हाम्रो गलत जीवनशैलीको कारण नसर्ने रोगहरू बढिरहेको छ । अन्य नसर्ने रोगहरू बढेजस्तै मिर्गौला पूरै बिग्रिने समस्या पनि नेपालमा बढ्दै गएको छ । हाम्रो कुन कमजोरी या लापर्वाहीको कारण पूरै मिर्गौला बिग्रिन्छ ? यस विषयमा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिष्ट डा. महेशराज सिग्देलसँग नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुुराकानी।
अन्य नसर्ने रोगजस्तै मिर्गौलाका रोगहरू पनि बढेको हो ? बढ्दै गएको छ ।
कति संख्यामा बढेको छ भन्ने यकिन तथ्याङ्क छैन । तर अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामीको स्थिति हेर्दा बढेको देखिन्छ ।
मिर्गौला रोगहरूमध्येमा पनि कुन चाहिँ बढी देखिन्छ ?
मुख्य उच्च रक्तचाप र मधुमेहको कारणले मिर्गौला पूरै बिग्रिने समस्या बढी देखिन्छ । यो सँगै क्रोनिक ग्लोमोरुलो नेफराइटिस (मिर्गौलाभित्र शररिको प्रतिरक्षा प्रणालीको असन्तुलनले लाग्ने रोगहरू)ले बिग्रिने समस्या पनि छन् ।
तर मिर्गौलामा पत्थरी हुने समस्या भने अन्य रोगभन्दा घट्दै गएका छन् । ढुंगाको कारण, पिसाबको संक्रमणको कारण मिर्गौला फेल हुने, मिर्गौलामा विभिन्न कारण पानी फोका भएर मिर्गौला फेल हुने पनि हुन्छ ।
स्थायी रुपले मिर्गौला फेल हुने कारणमा क्रोनिक ग्लोमिरुलो नेफराइटिशको कारण बाहेक मिर्गौला बिगार्ने अर्को कारण पेनकिलर (नदुख्ने औषधी) को जथाभावी प्रयोग पनि हो । यिनमा पनि सबैभन्दा मुख्य कारण मधुमेह र उच्च रक्तचापले मिर्गौला बिग्रिने गरेको देखिन्छ । नेपालमा पछिल्लो समय यी दुई रोग बढेकै कारण मिर्गौला फेल हुनेको संख्या पनि बढेको छ ।
उच्च रक्तचापले कसरी मिर्गौला फेल गराउँछ ?
उच्च रक्तचापले मिर्गौलामा कसरी फेल हुन्छ भन्ने अन्तिम र पूर्ण कारण कसैलाई थाहा छैन । तर मधुमेह र उच्च रक्तचाप नियन्त्रण नभएकै कारण मिर्गौला फेल हुने समस्या आउने हो । यी दुई कुरालाई नियन्त्रणमा राख्न सकेमा यसको जोखिम कम हुन्छ ।
पछिल्लो समय उच्च रक्तचाप र मधुमेह बढेका कारण मिर्गौला फेल हुने समस्या बढेको हो ?
अन्य कारणभन्दा यी दुई कारणले मिर्गौला फेल हुनेको संख्या बढी देखिन्छ ।
मिर्गौला फेल हुने बिरामी टिचिङ अस्पतालमा कति छन् ?
औसत हरेक दिन एक–दुई जना मिर्गौला फेल भएका बिरामी भर्ना भएका हुन्छन् । बर्षमा ५ देखि ६ सय जना नयाँ मिर्गौला फेल भएका बिरामी अस्पतालमा भर्ना भएर उपचार गरेका हुन्छन् ।
कुन पेसा र उमेर समुहमा मिर्गौला फेल भएको देखिन्छ ?
सबै पेसाका व्यक्तिलाई मिर्गौला फेल भएको देखिन्छ । तर मधुमेह र उच्च रक्तचापको कारण मिर्गौला फेल हुने धेरै छन् । प्रायजसो मधुमेहले ४० -५० बर्षको उमेरपछि मिर्गौला फेल भएको देखिन्छ ।
कम उमेर अर्थात् युवा उमेरमै मिर्गौला फेल हुने कारण चाहिँ बच्चामै मिर्गौलामा हुने रोग ग्लोमोरुल नेफ्राइटिशले (अटोयुमिन रोग) हो । जसलाई समयमा चिनेर उपचार गर्न सकेमा निको हुन्छ ।
औसत हरेक दिन एक–दुई जना मिर्गौला फेल भएका बिरामी भर्ना भएका हुन्छन् । बर्षमा ५ देखि ६ सय जना नयाँ मिर्गौला फेल भएका बिरामी अस्पतालमा भर्ना भएर उपचार गरेका हुन्छन् ।
ग्लोमोरुल नेफराइटिशको कारण कसरी मिर्गौला बिग्रिन्छ ?
