उदयपुरको त्रियुगा नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चित तथा दीगोपना स्थानीय तह’ घोषणा गरिएको छ।
स्वास्थ्य मन्त्रालयले तोकेका सम्पूर्ण मापदण्ड पूरा गरी लक्षित समूहका सबै बालबालिकाले पूर्ण खोप पाएको प्रमाणित भएपछि शुक्रबार एक विशेष कार्यक्रमबीच नगरपालिकालाई उक्त घोषणा गरिएको हो।
नगर सभाकक्षमा आयोजित कार्यक्रममा नगर प्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा त्रियुगालाई पूर्ण खोपयुक्त स्थानीय तह घोषणा गरे। यो उपलब्धिलाई नगरको स्वास्थ्य क्षेत्रमा एक महत्त्वपूर्ण फड्कोको रूपमा लिइएको छ।
नगर स्वास्थ्य शाखाका प्रमुख उपेन्द्र कार्कीका अनुसार, नगरपालिकाका १६ वटै वडामा रहेका नवजात शिशुदेखि ५९ महिनासम्मका सबै बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाएको तथ्य प्रमाणित भएपछि यो घोषणा सम्भव भएको हो।
तथ्यांकअनुसार, १५ महिनासम्मका ७७३ शिशु र १६ देखि ५९ महिनासम्मका ४,००४ बालबालिकाले सबै खोप पूरा गरेका छन्।
यो घोषणा गर्नुअघि नगर खोप समन्वय समितिले गत फागुनदेखि निरन्तर अनुगमन गरेको थियो। नगर समितिको तथ्यांकलाई जिल्ला खोप समन्वय समितिले पुनः प्रमाणीकरण गरेपछि मात्र पूर्ण खोप घोषणा गरिएको नगर प्रमुख बस्नेतले बताए।
“यो घोषणासँगै त्रियुगा नगरपालिका स्वास्थ्य क्षेत्रमा एक कदम अघि बढेको छ,” उनले भने, “नगरवासीलाई स्वस्थ, शिक्षित र सभ्य बनाउन हामी अहोरात्र खटिरहेका छौं।”
प्रकाशित: ६ असार २०८२ २२:०९ शुक्रबार