खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित आँखा शिविरबाट शताब्दी वृद्धासहित ७ सयभन्दा बढी जिल्लावासी लाभान्वित भएका छन्। नेपाल नेत्र ज्योति सङ्घ खोटाङले नगरपालिकासँगको सहकार्यमा दिक्तेल बजारमा आयोजना गरेको ‘तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर’ बाट उनीहरू लाभान्वित भएका हुन्।
सङ्घको आयोजना, सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोग र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्थानीय आयोजनामा सम्पन्न शिविरमा मोतिबिन्दु र रतन्धोलगायत विभिन्न कारणबाट ज्योति गुमाएका पीडितहरूको आँखाको निःशुल्क शल्यक्रिया (अप्रेसन) भएको छ। शिविरमा जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका १ याम्खाकी ९१ वर्षीया देवीसरा राईसहित ९९ जनाको आँखा शल्यक्रिया गरिएको सङ्घले जनाएको छ।
शिविरमा रोग पत्ता लागेका बिरामीहरूको दिक्तेलस्थित आँखा उपचार केन्द्रमा अप्रेसन गरिएको छ। सङ्घका अध्यक्ष इनद्र कसजुका अनुसार शिविरमा ७ सय १२ जनाले आँखा जाँच गराएकामध्ये ५ सय ७० जनालाई औषधि वितरण गरिएको छ। जसमध्ये २ सय २ जना जेष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिएको छ भने ९९ जनाको अप्रेसन गरिएको छ।
जिल्लाका १० स्थानीय तहमा १ हजार ५ सय ४२ जनामा अन्धोपना रहेको सङ्घले यसअघि गरेको सर्वेक्षणले देखाएको थियो। सोही बिरामीहरूलाई उज्यालो देखाउने उद्देश्यले निःशुल्क अप्रेसनसहितको शिविर आयोजना गरिएको कसजुले बताए। उनका अनुसार शिविरमा आँखा जाँच, औषधि र चश्मा वितरण तथा अप्रेसन सबै निःशुल्क गरिएको थियो। दिक्तेलको शिविरमा मात्र ७ सय १२ जनाले सेवा पाएका छन्।
सहज उपचार पाउन नसक्दा वर्षौँदेखि अन्धकारमा जीवन ज्युँदै आएका आँखा रोगीहरूले निःशुल्क शल्यक्रियासहितको उपचार सेवा पाएपछि उज्यालो देख्न पाएको सङ्घले जनाएको छ। अध्यक्ष कसजुले शल्यक्रिया गर्ने बिरामीहरूलाई खाना, खाजा तथा बास बस्ने व्यवस्थासमेत निःशुल्क मिलाइएको बताए।
शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लाहानका मुख्य शल्य चिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठससहित १६ जना चिकित्सक टोली परिचालन गरिएको पनि अध्यक्ष कसजुले बताए।
नेत्रज्योति सङ्घले एकैचोटी जिल्लाका तीन फरक-फरक ठाउँमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिरहेको छ। जस अनुसार यसअघि चैत ४, ५ र ६ गते जिल्लाको केपिलासगढी गाउँपालिका ४ बाक्सिला बजारमा शिविर सञ्चालन गरिएको थियो। ३ दिन सञ्चालन भएको सो शिविरमा ३ सय ९२ जनाले सेवा पाएका छन्।
जसमध्ये मोतिबिन्दु भएका ४७ जनाको आँखा शल्यक्रिया गरी निको पारिएको छ भने ३४ जना जेष्ठ नागरिकलाई निःशुल्क पावरसहितको चश्मा वितरण गरिएको छ। ३ सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी चैत १४, १५ र १६ गते जिल्लाको हलेसी तुवाचुङ नगरपालिकास्थित त्रिधार्मिकस्थल हलेसी बजारमा शिविर सञ्चालन गरिने छ। यस पटक सञ्चालन गरिने शिविरमा जिल्लाका करिब २ हजार १ सय जना आँखा बिरामीलाई प्रत्येक्ष सेवा दिने लक्ष्य सङ्घले लिएको छ।
खोटाङमा विगत २०६० वैशाख १० गतेदेखि औपचारिक रूपमा आँखा उपचार सेवा प्रारम्भ भएको हो। त्यो बेलादेखि हालसम्म जिल्लाका २७ हजार ५ सय १ जनाले आँखाको उपचार पाइसकेको सङ्घले जनाएको छ। सुरुदेखि हालसम्म जिल्लाका ३ हजार ३८ जना जेष्ठ नागरिकलाई रिडिङ ग्लास (पढ्नका लागि चश्मा) निःशुल्क रूपमा दिइएको छ।
प्रकाशित: १३ चैत्र २०८१ १०:३३ बुधबार