६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन -  सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ।

नेपाल सरकारको तीन सय शैंयया र अस्पताल विकास समितिको तीन सय शैयया गरी हाल अस्पतालमा छ सय शैयया सञ्चालनमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रबिन खड्काका अनुसार राजनैतिक दलका प्रतिनिधि, संघ र प्रदेशका सांसद, स्थानीय जनप्रतिनिधि, अस्पतालका विभागीय प्रमुखलगायतको सर्वपक्षीय भेलाले अस्पताललाई केन्द्रीय तहको बनाउने र शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्न पहल गर्ने निर्णय गरेको छ।

मुलुकको मध्यभागमा रहेको भरतपुर अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म बिरामी बहिरंग सेवाका लागि आउने गरेका छन् । अस्पतालले चितवनसहित त्यसवरपरका २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा दिएको तथ्यांक छ । अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ७२ हजार ६०६ बिरामीको उपचार गरिएको थियो ।

काठमाडौँको प्रसुतिगृहपछि बढी प्रसुति गराउने भरतपुर अस्पताल हो । गत आर्थिक वर्षमा १६ हजार २४३ गर्भवतीको प्रसुति गराइएको थियो । तीन हजार दुई सय ६३ सुत्केरीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।मेडिकल सुपरिटेण्डेन्ट खड्काका अनुसार १४ वटा विभागमार्फत् अस्पतालले सेवा दिँदै आएको छ । राजधानी बाहिर अन्य अस्पतालले सो परिमाणमा सेवा दिन नसकेको उनको दाबी छ।

प्रदेश नं ३ का सांसदसमेत रहेका अस्पताल विकास समितिका पूर्वअध्यक्ष बिजय सुबेदीले अस्पताललाई कम पूर्वाधार विकास गरेर पनि सुविधासम्पन्न बनाउन सकिने भएकाले भरतपुर अस्पताललाई केन्द्रीय तहको अस्पताल बनाउनुपर्ने बताए। प्रकोपका बेला नागरिकलाई छिटो छरितो सेवा दिन सक्ने गरी देशकै नमूना अस्पताल भरतपुरलाई बनाउन आवश्यक रहेको उनले बताए।

अस्पतालमा सघन उपचारकक्ष, बाल सघन उपचारकक्ष, शल्यक्रियाका लागि छ वटा अत्याधुनिक टेबल, न्यूरो सर्जरी उपकरण, डायलसिस सेवा, जोर्नी प्रत्यारोपण सेवा, सिटिस्क्यानलगायत सेवा उपलब्ध छ।

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष राजकुमार राजभण्डारी यस क्षेत्रका २२-२३ जिल्लाका बिरामीलाई सेवा दिने अस्पताल केन्द्रीय तहको अस्पताल हुनुपर्ने बताउँछन्। यसका लागि सरकारले नीतिगत निर्णय गरेर आवश्यक भौतिक पूर्वाधार थप गरी देशकै उत्कृष्ट अस्पताल बनाउनुपर्नेमा उनले जोड दिए।

अस्पतालको आफ्नै नाममा ३१ बिगाहा ११ कट्ठा जग्गा रहेको छ । अस्पतालमा हाल प्रविणता प्रमाणपत्र तह र स्नातक तहको नर्सिङ पढाई भइरहेको छ । अस्पतालमा सरकारी र विकास समितितर्फ गरी ६७२ कर्मचारी कार्यरत छन् । एक सय २३ चिकित्सक मात्र कार्यरत छन्।रासस

 

प्रकाशित: १५ श्रावण २०७५ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App