चितवन- मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दिसा– पिसाबको व्यवस्थापनमा सरकार उदासीन हुँदा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परिररहेको छ। समयमा दिसा–पिसाब नगरेमा विभिन्न रोग लाग्न सक्छ भने त्यही दिसा–पिसाब जहाँ पायो त्यही गरेमा सरुवा रोग पनि लाग्नसक्छ।
तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि जिल्लाका सार्वजनिकस्थलमा पर्याप्त शौचालय नभएकाले सर्वसाधारणले कष्ट व्यहोर्दै आएका छन्। जिल्ला समन्वय समितिका संयोजक कृष्ण डल्लाकोटी स्थानीय तहको विकास भनेको ढल निकास र कालोपत्रे मात्रै ठानिदिँदा अन्य विषय ओझेलमा परेको बताउँछन्। सार्वजनिक शौचालय आवश्यक भएर पनि नबनाइँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ भन्दै उहाँ मुख्य शहरी क्षेत्रमा किनमेलका लागि आउने र लामो दूरीमा यात्रा गर्नेहरू व्यवस्थित शौचालय अभावमा जताततै शौच गर्न बाध्य हुनुपरेको बताउँछन्।
समयमा शौच नगर्दा के हुन्छ
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक मूत्ररोग विशेषज्ञ डा निर्मल लामिछाने दिसा¬–पिसाब समयमै गर्नुपर्ने बताउँछन्। उनका अनुसार मूत्रथैलीमा २०० मिलिलिटर पिसाब पुगेपछि शौच गर्न मन हुन्छ। यो पिसाब बढेर ३५० मिलिलिटर पुगेपछि मानिस पिसाब च्यापेर शौचालय खोज्न थाल्दछ। यती गर्दा पनि पिसाब फेर्न नपाएमा पिसाब थैलीबाट मिर्गौलातर्फ पिसाब फर्किने उनले बताए। मिर्गौलाबाट दुई वटा नली हुँदै पिसाब बगेर पिसाब थैली भरिन्छ। समयमा पिसाब नफेरेमा फर्किएर पुनःमिर्गौलामा फर्किने हुँदा यसबाट मिर्गौलामा दबाब भइ पिसाब छान्न समस्या हुने डा लामिछानेको भनाइ छ।लामो समयसम्म पिसाब नफेर्ने गरेमा दीर्घकालीनरुपमा मिर्गौलाको समस्या देखिने र दिसा पनि समयमा नगर्दा दिसाको पानीको मात्रा कम हुँदै जाने र गोटा पर्नाले थप जटिलता थपिनेमा उनी जोड दिन्छन्।
खुला दिसा–पिसाब गरे के हुन्छ?
खुला ठाउँमा दिसा–पिसाब गर्दा झाडापखाला, कमलपित्त, आउँ, हैजा, विषमज्वरोजस्ता रोग लाग्न सक्छन्। नेपाल चिकित्सक सङ्घका जिल्लाअध्यक्ष तथा वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडा खुला ठाउँमा दिसा–पिसाब गर्दा पानीमा मिसिएर महामारी रोग फैलिन सक्ने बताउँछन्। झिङ्गामार्फत् त्यस्ता रोग सर्ने र भयावह हुन सक्ने भएकाले शौचालयमा मात्रै दिसाब पिसाब गर्न र त्यसपपछि राम्रोसँग हात धुनपर्नेमा उनको सुझाव छ।
एक ग्राम दिसामा एक करोड भाइरस, १० लाख ब्याक्टेरिया, एक हजार परजीवी र १०० जुकाको अण्डा हुनसक्ने बताइन्छ। घातक रोग लगाउने यी जीवाणुलाई आँखाले राम्रोसित देख्न सकिँदैन। दिसाजन्य रोगका कारण वर्षेनी झाडापखालालगायत प्रकोप फैलिने गरेका छन्। यस्ता रोगले सयौँको ज्यान जाने गरेको छ। रासस
प्रकाशित: ३ मंसिर २०७५ ०७:५७ सोमबार