यो मिर्गौलाकै रोग हो । यसमा विविध रोग लागेमा पनि मिर्गौला फेल हुन जान्छ । यसमा मिर्गौैलाभित्र फिल्टर गर्ने ठाउँमा गएर कुनैमा प्वाल पर्ने, खत लागेको जस्तो टिसियु हुने, फिल्टर ब्यारियरमा इन्फ्लामेशन हुने, इम्युन कम्लेक्स गएर टाँसिने हुन्छ, प्वाल परेर लिक भएर जाने हुन्छ । यी कारणले पनि मिर्गौला फेल हुने समस्या हुन्छ ।
विदेशमा गएर आउनेहरूमा कम युवा उमेरमै मिर्गौला बिग्रेको देखिन्छ ?
विदेशमा गएका युवाहरूमा मिर्गौला बिग्रेर उपचार गर्न आउने बिरामी अस्तपालमा धेरै आएको अनुभव छ । तर ठ्याक्कै कारण स्थापित हुन सकेको छैन । थुपै्र युवामा मिर्गौला फेल हुने कारण ग्लोमिरन नेफराइटिश हुन्छ । तर विदेशमै जानेमा या खाडी मुलुकमा जानेमा किन बढी भयो भन्ने विषयमा कारण स्थापित भएको छैन ।
वंशाणुगत कारणले पनि मिर्गौला फेल हुन्छ कि हुँदैन ?
ग्लोमोरुल नेफ्राइटिश वशाणुगत रुपमा भएपनि बच्चामा पूरै सर्छ भन्न सकिँदैन । कसैलाई मधुमेह, ग्लोमिरोन नेफराइटिश भएमा तिनका सन्तानलाई हुन्छ नै भन्न सकिँदैन । तर यसको सम्भावना हुन्छ । तर शत् प्रतिशत सम्भावना हुँदैन । जुन ग्लोमोरिन नेफराइटिशको सम्बन्ध बाह्य कारणसँग छैन ।
औषधीहरूले पनि मिर्गौला फेल हुन्छ भनिन्छ ? कुन कुन औषधीले मिर्गौला फेल गराउँछन् ?
केही औषधीहरूको सेवनले पनि मिर्गौला फेल हुन्छन् । मुख्यतः दुखाइमा प्रयोग हुने औषधीहरूले मिर्गौला फेल गराउने सम्भावना हुन्छ ।
पेनकिलरको अलावा अन्य औषधी छन् जसले मिर्गौला फेल गराउँछन् । यस्ता औषधीहरू पनि स्वास्थ्यकर्मीले सिफारिश गरेको देखिन्छ । नियमित पे्रस्क्रिप्सनबिना पनि प्रयोग गरेर मिर्गौला फेल गराउने मुख्य औषधी भनेका आइवोफ्राेमिन, डाइक्लोफेन्याक, इण्डोमेथासिन छन् ।
यी औषधी कुन दुखाइमा प्रयोग भएको देखिन्छ ?
कनुै पनि दुखाइमा प्रयोग हुन्छ । सुन्निएको र दुखाइमा प्रयोग हुने गरेको देखिन्छ । जोर्नी दुखाई, बाथरोग र ज्वरोमा यी औषधी सिफारिश भएको देखिन्छ । कतिपयले सिधै औषधी पसलबाट किनेर खाने गरेको देखिन्छ ।
यी औषधीहरू कडा दुखाइमा प्रयोग हुने हुन् कि सामान्य दुखाइमा ?
नेपालमा सबै औषधी सजिलै किन्ने गरिन्छ । कुन औषधी कसरी किन्ने भन्ने कुनै नियमन छैन । जथाभावी औषधी किन्न पाउनु भनेको राज्यबाटै भएको लापरवाही हो । जथाभावी औषधी किन्ने र बिक्री गर्ने प्रवृत्ति देखिन्छ ।
यो प्रवृत्तिलाई राज्यले अनुगमन गरेर पेन किलरले जनस्वास्थ्यमा पु¥याउने असरलाई रोक्नुपर्छ । यस्ता औषधीहरू सिधै औषधी पसलबाट किन्न पाइँदैन । पाइहालेमा पनि लामो समयसम्म सुरक्षा भएका, समान रुपमा प्रयोग हुने जस्ता औषधीहरू काउन्टरमा पाइन्छन् ।
वातावरण र खानेकुरासँग मिर्गौला फेल हुनुको सम्बन्ध छ कि छैन ?
हुन सक्छ । तर यसमा अध्ययनले प्रमाणित नगरेसम्म हामीले छ भनेर सिधै भन्न मिल्दैन । यसको लागि विज्ञानले अध्ययन गरेर प्रमाणित हुनु पर्छ ।
आफ्नो मिर्गौला बिग्रँदैछ भन्ने कसरी थाहा पाउने ?
