४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

टिचिङमा ‘ओपन हार्ट सर्जरी’ सफल

काठमाडौं– बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ।  

रामेछाप सुनपाती गाउँपालिकाकी २४ वर्षीया (३७ हप्ताकी गर्भवती महिला) प्रमिला अर्यालको मुटुको सफल शल्यक्रिया सम्पन्न भएको हो। आमा र छोरा दुवैको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको शल्यक्रियाको नेतृत्व गरेका डा. भट्राईले जानकारी दिए। 

अर्याललाई टाइप ए अरोटिक डिसेक्शन विथ प्रेगनेन्सी रोग लागेको थियो। यो दुर्लभ रोग हो। यो रोग लागेपछि विरामी बाँच्ने सम्भवना अत्यन्तै न्यून हुन्छ। तर, मनमोहनको यो ९ वर्षको इतिहाँसमा पहिलोपटक हो यस्तो रोग लागेका विरामीको सफल शल्यक्रिया भएको डा. भट्टराईले जानकारी दिए। उनले भने, ‘बच्चा जन्मिँदा बेहोस थियो। तीन घण्टापछि उसको होस आएको छ। आमालाई पनि अहिले भेन्टिलेटरबाट छुट्याएर आईसियूमा सारिएको छ।’

आमा र बच्चा दुवै बचाउन सफल भएकोमा खुशी व्यक्त गर्दै डा. भट्टराईले भने, ‘मेरो करिअरको १३ वर्षको इतिहासमा यस्तो दुर्लभ रोग लागेका विरामीको सफल शल्यक्रिया गरेर नयाँ जीवन दिन पाउँदा खुशी लागेको छ। मेरो टिमलाई म धन्यवाद भन्न चाहन्छु।’

सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठले पनि यस्तो दुर्लभ रोग लागेको विरामीको आफ्नो सेन्टर र यसका डाक्टरहरुले सफल शल्यक्रिया सम्पन्न गरेर आमा र छोरा बचाउन सफल भएकोमा खुशी व्यक्त गरे। 

उक्त शल्यक्रियामा कार्डियाक सर्जरी टिमका डा. भट्टराईका साथै डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी लगायत सहभागी थिए। 

प्रकाशित: ८ भाद्र २०७५ ११:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App