डस् लाइफ, बिकज इट्स ए डिफरेन्ट वल्र्ड अलटुगेदर देर’ अब यही सोचको विकास गर्नु आजको आवश्यकता हो।

प्रकाशित: ९ चैत्र २०७५ ०४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App