२ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

उदयपुर अस्पतालमा विरामीको घुइँचो, भुइँमा राखी उपचार

उदयपुर - केहीदिनयता उदयपुर अस्पतालमा विरामीको चाप अत्याधिक बढेको छ। पछिल्लो समय वर्षायाम लागेपछि स्थानीयमा रुघाखोकी, झाडापखाला र भाईरल ज्वरोका विरामी बढेर अस्पताल भरिभराउ हुने गरेको छ। 

विरामीको चापले अस्पतालमा शैयाको समेत अभाव भएको छ। ५० शैयाका क्षमता रहेको अस्पतालमा विरामीहरुलाई भुईमा सुताएर उपचार गराउनु परिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पवनकुमार शाहले बताए। विरामीको चाप बढ्दा अस्पतालमा जनशक्तिको समेत अभाव भएको उनले बताए।

डा.शाहका अनुसार उपचार गर्न आउनेमा खासगरी बालबालिका र बृद्धबृद्धाहरु बढी संख्यामा रहेका छन्। बालबालिकालाई निमोनिया, भाईरल ज्वरो र वयस्कहरुलाई भाईरल, पेट दुख्ने, आउँ पर्ने, ज्वरो आउने र झाडापखाला जस्ता समस्याहर देखा परेको उनले बताए। दैनिक १ सय ५० जनाको हाराहारी विरामी आउने गरेको अस्पताल श्रोतले बताएको छ। 

‘केहीदिनयता पानी पर्न थालेपछि विरामीको संख्या ह्वात्तै बढेको छ’ बेड अभावमा इमरजेन्सी (आकस्मिक) कक्षमा दुईजना विरामी एउटै बेडमा राखेर उपचार गरिरहेका डा. साहले भने ‘कहिलेकाही बेड नपुगेर यस्तै गर्नुपर्ने बाध्यता आईलाग्छ। दुईजना राखेर, भुईमा सुताएरै पनि उपचार त गर्नै पर्‍यो।’ उनले पछिल्लो १० दिनयता इमरजेन्सी र वार्ड दुवैमा विरामीको भरिभराउ भईरहेको बताए। इमरजेन्सीका ७ र जेनेरल वार्डका २४ शैया विगत केहि दिनयता भरिभराउ भईरहेको र घरिघरि दुईजना राखेर र भुईमा सुताएर समेत उपचार गर्ने गरेको उनले बताए। 

५० शैयाको जिल्ला अस्पताल दक्ष जनशक्ति अभावमा विगत १ वर्षयता ‘रेफर सेन्टर’ को रुपमा परिणत भईसकेको थियो। सरकारले राम्रा डा. नपठाउने र पठाइएकाहरु पनि बस्न नमानेर अन्यत्र सरुवा लिएर जाने गरेका कारण जिल्ला अस्पताल उपस्वास्थ्य चौकीसरह भएको जनगुनासो बढिरहेको अस्पतालले ३ महिनायता सेवामा सुधार गर्न थालेको हो। प्रभावकारी सेवा दिन नसकेको व्यापक जनगुनासो आईरहेका बेला डा. शाह निमित्त मेडिकल सुपरिटेन्डेनका रुपमा सरुवा भएर आएपछि जिल्ला अस्पतालमा पनि उपचार पाउने जनविश्वास बढ्दै गएको हो। 

१ वर्षअघिका निमित्त मेसु डा. फणिन्द्रमणि बरालले अञ्चल अस्पतालजत्तिको सेवा दिन थालेपछि विरामीको चाप बढेको थियो। हाईड्रोसिल, हर्निया र एपेन्डीसाईटिस सम्मको सल्यक्रिया आफै गर्ने डा. बराललाई केही स्वास्थ्य माफियाले खेदो लगाएपछि जिल्ला अस्पताल उपस्वास्थ्य चौकीभन्दा गएगुज्रेको अवस्थामा पुगेको थियो। उनको सरुवापछि लगभग ६ महिना विरामीविहीन बन्न पुगेको अस्पतालमा डा. साहको आगमनपछि अस्पताल तङ्ग्रिन थालेको हो। मरिसकेको अस्पताल डा. साह आएपछि ‘पिकअप’ लिदै गएको अस्पतालकै स्वास्थ्यकर्मी बताउँछन्।

अस्पतालबाट प्रभावकारी सेवा दिन चाहे पनि धेरै अप्ठ्याराहरु रहेको डा. साह बताउँछन्। ५० शैयाको स्वीकृत अस्पतालमा इमरजेन्सीमा ७, प्रसुति १० र जेनेरल वार्ड २४ वटा गरी जम्माजम्मी ४१ वटा मात्र बेड रहेकाले आवश्यक बेडकै अभाव रहेको उनले बताए। त्यस्तै १० जना विशेषज्ञ डा. को स्वीकृत दरबन्दी भएपनि जनशक्ति अभावले सीमित एमबिबिएसको सहयोगमा सेवा सुचारु गर्नुपर्ने बाध्यता रहेको साहले सुनाए।

प्रकाशित: १ भाद्र २०७५ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App