१९ चैत्र २०८१ मंगलबार
image/svg+xml २२:५१ अपराह्न
स्वास्थ्य

म्याग्दी : ८ महिनामा ३१ नयाँ क्षयरोगी फेला

म्याग्दीमा चालु आर्थिक वर्षको ८ महिनामा ३१ नयाँ क्षयरोगी फेला परेका छन्। जिल्लाका स्वास्थ्य चौकी, शिविर र बेनी अस्पतालमा खकार जाँच गराउनेमध्ये तीन बालकसहित ३१ जनामा क्षयरोग पुष्टि भएको हो। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार आयोजना गरेको कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका अनुसार सङ्क्रमितको सम्पर्कमा रहेका र लक्षण देखिएर स्वास्थ्य संस्थामा आएकाहरूको जाँचबाट नयाँ क्षयरोगी पहिचान भएका हुन्। फोकल पर्सन गणेश सुवेदीले बेनी नगरपालिकामा १७, अन्नपूर्णमा ६, रघुगंगामा ३, मालिकामा २, धवलागिरिमा २ र मंगलामा १ जना क्षयरोगी भेटिएको बताए। गत आव २०८०/८१ मा ४७, आव २०७९/८० मा ६३ र आव २०७७/७८ मा ४८ क्षयरोगी फेला परेका थिए।

जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले एकजना क्षयरोगीबाट वर्षमा १० जनासम्म सङ्क्रमित हुन सक्ने जोखिम रहेको बताए। ‘हल्का ज्वरो, पसिना, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, दुई हप्ताभन्दा बढी खोकी लाग्ने, तौल घट्ने, भोक नलाग्ने र खकारमा रगत देखिए खकार जाँच गर्नुपर्छ,’ उनले भने। ‘बीचमा औषधि छोड्दा रोग पुनः बल्झिएर बिरामी उपचारमा फर्किन्छन्। धेरैजसो फोक्सो र घाँटीका रोगी छन्, नयाँ क्षयरोगी थपिने सम्भावना धेरै छ।’ 

म्याग्दीमा बेनी अस्पताल, दरबाङ, ताकम, भुरुङ तातोपानी र शिख स्वास्थ्य चौकीमा खकार जाँचको ल्याब छ। क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस किटाणुबाट हावामार्फत सर्छ र फोक्सोमा असर गर्छ। जिल्लाका सबै स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क उपलब्ध छ। तर, परीक्षणको दायरा बढाउन नसक्दा सङ्क्रमितको वास्तविक सङ्ख्या पहिचानमा समस्या छ। सङ्क्रमितको परिवारको खकार जाँच र प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्य कमजोर छ। अनुमानित २३३ क्षयरोगीमध्ये ४७ मात्र परीक्षणको दायरामा छन्।

बालबालिका र महिलामा सङ्क्रमणको जोखिम बढी छ। नियमित औषधि खानेको निको हुने दर ९३.२ प्रतिशत छ। वडास्तरमा प्रयोगशाला र जनशक्ति व्यवस्थापन गरेर खकार जाँच शिविर सञ्चालन गर्न सके सङ्क्रमित पहिचान सजिलो हुने जनस्वास्थ्यकर्मीको भनाइ छ। कार्यक्रममा पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले तिरस्कारको डरले क्षयरोगी खुल्न नसकेको भन्दै जनचेतनामार्फत पहिचानमा जोड दिए। निमित्त कार्यालय प्रमुख सापकोटा र फोकल पर्सन सुवेदीको सहभागितामा कार्यक्रम सम्पन्न भयो।

प्रकाशित: ११ चैत्र २०८१ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App