सामान्यतः कुनै पनि अस्वस्थता भयो भने पनि शंका गर्नुपर्छ । जस्तो, जीउ सुन्नियो भने, बढी थकान लाग्न थाल्यो भने, रगतको कमी भयो भने, जीउ दुख्न थाल्यो, रातो पिसाब, पिसावमा फिँज आउन थाल्यो, पिसाब कमी भयो भने मिर्गौलामा रोग लाग्दैछ भन्ने बुझ्नुपर्छ ।
तर कहिलेकाहीँ मिर्गौलाको रोगमा लक्षण नै देखिँदैन । हामीले कहिले स्वस्थ महसुश गरेकै व्यक्तिमा पनि मिर्गौला रोग लागिसकेको देखेका छौं । उनीहरूमा विदेश जाने बेलामा परीक्षण गर्दा मिर्गौला फेल हुन लागेको देखेका छौँ।
मिर्गौला फेल हुन खोज्न लागेकै अवस्थामा उपचार सम्भव छ कि छैन ?
उपचार सम्भव छ । हामीले कसरी बझ्नुपर्छ भने अविकसित देशको तुलनामा विकसित देशमा मिर्गौला फेल हुनेहरूको संख्या हे¥यौं भने फरक छ ।
उनीहरूकोमा आधा उमेर पार गरेका मानिसहरूमा मिर्गौला फेल भएको देखिन्छ भने हामीकहाँ युवा उमेरमै फेल भएको देखिन्छ । कारण के हो भने उनीहरूले समयमै पहिचान गरेर उपचार गरेको कारण मिर्गौला फेल हुन पाएन । हाम्रो कारण नितान्त फरक रहनु प¥यो । हामीले समयमै चिनेर उपचार गर्न सकेका छैनौँ । यसको कारण बिरामी सयममै उपचारमा पुगेनन् या हामीले स्वास्थ्य सेवा प्रदान गर्न सकेनौँ ।
युवा अवस्थामै मिर्गौला फेल नहोस् भन्नका लागि हामीले के सुझाव दिने ?
सामान्यतः माथिका कुनै पनि लक्षण देखिएमा स्वास्थ्य संस्थामा पुगेर उपचार गर्नु पर्छ ।
उपचारमा पुगेपनि रोगको पहिचान भएको देखिंदैन ?
पहिचान नहुने भनेको उपचारमा नजाने प्रवृत्ति, हाम्रो व्यवस्था र स्वास्थ्य संस्थासँगको अविश्वास, सबै क्षेत्रमा भएका कमजोरी हुन सक्छन् ।
तर मुख्य कुरा समयसमयमा आफ्नो स्वास्थ्य परीक्षण गरेर नै मिर्गौला जोगाउन सकिन्छ । मिर्गौलाको हकमा अन्य रोगमा जस्तो ठ्याक्कै लक्षण नभएपनि वर्षमा एकपटक रक्तचाप र पिसावको जाँच गर्न सकेमा मिर्गौला बचाउन सक्छौँ ।
नेपालमा मिर्गौलाको उपचारको अवस्था कस्तो छ ?
नेपालमा सरकारी र निजी दुवै केन्द्रीय अस्पतालमा मिर्गौलाको सबै उपचार हुन्छ । वीर अस्पताल, धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजीमा ग्राण्डी इन्टरनेशनल अस्पतालमा मिर्गौला प्रत्यारोपण समेत भइरहेको छ ।
भर्खरै निदान अस्पतालले पनि मिर्गौला प्रत्यारोपण सुरु गरेको छ । अन्य केन्द्रमा पनि भइरहेको छ । नियमित प्रत्यारोपण हुने धर्मभक्त माथेमा अङ्ग प्रत्यारोपण केन्द्र र टिचिङमा हो । नेपालका निश्चित केन्द्रहरूमा मिर्गौलाका सबैजसो रोगको उपचार हुन्छ । उपत्यकाबाहिर भने धेरै ठाउँमा मिर्गौला रोग विशेषज्ञ छैनन् ।
मिर्गौला प्रत्यारोपणमा अहिलेको नीतिगत व्यवस्था पर्याप्त छ ?
नेपालमा विद्यमान कानुनले बिरामीको नजिकका सीमित आफन्तलाई मात्र मिर्गौला दान दिने व्यवस्था छ । यो कानुनअनुसार भित्रका आफन्तको मिर्गौला मिलेन भने प्रत्यारोपण गर्न सकिँदैन । लामो समय हेमोडाइलोसिस गरेरै बाँच्नुपरेको अवस्था छ ।
कुनै पनि व्यक्ति मिर्गौला फेल हुनबाट बच्न कस्तो जीवनशैली अपनाउनु पर्छ ?
अन्य रोगलाई आवश्यक पर्ने जस्तै स्वस्थ जीवन जिउनुपर्छ । सन्तुलित भोजन, नियमित व्यायाम र स्वस्थ खाना खाने, तनाव नलिनेजस्ता स्वस्थ जीवनशैली अपनाउनुपर्छ ।
मधुमेह र उच्च रक्तचाप छ भने नियन्त्रणमा राख्ने र वर्षमा कम्तीमा एकपटक मिर्गौला जाँच गर्नुपर्छ ।
प्रकाशित: ५ श्रावण २०७५ ०२:५९ शनिबार