पछिल्लो आधा दशकयता स्वास्थ्य सेवामा उल्लेख्य प्रगति गर्दै आएको उदयपुर जिल्ला अस्पतालले नयाँ प्रसूति भवन पाउने भएको छ । अस्पतालमा वर्षेनी प्रसूति सेवा लिने गर्भवती महिलाको सङ्ख्या बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो ।
गत वर्षदेखि सुरु नयाँ भवन वह वर्षीय योजना अन्तर्गत निर्माणाधीन छ । जस अनुसार चालु वर्ष पहिलो तलाको काम ठेक्का सम्झौता भएर सुरु भईसकेको छ । यस वर्षका लागि प्रदेश सहरी विकास आयोजना कार्यालयबाट प्राप्त झण्डै ३ करोड बजेटमध्ये मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड ९० लाख ५५ हजार १ सय ३ रुपैँयामा ठेक्का लागेको अस्पतालका प्रशासन अधिकृत अर्जुन खड्काले बताए ।
खड्काका अनुसार गत माघ २३ गते सम्झौता भएको भवन आउँदो असार १५ गतेभित्र सम्पन्न गरिसक्ने गरी भुस्नाम्छा कन्स्ट्रक्सन गाईघाटले ठेक्का लिएको छ । चालु वर्ष भुईतला फिनिसिङ गरेर सञ्चालनमा ल्याउने गरी ठेक्का लागेको हो । गत वर्ष प्राप्त १ करोड ७० लाख बजेटमध्ये १ करोड ३० लाखमा ठेक्का लागेर भुईतलाको डिपिसी (जग), पिल्लर र पहिलो तला ढलान भएको थियो।
हालको अस्पताल भवनभन्दा उत्तरतर्फ निर्माणाधीन भवन पर्याप्त बजेट अभावमा तत्काल सक्ने अवस्था भने छैन । प्रसूति सेवाका लागि ४ तले आधुनिक भवनको प्राविधिक इस्टीमेट भएकोमा बजेट अभावकै कारण वह वर्षीय योजनाअन्तर्गत निर्माण कार्य भइरहेको अस्पताल प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. वीरेन्द्र मण्डल बताउँछन् ।
पर्याप्त बजेट भए आगामी वर्षसम्ममा सम्पन्न हुने भए पनि स्रोत सुनिश्चित नभएकै कारण भवन कहिले सम्मा बनिसक्छ भन्ने यकिन नभएको डा. मण्डलको भनाई छ । ‘भवनलाई पूर्णता दिन बजेटकै समस्या छ’ मेसु मण्डलले भने ‘पर्याप्त बजेट नहुँदा निर्माण सम्पन्न गर्न निश्चित नभएकाले भुईतला फिनिसिङ गरेर सञ्चालन गर्ने गरी चालु वर्षको काम भइरहेको छ।’
अस्पतालका सूचना अधिकारी उमेश पाण्डेका अनुसार सरकारी अस्पताल भएकाले प्रसूति सेवा लिने गर्भवती महिलाको अत्याधिक चाप छ । वर्षेनी जटिल खाले र साधारण गरी झण्डै ३ हजार हाराहारी महिलाले सेवा पाउँदै आएका छन् । जटिलखाले गर्भवतीको शल्यक्रिया (सिएस) गर्ने महिलाको सङ्ख्या मात्र वर्षेनी १ हजार बढी हुने गरेको पाण्डे बताउँछन् ।
साधारण सुत्केरी गराउने महिला सङ्ख्या पनि २ हजार हाराहारी हुने गरेको छ । चालु वर्षको गत साउनदेखि फागुन मसान्तसम्म ८ महिना अवधिमा ७ सय बढीको सिएस भईसकेको छ भने १ हजार ४ सय बढीले साधारण सुत्केरी सेवा पाइसकेको सूचना अधिकारी पाण्डेले बताए।
प्रकाशित: १४ चैत्र २०८१ १४:४९ बिहीबार